सुर्खेतमा दादुराविरुद्धको खोप अभियान प्रभावकारी – Nepal Press

सुर्खेतमा दादुराविरुद्धको खोप अभियान प्रभावकारी

सुर्खेत । सुर्खेतमा दादुरा रुवेला खोप अभियान प्रभावकारी बन्दै गएको छ । केही समय पहिला सुर्खेतमा पाँच जनामा दादुरा देखापरेको थियो । ६५ जना शंकास्पद बिरामीको चेकजाँच गर्दा उनीहरूमा दादुरा भेटिएको थियो । जसमा वीरेन्द्रनगर र चिङ्गाडका दुईदुई तथा गुर्भाकोटका एक जनामा दादुरा भेटिएको थियो ।

सुर्खेतका नौ वटै स्थानीय तहमा जेठ २८ गते खोप अभियान सुरु गरिएको थियो । उक्त अभियान जिल्लाका नौ स्थानीय तहका ९९ वटा वडामा असार ५ गतेसम्म सञ्जालन गरिने भनिएको थियो । सुर्खेतका केही स्थानीय तहमा गर्मी बिदा गरिएको हुँदा थप गरिने जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत अमर रानाले जानकारी दिए ।

सुर्खेतको बराहाताल, चिङ्गाड गाउँपालिका, भेरीगङ्गा र लेकबेंसी नगरपालिका तथा दोस्रो चरणमा वीरेन्द्रनगर, पञ्चपुरी, गुर्भाकोट नगरपालिका, चौकुने र सिम्ता गाउँपालिकामा खोप अभियान सञ्चालन गरिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए ।

विद्यालय बन्द भए पनि खोप अभियान प्रभावकारी हुँदै जाने र विद्यालय सञ्चालन भएसँगै विद्यालयमा खोप अभियानलाई निरन्तरता दिने प्रमुख गौतमले बताए ।

पहिलो चरणको खोप अभियान उत्साहजनक रुपमा सम्पन्न भएको जनस्वास्थ्य निरीक्षक (खोप फोकल पर्सन) धनबहादुर बुढाले बताए ।

जिल्लामा ६ महिनादेखि ५ वर्षसम्मका लक्षित बालबालिकाको संख्या ३४ हजार ५८० र ५ वर्षदेखि १५ वर्षसम्मका बालबालिकाको संख्या १ लाख ७ हजार ३६ गरी जम्मा एक लाख ३९ हजार ४४६ जना रहेका छन् ।

खोप अभियानका लागि सुर्खेत जिल्लाका ९९ वडामा कुल ५४७ खोप केन्द्रको व्यवस्था गरिएको छ । सुर्खेतका निजी तथा सरकारी विद्यालयमा खोप केन्द्र राखिएको छ । सन् २०२३ सम्म दादुरामुक्त नेपाल घोषणा गर्ने भनिए पनि सङ्क्रमण फैलिएपछि सन् २०२६ सम्म उक्त लक्ष्य राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर