गण्डकी एमाले अधिवेशन- पिएस गुरुङ पक्षको प्यानल तयार, को को छन् पदाधिकारी उम्मेदवार – Nepal Press

गण्डकी एमाले अधिवेशन- पिएस गुरुङ पक्षको प्यानल तयार, को को छन् पदाधिकारी उम्मेदवार

पोखरा ।  नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनका लागि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ ‘प्यानल’ तयार भएको छ । उम्मेदवार दर्ताका लागि हालका अध्यक्ष नवराज शर्माको नेतृत्वमा टिम तयार भएको हो ।

म्याग्दीका शर्मा अध्यक्ष, स्याङ्जाका मिनप्रसाद गुरुङ उपाध्यक्ष, लमजुङका धनञ्जय दवाडी सचिवको उम्मेदवार बन्ने गरी टिम तयार भएको छ । सो टिममा पर्वतकी मन्जु अधिकारी र कास्कीका दाम बहादुर बिक उपसचिवको उम्मेदवार बन्ने तयारी छ ।

एमाले सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य किरण गुरुङसँगै आफूहरुले सर्वसम्मतको प्रयास गरेपनि असफल भएको उपमहासचिव गुरुङले बताए । ‘अन्तिमसम्म हामी सहमतिका लागि प्रयास गरेका हौं । उहाँहरु (अर्को पक्ष) सर्वसम्मतका लागि खुला हुनुभएन,’ उनले भने, ‘पद्मा र किरणको साथ मलाई छ ।’

स्थायी कमिटी सदस्य खगराज अधिकारी टिम मंगलबार बेलुका सार्वजनिक भएको थियो । उनको टिममा लमजुङका मायानाथ अधिकारी अध्यक्ष, नवलपुरका बाबुराम बिक उपाध्यक्ष, कास्कीका रश्मि आचार्य सचिवको उम्मेदवार बन्ने गरी टीम तयार भएको छ ।

सो टीममा म्याग्दीका सन्तोष रावल र कास्कीकी मिना गुरुङ उपसचिवको उम्मेदवार बन्ने तयारी छ । गुरुङ पक्षको लेखा आयोग अध्यक्ष उम्मेदवार नवलपुरका अमृत ज्ञवाली, उपाध्यक्ष उम्मेदवारमा गोर्खाका गिरधारी सापकोटा बन्ने तय भएको छ । आयोगको सचिवमा बाग्लुङका वीर बहादुर बिक टुंगिएकाे छ ।

अधिवेशनको निर्वाचन प्रक्रिया बुधबार बिहान ७ बजेदेखि सुरु भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर