कांग्रेस सांसद भन्छन्- बजेट पारित गर्न संशोधन गर, थप योजना दिने मुख्यमन्त्रीको आश्वासन – Nepal Press
सुदूरपश्चिम

कांग्रेस सांसद भन्छन्- बजेट पारित गर्न संशोधन गर, थप योजना दिने मुख्यमन्त्रीको आश्वासन

कैलाली । असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट माथि प्रदेश सभा बैठकमा छलफल जारी छ । बजेटको विरोधमा उत्रिएका सत्ता गठबन्धनकै सांसदहरू यथास्थितिमा बजेट पारित गर्ने पक्षमा छैनन् ।

बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सांसदहरूले यथास्थितिमा बजेट पारित नहुने भन्दै बजेट संशोधनको माग गरेका हुन् ।

उनीहरूले आफ्नो निर्वाचन क्षेत्रमा आफैले प्रस्ताव गरेका योजना नपरेको भन्दै मुख्यमन्त्री कमल बहादुर शाह समक्ष गुनासो पोखेका थिए ।

सोमबार पनि कांग्रेस संसदीय दलको बैठक बसेर मुख्यमन्त्री शाललाई निकास निकाल्न आग्रह गरिएको थियो । तर, त्यसपछि पनि केहि सहमति नभएपछि हिजो फेरी दलको बैठक बसेको हो ।

मुख्यमन्त्री कार्यालयका ४ बजे बाट सुरु भएको बैठक करिब ७ बजे सम्म चलेको थियो । बैठकमा उपस्थित कांग्रेसका सबै सांसद बजेट संशोधनको पक्षमा थिए ।

सांसदहरूको गुनासो सुनेपछि मुख्यमन्त्री शाहले सांसदहरूको माग सम्बोधन गर्ने आश्वासन दिएका हुन् ।

‘योजना नपरेको क्षेत्रमा थप योजना दिन हामीले मुख्यमन्त्रीलाई माग गरेका थियौँ । यथास्थितिमा बजेट पारित हुँदैन हामी नै विरोधमा छौँ भन्यौँ’ बैठकमा उपस्थित एक सांसदले भने ‘मुख्यमन्त्री लचक हुनु भएको छ । माननीयहरूलाई थप योजना दिने बिषयमा छलफल गर्ने उहाँको तयारी छ ।’

आज बिहान ८ः३० बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ । उक्त बैठकमा बजेट माथिको छलफल गर्ने कार्यसूची छ ।

का‌ंग्रेसकै सांसदहरू मुख्यमन्त्रीले थप बजेट र योजना उपलब्ध गराउने सुनिश्चितता नगरे सम्म संसद्मा बजेटको पक्षमा नबोल्ने अडान लिएका छन् ।

‘आश्वासन दिएर हुँदैन सुनिश्चितता चाहिन्छ नत्र हामी आजको बैठकमा पक्षमा बोल्दैनौँ’ काङ्ग्रेसकै अर्का सांसदले भने ।

आजै ३ बजे प्रदेशसभाको अर्को बैठक छ । त्यो भन्दा पहिले सहमति गर्न मुख्यमन्त्रीलाई कांग्रेस सांसद्हरुले दबाब दिइरहेका छन् ।

८ः३० बजेको प्रदेश सभा बैठक पछि मुख्यमन्त्री शाहले सत्ता गठबन्धनका अन्य दलका नेताहरूसँग पनि वार्ता गर्ने र निकास निकाल्ने तयारी गरिरहेको कांग्रेस स्रोतको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर