प्रदेश सरकारमा शेखर गगन समूह निरीह- मुख्यमन्त्री चारवटै संस्थापनका, सात प्रदेशमा जम्मा दुई मन्त्री – Nepal Press

प्रदेश सरकारमा शेखर गगन समूह निरीह- मुख्यमन्त्री चारवटै संस्थापनका, सात प्रदेशमा जम्मा दुई मन्त्री

कैलाली । पार्टीभित्र ४० प्रतिशत भएको दाबी गर्दै आएको शेखर कोइराला र गगन थापाको समूह नेपाली कांग्रेसमा कमजोर रहेको देखिएको छ । पार्टीको भागमा पर्ने मन्त्री तथा नियुक्तिमा समेत ४० प्रतिशत दाबी गर्दै आएको यो समूह पछिल्लो समय निरीह बन्दै गएको छ । जुन कुरा संघीय सरकारमा कांग्रेसले पाएका ९ मन्त्रालयमा यो समूहले दुइटामात्रै भाग पाएबाट पुष्टि हुन्छ ।

प्रदेश सरकारको नेतृत्वमा त झन् शेखर गगन समूह शून्यको अवस्थामा छ । सात प्रदेशमा जम्मा दुई मन्त्रीको भाग पाएबाटै यो समूह नेपाली कांग्रेसभित्र लाचार बन्दै गएको देखिन्छ । सात प्रदेशमध्ये दुई प्रदेशमा एकएक मन्त्री पाउँदा बाँकी पाँच प्रदेशको सरकारमा शेखर गगन समूहको उपस्थिति शून्य छ ।

कोशी प्रदेशमा उद्धवबहादुर थापा मुख्यमन्त्रीमा नियुक्त भएसँगै नेपाली कांग्रेसले ७ मध्ये ४ प्रदेशको नेतृत्व पाएको छ । कर्णाली, बागमती र मधेसबाहेकका प्रदेशमा कांग्रेस नेतृत्वको सत्ता चलिरहेको छ ।

कांग्रेसभित्र देउवा र शेखर गगन समूहबीच तीव्र गुटबन्दी भए पनि मुख्यमन्त्री नियुक्तिमा देउवा नेतृत्वको संस्थापन पक्षको दबदबा रह्यो । कांग्रेसबाट सुदूरपश्चिममा कमल शाह, लुम्बिनीमा डिल्लीबहादुर चौधरी, गण्डकीमा सुरेन्द्रराज पाण्डे र काेशीमा उद्धवबहादुर थापा मुख्यमन्त्री छन् ।

कोशीका नवनियुक्त मुख्यमन्त्री उद्धवबहादुर थापा भने सिटौला समूहका हुन् । अहिले सिटौला र देउवा सँगै छन् ।

सत्ता गठबन्धनभित्र कर्णाली र बागमतीको मुख्यमन्त्री माओवादी केन्द्रले र मधेसको मुख्यमन्त्री जसपाले पाएका छन् ।

मन्त्रीहरूमा पनि संस्थापनकै दबदबा

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री शाहसँगै कांग्रेसका हातमा भौतिक पूर्वाधार विकास मन्त्रालय छ । भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवा संस्थापन पक्षका मात्रै होइनन् देउवा परिवारकै सदस्य हुन् ।

कर्णालीमा कांग्रेसले सामाजिक विकास, आर्थिक मामिला तथा योजना र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय पाएको छ । जसमा सामाजिक विकासमन्त्री खड्गबहादुर पोख्रेल र अर्थमन्त्री बेदराज सिंह छन् । यी दुवै संस्थापन पक्षका हुन् ।

उद्योग पर्यटन वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीमात्रै शेखर गगन समूहका हुन् ।

बागमतीमा नेपाली कांग्रेसबाट मन्त्री भएका ६ जनामध्य ४ देउवा नेतृत्वको संस्थापन पक्षका छन् । एक जना शेखर गगन समूहका हुँदा अर्को एक जना प्रकाशमान सिंह समूहका छन् ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, खानेपानी ऊर्जा तथा सिंचाइमन्त्री तीर्थ लामा, वन तथा वातावरणमन्त्री मसिना खड्का र विनाविभागीय मन्त्री रामकृष्ण चित्रकार संस्थापन पक्षका हुन् ।

प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी शेखर गगन समूहका हुन् भने पर्यटन उद्योग तथा सहकारीमन्त्री पुकार महर्जन प्रकाशमान सिंह समूहका हुन् ।

लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र स्वास्थ्यमन्त्री राजु खनाल संस्थापन पक्षका छन् । लुम्बिनीमा पार्टीको प्रदेश कमिटीमा शेखर समूहको वर्चस्व छ । तर, प्रदेशसभामा देउवा समूहको वर्चस्व छ । २७ सदस्यीय प्रदेश संसदीय दलमा संस्थापनका १८ र इतर समूहका ९ जना सांसद छन् ।

गण्डकीमा मुख्यमन्त्री पाण्डेसँगै ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती तिवारी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा संस्थापन पक्षका हुन् ।

कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसी डा. शशांक कोइराला समूहका हुन् । यहाँका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेमगर रामचन्द्र पौडेलरशङ्कर भण्डारी निकट हुन् ।

मधेशमा कांग्रेसका दुई जना मन्त्री नै संस्थापन पक्षका हुन् । यहाँ कृष्ण यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयको र वीरेन्द्र सिंहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । यादव कांग्रेस संसदीय दलका नेता हुन् ।

कोशीमा मुख्यमन्त्री थापाले नियुक्त गरेका प्रदीप सुनुवार पनि संस्थापन पक्षकै हुन् । उनको मन्त्रालयको टुङ्गो लागिसकेको छैन । यहाँ देउवा नेतृत्वको संस्थापन पक्षभन्दा सिटौला पक्ष बलियो छ । देउवा र सिटौला एकै ठाउँमा उभिएपछि अहिले शेखर गगन समूह किनारामा परेको छ ।

प्रदेश ब्युरोको सहयोगमा


प्रतिक्रिया

One thought on “प्रदेश सरकारमा शेखर गगन समूह निरीह- मुख्यमन्त्री चारवटै संस्थापनका, सात प्रदेशमा जम्मा दुई मन्त्री

  1. यसरी निरीह भएर देउवा र प्रचण्डको पुच्छर हुनुभन्दा नयाँ ढंगले चलाउन पार्टी फुटाएर नयाँ बनाउ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर