नाउपाको आन्तरिक विवादले सुदूरपश्चिम सरकार विस्तारमा अड्कियो हलो – Nepal Press

नाउपाको आन्तरिक विवादले सुदूरपश्चिम सरकार विस्तारमा अड्कियो हलो

सुदूरपश्चिम सदनमा शक्तिशालीबाट 'शक्तिहीन' बनेको नागरिक उन्मुक्ति विवादको अन्तर्य

कैलाली । सुदूरपश्चिम प्रदेशमा ७ महिना बढि समयदेखि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मन्त्रीविहीन छ । पुस २७ देखि माघ २६ सम्म मुख्यमन्त्री रहेका राजेन्द्रसिंह रावलले २ विनाविभागीय मन्त्री नियुक्त गरेका थिए । त्यसपछि माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका कमलबहादुर शाहले ५ मन्त्री र १ राज्यमन्त्री नियुक्त गर्दा पनि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भने नियुक्त हुन सकेका छैनन्

यहाँ कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति र नेकपा एसको गठबन्धन सरकार छ । अहिले नागरिक उन्मुक्तिबाहेक अन्य तीन दल सरकारमा छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय नाउपाका लागि मुख्यमन्त्री कमलबहादुर शाहले छुट्याएर राखेका छन् । तर, पार्टीभित्रैको किचलोका कारण नागरिक उन्मुक्ति संसदीय दलका नेताले दिएका नामहरूलाई मुख्यमन्त्री शाहले मन्त्रीमा नियुक्त गरेनन् ।

सोमबार अपराह्न २ बजेपछि नागरिक उन्मुक्ति पार्टीले रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा नियुक्त गर्न मुख्यमन्त्री शाहलाई दबाब दिएको थियो । संसदीय दलका नेता घनश्याम चौधरीले आफ्नो लेटर प्याडमा रामेश्वर चौधरीलाई कृषि मन्त्रालयमा र कैलाश चौधरीलाई राज्यमन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्रीलाई पत्र दिएका थिए । सोमबार मुख्यमन्त्री कार्यालयमै शपथ ग्रहणको तयारी सहित पुगेका दुबै जनालाई मुख्यमन्त्री शाहले मंगलबार ४ बजे आउनु भन्दै फिर्ता पठाएका थिए ।

‘हामीलाई भोलि साँझ ४ बजे आउनुहोस् भनेर मुख्यमन्त्रीले बोलाउनुभएको छ । भोलि ४ बजे शपथ ग्रहण हुन्छ’ मुख्यमन्त्री कार्यालयबाट निस्किँदै गर्दा संसदीय दलका नेता घनश्याम चौधरीले पत्रकारहरूलाई प्रतिक्रिया दिएका थिए ।

मुख्यमन्त्री शाह भने नागरिक उन्मुक्तिको आन्तरिक विवाद सुल्झिसकेपछि मात्रै शपथ ग्रहण गराउने पक्षमा थिए । भोलिपल्ट ४ बजे पनि मुख्यमन्त्रीले शपथ ग्रहण गर्न बोलाएनन् । त्यसलगत्तै नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले भागबन्डामा कुरा नमिलेको हुँदा तत्काल सरकारमा सहभागी नहुने भन्दै मुख्यमन्त्रीलाई पत्र पठाइन् । आफ्नै अध्यक्षको पत्रपछि शपथ ग्रहणका लागि मुख्यमन्त्रीले बोलाउने भन्दै कुरिरहेका नागरिक उन्मुक्तिका नेताहरू अन्तिम समयमा घर फर्किए ।

के हो नागरिक उन्मुक्तिको विवाद ?

नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशमा ७ जना सांसद छन् । गठबन्धनमा अहिले दुई मन्त्रालय, एक राज्य मन्त्री , एक विषयगत समितिको सभापति र उपसभामुखसम्म पाउनुपर्ने उनीहरूको माग छ । यहाँ उपसभामुख एमालेको छ ।

असार २१ गते नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीलाई भेट्न र सरकारमा सहभागी हुने वातावरण सृजना गर्न भन्दै मुख्यमन्त्री कमलबहादुर शाह र भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा बर्दिया पुगेका थिए । त्यहाँ भएको छलफलमा मुख्यमन्त्री शाह नागरिक उन्मुक्तिलाई २ मन्त्री, २ समितिको सभापति र १ उपसभामुख दिन तयार भएको प्रवक्ता दामोदर पण्डितले बताए ।

अहिले सुदूरपश्चिम प्रदेश सरकारमा २ मन्त्रालय खाली छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँगै मन्त्री पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा मृत्यु भएपछि आन्तरिक मामिला तथा कानून मन्त्रालय पनि खाली छ । नाउपा ती दुई मन्त्रालय आफ्नो भागमा पर्नुपर्ने अडानमा छ । यता मुख्यमन्त्री शाह भने आन्तरिक मामिला तथा कानून मन्त्रालय कांग्रेसलाई नै राखेर नागरिक उन्मुक्तिलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमात्रै दिन तयार छन् ।

सोमबार त्यही एक मन्त्रालयमा पनि शपथ ग्रहणका लागि तयार भएका रामेश्वर चौधरीलाई मुख्यमन्त्रीले शपथ नगराएपछि पार्टीभित्रको किचलो बाहिर आएको हो । संसदीय दलले मन्त्रीमा सिफारिस गरेका रामेश्वर चौधरी पार्टीका केन्द्रीय सहसचिव हुन् । नागरिक उन्मुक्तिका केन्द्रीय उपाध्यक्ष तथा सङ्गठन विभाग प्रमुख लक्ष्मणकिशोर चौधरी पनि प्रदेश सभा सदस्य छन् ।

वैशाख २८ भन्दा पहिले रामेश्वर चौधरी संसदीय दलका नेता थिए भने लक्ष्मणकिशोर चौधरी प्रमुख सचेतक थिए । उनीहरू दुवैलाई मन्त्री नियुक्त गर्ने सहमति पछि दलको नेतामा घनश्याम चौधरी र प्रमुख सचेतकमा खुसीराम चौधरी नियुक्त भए ।

मन्त्री बनाउने भन्दै संसदीय दलको नेता र प्रमुख सचेतकको जिम्मेवारी हेरफेर गरेको तीन महिनासम्म पनि मन्त्री नियुक्त नगरेको भन्दै केन्द्रीय नेतृत्व प्रति पनि यहाँका सांसदहरू असन्तुष्ट थिए । यस क्रममा सोमबार एक मन्त्री र एक राज्य मन्त्रीका लागि समेत मुख्यमन्त्रीलाई नाम पठाउँदा पनि केन्द्रले रोकेको उनीहरुको भनाइ छ ।

यसअघि नागरिक उन्मुक्ति पार्टीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा रामेश्वर चौधरीलाई सामाजिक विकास मन्त्रालयमा लक्ष्मण किशोर चौधरीलाई मन्त्री नियुक्त गर्नु पर्ने भन्दै लिखित निर्णय नै गरेको थियो । सोमबार रामेश्वरलाई मात्रै मन्त्री नियुक्त गर्ने तयारीले पार्टी भित्र विवाद बढेको हो । कैलाश चौधरीलाई राज्य मन्त्रीको तयारी छ । त्यसमा भने त्यति विवाद देखिएको छैन ।

‘सुदूरपश्चिम प्रदेशसभामा सबै भन्दा सिनियर पदाधिकारी लक्ष्मण किशोर हुनुहुन्छ उहाँलाई बाहिर राख्ने कुराले पार्टीमा विवाद हो’ एक पदाधिकारीले भने । प्रदेशमा २ मन्त्रालय दिने सहमति माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग भइसकेको उनले दाबी गरे । तर, प्रदेशमा एक मन्त्रालयमा मात्रै मनाउन खोजेपछि केन्द्रीय अध्यक्षले पत्र लेख्नुपरेको उनले बताए । अहिले केन्द्रमा केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ सरकामा छिन् । तर, प्रदेशमा भने सरकारमा सहभागी नहुने भन्दै उनैले मुख्यमन्त्रीलाई जानकारी पत्र पठाएपछि नागरिक उन्मुक्तिमा थप विवाद बढेको छ । अहिले नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरी काठमाडौं छन् । उनले शीर्ष नेताहरूसँग निर्णायक संवाद गरेर सरकारमा सहभागिता हुने वा नहुने भन्ने बिषय टुंग्याउने पार्टीका सांसदहरूको बुझाइ छ ।

शक्तिशालीबाट ‘शक्तिहीन’

पुस २७ देखि सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा सबैभन्दा धेरै नागरिक उन्मुक्ति पार्टीको चर्चा र खोजी थियो । कांग्रेससँगको गठबन्धन छोडेर एमालेसँगको गठबन्धनअनुसार केन्द्रदेखँ प्रदेशसम्मका सरकार बनिरहेका थिए । सुदूरपश्चिम प्रदेशमा एमाले र माओवादी दुई पार्टीमात्रै मिलेर सरकार बन्ने अवस्था थिएन । केन्द्रमा भएको सहमतिअनुसार प्रदेशमा पनि नागरिक उन्मुक्तिले उक्त सरकारलाई समर्थन गर्नु पर्ने अवस्था आयो । नागरिक उन्मुक्तिले समर्थन नगर्दासम्म एमालेको सरकार गठन नै हुने थिएन । नागरिक उन्मुक्तिका ७ मध्ये ३ जनालाई रोजेको मन्त्रालय २ जनालाई विषयगत समितिको सभापति र थप १ जनालाई व्यवस्थापन गर्ने भद्र सहमति थियो ।

उता कांग्रेस एक्लैले पनि नागरिक उन्मुक्तिको साथ पाउँदा सरकार बनाउन सक्ने अङ्कगणित पुग्ने हुँदा नाउपाका ७ सांसद तानातानको अवस्थामा थिए । कांग्रेसले नागरिक उन्मुक्तिका संसदीय दलका नेतालाई मुख्यमन्त्री बनाउने तीन मन्त्रालय दिने र २ सभापति दिनेसम्मका प्रस्ताव गरेका थिए । यता नागरिक उन्मुक्ति रेशम चौधरीको रिहाइ नहुँदासम्म सरकारमा सहभागी नहुने एकसूत्रीय माग लिएर बस्यो । सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार बनेको एक महिनासम्म रेशम चौधरीको रिहाइको पहल नभएको भन्दै विश्वासको मत दिने दिन नाउपाका सातैजना सांसद काठमाडौंमै बसे । एमाले सरकार ढल्यो ।

सोही दिन संविधानको धारा १६८ को ३ अनुसार कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री बने । केन्द्रमा माओवादी एमालेसँगै रहँदा पनि सुदूरपश्चिम प्रदेशमा भने नागरिक उन्मुक्ति पार्टीकै कारण शाह मुख्यमन्त्री भएका थिए । उनी मुख्यमन्त्री भएकै भोलिपल्ट रेशम चौधरी भेट्न डिल्लीबजार कारागार पुगे अर्को दिन रेशमको घरमा । नागरिक उन्मुक्तिको त्यो शक्ति ६ महिना पछि कम भएको नागरिक उन्मुक्तिकै सांसदहरूलाई आभास भएको छ । हिजो रोजेको मन्त्रालय दिन तयार रहेका मुख्यमन्त्री शाह अहिले रहेको मन्त्रालयमा पनि शपथ गराउन तयार देखिएनन् ।

केन्द्रमा माओवादी पनि कांग्रेस नेतृत्वको गठबन्धनमा फेरि सामेल भएपछि प्रदेशमा नागरिक उन्मुक्तिको शक्ति क्षयीकरण भएको छ । ४ सांसद रहेको नेकपा एसले आर्थिक मामिलाजस्तो बलियो मन्त्रालय पाएको छ । तर, ७ सांसद रहेको र हिजो सरकार बनाउन निर्णायक भूमिका खेलेको भन्दै नागरिक उन्मुक्तिका सांसद र नेता अहिले एक मन्त्रालय र एक राज्यमन्त्रीमा नियुक्त गर्न अनुरोध गर्दा पनि मुख्यमन्त्री शाहले त्यसलाई कार्यान्वयन नगरेको भनेर चिढिएका छन् । मुख्यमन्त्रीले बुधबार सञ्चारकर्मीहरूलाई नागरिक उन्मुक्तिभित्रैका कारणले आफूले शपथ गराउन नसकेको प्रतिक्रिया दिएका थिए ।

‘केन्द्रमा अझै सहमति र छलफल चलिरहेको छ फेरि उहाँहरूको पार्टी भित्र पनि केही कुराहरू आएको छ त्यसैले अझै केही दिन सरकार विस्तार नहोला’ मुख्यमन्त्री शाहले बुधबार भनेका थिए ।


प्रतिक्रिया

One thought on “नाउपाको आन्तरिक विवादले सुदूरपश्चिम सरकार विस्तारमा अड्कियो हलो

  1. चुनावपछि केन्द्र र सबै प्रदेशमा सरकार बनेर द्रुत गतिमा काम हुँदै थियो । प्रचण्ड नामको अस्थिरले विदेशीको ईशारामा फेरि अस्थिरता ल्यायो । अहिले त सबै प्रदेश सरकार अपाङ्ग छन् ।ठगबन्धनको लुटन पाईएन भन्ने झगडाले जताततै लथालिङ्ग छ । केन्द्रमा पनि मन्त्री फेर्ने काम भैराखेको छ । त्यो अझै टुङ्गिएको छैन । केन्द्रमा जे काम भैरहेकन छन् ती सबै सरकार टिकाउन मात्र भैरहेका छन् । देश र जनता बेहाल अवस्थामा छन् । अब पनि हामी जनताले यी गठबन्धन नामका ठग र विदेशीका दलाललाई भोट हाल्यौं भने आफ्नो खुट्टामा बञ्चरो आफैले हानेको हुन्छ । हामी जनताले पनि राम्रोको आशा गरेर मात्र पनि हुँदैन । पात्र छनौट गर्दा कसले वास्तवमै देशको दीर्घकालीन हितको लागि काम गरिरहेको छ, कसले ठग र नक्कली कुरा गरेको छ , कसले व्यवहारिक र हुने कुरा गरेको छ त्यो छुट्याएर मत दिनु पर्छ । यी सबै कुरा विचार गरेर म कम्युनिज्ममा विश्वास नगर्ने भए पनि एमालेले मात्र त्यो काम गर्न सक्छ भन्ने निष्कर्शमा पुगेकोले एमालेलाई समर्थन गर्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर