लुम्बिनीका ४ उपमहानगरको बजेट: सबैभन्दा धेरै बुटवलको, थोरै नेपालगञ्जको – Nepal Press

लुम्बिनीका ४ उपमहानगरको बजेट: सबैभन्दा धेरै बुटवलको, थोरै नेपालगञ्जको

रुपन्देही । लुम्बिनी प्रदेशमा रहेका चार उपमहानगरपालिकामध्ये सबैभन्दा धेरै बजेट बुटवलले ल्याएको छ । रुपन्देहीको बुटवल, दाङका घोराही र तुल्सीपुर तथा बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि करिब ८ अर्ब बराबरको बजेट ल्याएका छन् ।

बुटवलले सबैभन्दा ठूलो आकारको २ अर्ब ३६ करोड रुपैयाँको बजेट ल्याउँदा सबैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकाले एक अर्ब ६७ करोड ५६ लाख एक हजार ५८७ रूपैयाँको बजेट ल्याएको हो ।

यसैगरी दाङको घोराही उपमहानगरपालिकाले २ अर्ब १५ करोड ५४ लाख ८३ हजारको बजेट सार्वजनिक गर्दा तुल्सीपुर उपमहानगरपालिकाले १ अर्ब ७९ करोडको बजेट ल्यायो ।

यस्ता छन् बजेटका प्राथमिकता

बुटवलको बजेटमा सामाजिक, आर्थिक र पूर्वाधार विकासलाई प्राथमिकता दिने भनिएको छ । उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको बजेटमा समानता, स्वाभीमान र अवसर-बस्नयोग्य बुटवल शहर नारासहित सार्वजनिक बजेटले उद्यमशीलता, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकासमा जोड दिएको छ ।

बुटवलले रगत र रगतजन्य पद्धार्थ निःशुल्क गर्न बजेट विनियोजन गरेको छ । त्यस्तै बुटवल वडा नं १३ र १७ मा १५/१५ शय्याका अस्पताल सञ्चालन गर्न २ करोड, आम्दा अस्पतालमा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न १ करोड बजेट विनियोजन गरिएको छ ।

बुटवल उपमहानगरले नौ वटा कार्यक्रम मेयरको नाम जोडेर र दुइटा कार्यक्रम उपमेयरको नाम जोडेर ल्याएको छ। मेयर स्वस्थ शिशु सुत्केरी पोषण कार्यक्रमका लागि १ करोड विनियोजन गरिएको छ ।

यसैगरी विद्यार्थीसँग नगर प्रमुख कार्यक्रम पनि अघि ल्याइएको छ । नगर प्रमुख पूर्वाधार एम्बुलेन्स सञ्चालन गर्न २ करोड विनियोजन गरिएको छ । मेयर कप फुटबल प्रतियोगिता र मेयर युवा इलम कार्यक्रम ल्याइएको छ ।

यसैगरी नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रमका लागि ३ करोड बजेट विनियोजन गरिएको छ । उपमेयरको नाम जोडेर उपप्रमुख उद्यमशीलता कार्यक्रम र उपप्रमुख दुग्धबर्द्धक जडिबुटी वितरण कार्यक्रम छ ।

यसबाहेक उपमहानगरले आम्दा अस्पतालमा पारामेडिकल शिक्षा सुरू गर्न ३० करोड र उज्यालो बुटवल कार्यक्रमका लागि ४ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । पार्किङ व्यवस्थापनका लागि निजी र सार्वजनिक जग्गा खोजी गर्ने, डाटा बैंक स्थापना गर्ने, लालपुर्जाविहीन घरहरू सूचीकृत गर्न आवश्यक बजेट उपमहानगरपालिकाले विनियोजन गरेको छ ।

वडाको समग्र बजेटका लागि १६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको उपमेयर अर्यालले बताइन् । रात्रिकालीन बजार सञ्चालन तथा सौन्दर्यीकरण गर्ने, बुटवलमा लगानी सम्मेलनको आयोजना गर्ने विषय पनि बजेटको प्राथमिकतामा परेको छ।

एकल महिला, लैंगिक तथा यौनिक अल्पसंख्यक व्यक्ति रिक्सा र टेम्पोको सवारी धनी भइ स्वयं चालक भएकाहरूलाई प्रोत्साहन गर्न नवीकरणमा २५ प्रतिशत र स्वरोजगार महिला सवारी धनी र चालकलाई प्रोत्साहन गर्न नवीकरणमा १५ प्रतिशत छुट दिइने उपमेयर अर्यालले बताइन् ।

उनले सम्पत्तिकर र भूमिकर २०८० कार्तिक मसान्तसम्म बुझाउँदा निर्धारित खुद करमा १० प्रतिशत छुट दिने जानकारी दिइन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज विमानस्थललाई अन्तर्राष्ट्रिय बनाउन पहल गर्ने, उमहानगरका चोकहरुमा सौन्दर्यकरण तथा ट्राफिक लाइटको व्यवस्था गर्ने, नेपालगञ्जमा ऐतिहासिक पार्क निर्माण, तालतलैयाको संरक्षण गर्ने, एक घर न्यूनतम एक रुखको अवधारणाअनुसार भवन बनाउन अनुमति दिने जस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको छ ।

एक अर्ब ६७ करोड ५६ लाख एक हजार ५८७ रुपैयाँको बजेट सार्वजनिक गरेको उपमहानगरपालिकाले गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा आकस्मिक बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, आगामी पाँच वर्षमा क्षयरोग मुक्त गर्ने, दाइजो प्रथा न्यूनीकरण गर्न रणनीतिक योजना बनाउने बजेटको प्राथमिकतामा राखेको छ ।

उपमहानगरपालिकाको १३ औं अधिवेशनमा प्रस्तुत गरिएको बजेटमा संघ र प्रदेशको सशर्त र समपूरक अनुदान, वित्तीय समानीकरण, राजस्व बाँडफाँटबाहेक घरजग्गा रजिष्टेसन (मालपोत) १४ करोड, आन्तरिक आय १८ करोड र राजस्व/अनुदान बचत मौज्दात २० करोड रहेको छ ।

वडाहरुलाई गतवर्षकै बराबरीमा बजेट छुट्याइएको छ । २५ करोड रुपैयाँ सिलिङ उपलब्ध गराएर ५० प्रतिशत सबै वडालाई बराबरी र ५० प्रतिशत जनसंख्या, राजस्व संकलनलगायतका मापदण्ड बनाएर उपलब्ध गराइएको छ ।

घोराही उपमहानगरपालिकाले सामाजिक विकास, कृषि र रोजगारलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट ल्याएको छ ।

उपमेयर हुमाकुमारी डिसीले २ अर्ब १५ करोड ५४ लाख ८३ हजार रुपैयाँको बजेट प्रस्तुत गरिन् । यो बजेट गतवर्षको भन्दा १७ करोड कम हो । यसवर्षको कुल बजेटमध्ये चालूतर्फ १ अर्ब २८ करोड ३ लाख रुपैयाँ अर्थात ५९.४ प्रतिशत र पूँजीगततर्फ ८७ करोड ५१ लाख ८३ हजार अर्थात ४०.६० प्रतिशत रकम विनियोजन गरिएको छ ।

बजेट कार्यान्वयनका लागि आन्तरिक आयबाट ३६ करोड, संघीय वित्तीय समानीकरण अनुदानबाट ३१ करोड १४ लाख, संघीय राजस्व बाँडफाँटबाट २५ करोड २४ लाख, प्रदेश समानीकरण अनुदानबाट २ करोड २९ लाख, प्रदेश राजस्व बाँडफाँटबाट २ करोड ३ लाख, प्रदेश सशर्त अनुदानबाट २ करोड ७ लाख, प्रदेश समपूरक अनुदानबाट ३२ करोड व्यहोरिनेछ ।

चालू आर्थिक वर्षकै ३६ करोड रुपैयाँ बचत हुने अनुमान पनि घोराही उपमहानगरपालिकाको बजेटमा उल्लेख छ । घोराही उपमहानगरपालिकाले पूर्वाधार विकासतर्फ ५२ करोड ४८ लाख, सरसफाइ, वातावरण र विपद व्यवस्थापनतर्फ ५ करोड १ लाख रुपैयाँ विनियोजन गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले १ अर्व ७९ करोडको बजेट ल्याएको छ । यो बजेट गतवर्षको भन्दा ७ करोड कम हो ।

गतवर्ष ३० करोड १२ लाख आन्तरिक स्रोतको लक्ष्य राखेको तुलसीपुर उपमहानगरपालिकाले यो वर्ष २१ करोडमात्रै लक्ष्य राखेको छ । तुलसीपुरले कृषि, पशु र पर्यटनको विकासका लागि सरकारी, निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धि र वित्तीय क्षेत्रको सुधार गर्दै रोजगारी सृजना गर्ने कुरालाई प्राथमिकतामा राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *