लुम्बिनीमा मोदीले शिलान्यास गरेको १ अर्ब ६० करोडका भारतीय विहारको निर्माण सुरू – Nepal Press

लुम्बिनीमा मोदीले शिलान्यास गरेको १ अर्ब ६० करोडका भारतीय विहारको निर्माण सुरू

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र सम्पदा केन्द्रको निर्माण सुरु भएको छ ।

बुद्ध जन्मस्थल लुम्बिनीस्थित विहार क्षेत्रमा अन्तर्राष्ट्रिय बुद्धिस्ट परिसंघको लगानीमा भारतीय बौद्ध संस्कृति र सम्पदा केन्द्रको निर्माण सुरु भएको हो ।

गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी भ्रमणमा आएको बेला मोदी र नेपालका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रूपमा भारतीय विहारको शिलान्यास गरेका थिए ।

आइतबार विहार निर्माण स्थलमा बौद्ध परम्परा अनुसार पूजा र भिक्षु भिक्षुणीबाट पाठ गरेर कमल फूल आकारमा तयार हुने गरी विहारको निर्माण थालिएको छ ।

भूमिपुजन कार्यक्रममा लुम्बिनी विकास कोषका कार्यवाहक उपाध्यक्ष सिद्धिचरण भट्टराई (ढुण्डिराज) ले अन्तर्राष्ट्रियस्तरको भारतीय विहारको निर्माण प्रारम्भ हुनु सुखद भएको बताउँदै यसले बुद्ध जन्मस्थलको गरिमालाई थप उचाइमा पुर्‍याउने बताए ।

उनले नेपाल र भारतबीचको सम्बन्ध दुई छिमेकी देशका रूपमा मात्र सीमित नभई भगवान गौतमबुद्धका कारण हजारौँ वर्षअघिदेखि नै सांस्कृतिक रूपमा जोडिएको बताए ।

बुद्ध जीवनका चार धाममध्ये एक बुद्ध जन्मस्थल लुम्बिनी र बाँकी ३ धाम भारतमा रहेकाले बौद्ध पर्यटनको विकासमा नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको उनले बताए ।

भारतको उपस्थिति बुद्ध जन्मस्थल लुम्बिनीमा अनिवार्य रहेको बताउँदै अबको १८ महिनापछि कमल फूलको आकृतिको विहार सम्पन्न भएर बौद्ध गतिविधि चलायमान हुने उनको भनाइ छ ।

कार्यक्रममा लुम्बिनी विकास कोषका निवर्तमान उपाध्यक्ष भिक्षु मैत्तेयले लुम्बिनीमा भारतको उपस्थिति हुनु निकै राम्रो भएको बताए । उनले अन्तर्राष्ट्रिय स्तरको विहार निर्माणले आध्यात्मिक र धार्मिक गतिविधिसँगै पर्यटन प्रवर्द्धन हुने जनाए ।

अन्तर्राष्ट्रिय बुद्धिस्ट परिसंघका महासचिव डा. भिक्षु धम्म पियाले लुम्बिनीमा बौद्ध संस्कृति र सम्पदाको प्रवर्द्वनका लागि आधुनिक केन्द्र बनाउन शुरु भएको दिन निकै महत्त्वपूर्ण रहेको बताए ।

उनले बुद्धको लुम्बिनीमा जन्म भएपनि बुद्धले ध्यान गरी ज्ञान प्राप्त गरेको बोद्धगया, पहिलोपटक धर्मदेशना गरेको सारनाथ, महापरिनिर्वाण गरेको कुशिनगर भारतमा रहेकाले यी दुई देशबीच सुमधुर सम्बन्ध रहेको जनाएका छन् ।

शुभारम्भ कार्यक्रममा नेपालका लागि भारतीय राजदूतावासका सचिव, अन्तर्राष्ट्रिय बौद्ध परिसंघका कार्यसमिति सदस्य भिक्षु थुप्टेन जिकडोल लगायतले बोल्दै विहार निर्माणले आध्यात्मिक गतिविधिलाई बढवा दिने भनाइ राखेका छन् ।

जिरो नेट प्रविधिमा कमलको फूल आकारमा डिजाइन गरिएको विहार १ अर्ब ६० करोड रुपैयाँ लागतमा निर्माण हुने जनाइएको छ । लुम्बिनी गुरुयोजनाभित्रको विहार क्षेत्रमा विहार निर्माण शुरु भएको कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए ।

उनले जिरो नेट प्रविधि अर्थात् बाहिरी बिजुली नै आवश्यक नपर्ने गरी आधुनिक विहार भवन निर्माण हुने उनको भनाइ छ। एसीसी इन्डिया र गोर्खा विल्डर्स जेवीले आगामी १८ महिनाभित्र आधुनिक खालको विहार निर्माण पूरा गर्ने गरी सम्झौता गरेको छ ।

भूमि पूजा कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, कोषका सदस्य सचिव सानुराजा शाक्य, कोषका बोर्ड सदस्यहरू, अखिल नेपाल भिक्षु महासंघका महास्थविर, विभिन्न देशका भिक्षु भिक्षुणी, उपासक, उपासिका सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर