ललितपुरबाट जितेकी रास्वपा सांसद तोसिमाले डोटीका प्रजिअलाई आफ्नो लेटरप्याडमार्फत दिइन् २४ बुँदे सुझाव – Nepal Press

ललितपुरबाट जितेकी रास्वपा सांसद तोसिमाले डोटीका प्रजिअलाई आफ्नो लेटरप्याडमार्फत दिइन् २४ बुँदे सुझाव

डोटी । पार्टीको निर्देशनमा जनताका गुनासा सुन्न डोटी आएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृले डा. तोसिमा कार्कीले जिल्लाको समग्र अवस्थामा सुधार ल्याउन २४ बुँदे सुझाव पेश गरेकी छन् ।

जनताका कतिपय गुनासा सदनबाट मात्रै नभएर जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा समाधान गर्न सकिने भएकाले जनआवाजको आधारमा उनले डोटीका प्रमुख जिल्ला अधिकारीलाई २४ बुँदे ध्यानाकर्षणपत्र बुझाएकी हुन् ।

कार्कीले आफ्नो प्रनितिधिसभा सदस्यको लेटर प्याडमा तयार गरेको उक्त ध्यानाकर्षणपत्र राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक केशव बलायरले आइतबार डोटीका निमित्त प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई बुझाएका हुन् ।

ध्यानाकर्षणपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी उपाध्यायले प्रमुख जिल्ला अधिकारी कार्यालयमा आएपछि यस विषयमा छलफल गर्ने बताए ।

ध्यानाकर्षणपत्रमा डोटीका बालबालिकाले निःशुल्क शिक्षा नपाएको उल्लेख छ । ‘विद्यार्थीहरुले माविसम्म निःशुल्क शिक्षा पढ्न पाउनुपर्ने शिक्षा ऐनमा व्यवस्था हुँदाहुँदै पनि कतिपय विद्यालयले शुल्क लिएको पायौं’, ध्यानाकर्षणको पहिलो बुँदामा उल्लेख छ । उनले यस विषयमा सम्बन्धित पालिकासँग समन्वय गरी पालना गर्न लगाउनुपर्ने बताएकी छन् ।

त्यस्तै शिक्षकहरुले कुनै राजनीतिक दलको सदस्यता नलिएको हुनुपर्ने, लामो समयसम्म बिदामा बस्ने शिक्षकहरुलाई निगरानीमा राख्नुपर्ने र शिक्षक कर्मचारीहरुको सेवा सुविधा न्यूनतम मापदण्डभन्दा कम भएकाले यस विषयमा स्थानीय प्रशासनले ध्यान दिनुपर्ने उनको सुझाव छ ।

विद्यालयमा आवश्यकताअनुसार दरबन्दीको व्यवस्था गर्न स्थानीय तहले ध्यान दिनुपर्ने, स्वास्थ्य चौकीबाट उपलब्ध हुनुपर्ने ९८ प्रकारका औषधि नपाइने गरेकाले सो विषयमा स्थानीय प्रशासनले अनुगमन गर्नुपर्ने, प्रशासनले स्थानीय सरकारसँग समन्वय गरेर एक टोल कम्तीमा एक स्ट्रेचरको व्यवस्था गराउनुपर्नेतर्फ उनले ध्यानाकर्षण गराएकी छन् ।

मदिराको अवैध एवं अनियन्त्रित कारोबारलाई नियमन गर्नुपर्ने, पेट्रोलियम पदार्थको अव्यवस्थित कारोबार र कृत्रिम अभावलाई नियन्त्रण गर्नुपर्नेमा सांसद कार्कीले जोड दिएकी छन् ।

‘डोटीको सायल गाउँपालिकामा चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा काम गर्न कठिन भएको विषय पनि आएको छ’, कार्कीले ध्यानाकर्षण गरेकी छन् ।

किसानहरुले समयमै मल नपाएको, दुर्गम गाउँहरुमा विद्युत नपुगेको, दूरसञ्चारका टावरले काम नगरेको, एमएलएम व्यवसायमा धेरै युवाहरु ठगिएकाले सोको सीबीआईबाट छानबिन हुनुपर्ने भन्दै डा. कार्कीले प्रशासनको ध्यानाकर्षण गराएकी छन् ।

जिल्ला गौरवका आयोजनाहरु खुटिया-दिपायल द्रुतमार्ग, दिपायल विमानस्थल, सेती सभाहल, सातनाली मोटरेवल पुललगायतका योजनाहरु लामो समयदेखि अलपत्र परेकाले जनतामाथि अन्याय भएको देखिएको कार्कीको भनाइ छ ।

उनले सरकारी कर्मचारीहरु लामो समयसम्म कार्यालयमा अनुपस्थित हुने, सेवाग्राहीलाई दुःख दिने, ढिलासुस्ती गर्ने गरेको, बजारमा अखाद्य वस्तु भेटिने गरेको जनगुनासो आफूले पाएको ध्यानाकर्षणपत्रमा उल्लेख गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर