कांग्रेसको हातबाट किन फुत्कियो तनहुँ १ ? यी हुन् चार मुख्य कारण – Nepal Press

कांग्रेसको हातबाट किन फुत्कियो तनहुँ १ ? यी हुन् चार मुख्य कारण

तनहुँ १ यसपटक सर्वाधिक चर्चामा रह्यो । रामचन्द्र पौडेल पहिलोपटक हार्दा भन्दा यसपटक गोविन्द भट्टराई पराजित हुँदा तनहुँ १ ले सिंगो कांग्रेस पंक्तिलाई गहिरो चोट पुगेको छ । यसको आधिकारिक समीक्षा पार्टी केन्द्रले गर्ला नै ।

बैशाख १० मा सम्पन्न उपनिर्वाचनको परिणामले यतिबेला सिङ्गो मुलुकको राजनीति तरङ्गित हुन पुगेको छ । यस अर्थमा तरङ्गित हुन पुगेको छ कि कांग्रेस पार्टी स्थापना कालदेखि कांग्रेसीहरुको गढको रुपमा रहेको तनहुँ क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले जीत हात पारेका छन् ।

यो चुनावी परिणामले २०८४ सालमा हुने संघ, प्रदेश र स्थानीय तह निर्वाचनमा देशव्यापी रुपमा प्रभाव पार्ने धेरैको अनुमान रहेको छ । सच्चिने कि सक्किने भनेर कांग्रेसभित्र बहस भइरहेका छन् । यद्यपि २०८४ सालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो छवि अहिलेकै अवस्थामा राख्न सफल हुन्छ कि हुँदैन त्यो भने निकै चुनौतीको विषय रहेको छ ।

स्वर्णिम विद्रोहसँग देउवा दम्पतीको कनेक्सन

तनहुँ क्षेत्र नं १ जस्तो गढको रुपमा रहेको क्षेत्रमा कांग्रेसले यस पटकको उपनिर्वाचन हार्दै गर्दा चुनावी मैदानमा उत्रिएका पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको प्रतिष्ठामा मात्र आँच पुगेको छैन । कांग्रेस पार्टी र कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको प्रतिष्ठामा प्रत्यक्ष रुपमा आँच पुगेको छ ।

त्यसमा पनि डा. वाग्लेले कांग्रेस पार्टी परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बन्दै गर्दा पार्टी सभापति देउवा र सभापति देउवाकी धर्मपत्नी डा.आरजु देउवा राणामाथि लगाएको आरोपले त झन् पार्टी देउवा दम्पतीको प्रतिष्ठामा ठूलो आँच पुगेको छ । वास्तवमा स्वर्णिमको विद्रोह कांग्रेससँग भन्दा पनि उनकै शब्दमा दाइभाउजू र भतिजाहरुसँगको थियो । जुन विद्रोहलाई कांग्रेसको गढले अनुमोदन गरिदिनु अवश्य पनि गम्भीर धक्का हो ।

जुन विषयका बारेमा कांग्रेस पार्टीभित्र गम्भीर ढंगले समीक्षा हुनु जरुरी छ । अन्यथा कांग्रेस पार्टीले आगामी दिनमा बैशाख १० मा सम्पन्न उपनिर्वाचनमा भन्दा निश्चित रुपमा ठूलो क्षति व्यहोर्नुपर्ने निश्चित छ ।

तनहुँ क्षेत्र नं १ मा कांग्रेसले चुनावमा पराजित हुनुको अर्को कारण भनेको गठबन्धनमा आवद्ध दलभित्र विश्वासको अभाव देखिन्छ । किनकि यो उपनिर्वाचनमा गठबन्धनमा आवद्ध दलमध्ये माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले खुलेर गठबन्धनको पक्षमा मत मागेको देखिएन ।

तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनलाई एक पटक फर्केर हेर्ने हो भने कांग्रेसले पराजय भोग्नुमा थुप्रै कारणहरु छन् । त्योमध्ये प्रमुख कारण आममतदातामा नेपाली कांग्रेसलगायत पुराना राजनीतिक दलहरुप्रतिको वितृष्णा नै हो ।

यसरी वितृष्ण पैदा हुनुको प्रमुख कारण भनेको २०४६ सालको परिवर्तनपछि कांग्रेसको तर्फबाट एउटै व्यक्तिले पटकपटक संसदमा प्रतिनिधित्व गर्नु र जनअपेक्षाअनुरुप विकास निर्माण र रोजगारीका अवसर प्रदान गर्न नसक्नु देखिन्छ । जुन विषयका बारेमा कांग्रेसलगायत अन्य राजनीतिक दलहरु अनभिज्ञ रहन पुगे र चुनावी परिणाम रास्वपाको पक्षमा पर्न पुग्यो ।

माओवादीको असहयोग

तनहुँ क्षेत्र नं १ मा कांग्रेसले चुनावमा पराजित हुनुको अर्को कारण भनेको गठबन्धनमा आवद्ध दलभित्र विश्वासको अभाव देखिन्छ । किनकि यो उपनिर्वाचनमा गठबन्धनमा आवद्ध दलमध्ये माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले खुलेर गठबन्धनको पक्षमा मत मागेको देखिएन ।

गठबन्धनमा आवद्धमध्ये माओवादी केन्द्रका नेता एवं गण्डकी प्रदेशका पूर्वमन्त्री हरिबहादुर चुमान गठबन्धनका उम्मेदवार भट्टराईलाई जिताउनभन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको वरिपरि घुमेर गण्डकी प्रदेशको पहिलो कार्यकालको मुख्यमन्त्री हत्याउने मुख्य ध्याउन्नमा रहेका थिए । जसले गर्दा माओवादी केन्द्रसँगको गठबन्धन त्यति फलदायी हुन सकेन ।

किसानको अनावश्यक हुँकार

एकीकृत समाजवादीको हकमा पनि गठबन्धन त्यति फलदायी रहेको पाइएन । गठबन्धनका उम्मेदवार भट्टराईको चुनावी अभियानमा सहभागी हुन तनहुँ आउनु अगाडि मन्त्री बनाउनुपर्ने अडान राखेर विपक्षीसँग संवादमा थिए एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसान ।

किसान श्रेष्ठको अनावश्यक हुँकारले गठबन्धनका उम्मेदवार भट्टराईलाई उल्टै बेफाइदा हुन पुग्यो । गठबन्धनका उम्मेदवार भट्टराईले जितेको खण्डमा आफू मन्त्री बन्ने निश्चित रहेको भन्दै श्रेष्ठ प्रचारप्रसारमा हिँडेसँगै उनलाई मन्त्री हुनबाट रोक्न पनि एकीकृत समाजवादीकै नेता तथा कार्यकर्ताले रास्वपाको पक्षमा भोट हालेको प्रस्ट रुपमा देखियो ।

गठबन्धनका उम्मेदवार भट्टराई र रास्वपाका उम्मेदवार डा. वाग्लेबीच तीव्र प्रतिस्पर्धा हुँदा चुनावी परिणाम आफ्नो पक्षमा आउने एमाले उम्मेदवार सर्वेन्द्र खनालको अनुमान थियो । तर, एमाले अध्यक्ष केपी ओली चुनावी प्रचारप्रसारमा सहभागी नभएपछि एमाले जिल्ला नेतृत्वदेखि कार्यकर्तामा एक किसिमको निराशा छाउन पुग्यो र एमालेको मत रास्वपाका उम्मेदवार डा. वाग्लेलाई खनिन पुग्यो ।

एमाले उम्मेदवार खनालले यस पटक अघिल्लो निर्वाचनमा आएको भन्दा साढे ११ हजार मत गुमाउन पुगेका छन् । जुन मत रास्वपाका डा. वाग्लेले पाएको अवस्था छ । त्यस्तै कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थनसमेत रास्वपा डा.वाग्लेले नै पाए ।

गठबन्धनका उम्मेदवार भट्टराईले जितेको खण्डमा आफू मन्त्री बन्ने निश्चित रहेको भन्दै श्रेष्ठ प्रचारप्रसारमा हिँडेसँगै उनलाई मन्त्री हुनबाट रोक्न पनि एकीकृत समाजवादीकै नेता तथा कार्यकर्ताले रास्वपाको पक्षमा भोट हालेको प्रस्ट रुपमा देखियो ।

त्यस्तै कांग्रेसले आफ्नै ४-५ हजार मत संरक्षण गर्न सकेन । जसले गर्दा डा. वाग्लेलाई चुनावी नतिजा आफ्नो पक्षमा निकाल्न सहज हुन पुग्यो ।

कमजोर चुनावी व्यवस्थापन

तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनलाई नजिकबाट नियालेर हेर्दा तनहुँ कांग्रेसमा निर्वाचनका क्रममा यस किसिमको एकता यस अगाडि कुनै पनि निर्वाचनमा देखिएको थिएन । पार्टीका केन्द्रीय नेताहरुदेखि कार्यकर्ताहरुसम्म एक भएर चुनावी अभियानमा सहभागी भएका थिए । तर, कमजोर व्यवस्थापनका कारण चुनाव अपेक्षा गरिएअनुरुप अगाडि बढ्न सकेको थिएन ।

केन्द्र र जिल्लाले चुनावी कमाण्डरका रुपमा केन्द्रीय सदस्य शंकर भण्डारीलाई तोकेको थियो । तर, पार्टीका केन्द्रीय तहका नेताहरु आफूखुशी वडावडामा पुगेका थिए । केन्द्रीय तहका नेताहरु वडावडामा पुग्दा कार्यकर्ताको ध्यान सेल्फी खिच्नु सिवाय अरु केही हुन पुगेन ।

पार्टीले खटाएका चुनावी कमाण्डरसँग समन्वय नगरी आन्तरिक पर्यटन वृद्धि गर्न कांग्रेसका नेता कार्यकर्ताको प्रतिस्पर्धा चल्यो । यसले मतदातालाई कुनै आकर्षण दिन सकेन । बरु उल्टै गलत सन्देश गयो । जिल्लाकै नेता कार्यकर्ताको राम्रो परिचालन र मतदातासम्म पुगेर व्यवस्थित हिसाबकिताब गर्नुपर्ने थियो । तर, देशभरका नेता कार्यकर्ता तनहुँ आएर उल्टै यताका मतदातामा इरिटेशन पैदा गरे । उनीहरुबाट एक भोट थपिने योगदान भएन, उल्टै मत घट्यो ।

फितलो चुनावीसभा

चुनावमा मतदातालाई आकर्षित गर्ने प्रमुख माध्यम भनेको चुनावी आमसभा पनि हो । कांग्रेसले सदरमुकाम दमौली र डुम्रेमा आयोजना गरेको चुनावीसभाले मतदाताको ध्यानाकर्षण गर्न सकेन । धेरैको अनुमान थियो, दमौलीमा कांग्रेसले आयोजना गर्ने सभा राष्ट्रिय स्वतन्त्र पार्टीको सभाभन्दा बृहत हुनेछ भनेर ।

तर, दमौलीको सभा रास्वपाको तुलनामा कमजोर रहन पुग्यो । त्यस्तै डुम्रेमा आयोजित चुनावीसभामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्वयं उपस्थित हुँदासमेत उपस्थित हुनेको संख्या निकै न्यून थियो ।

सभामा उपस्थित हुनेको संख्या न्यून भए सँगसँगै नेताहरुले सभालाई सम्बोधन गर्ने क्रममा खासै आकर्षण दिने खालको अभिव्यक्ति दिन सकेनन् । उही पुरानै शैलीका आश्वासन, घिसेपिटे तर्क र मन्त्री बनाइदिउँला भन्ने जिम्दारी शैली देखियो । जसको प्रत्यक्ष लाभ रास्वपाका उम्मेदवार डा. वाग्लेलाई पुग्यो ।

एमाले अध्यक्ष केपी ओली किन तनहुँ आएनन् ? के एमालेले भित्रभित्रै कांग्रेस हराउन रास्वपालाई हापेको थियो ? यो अनुमान लगाउन सकिने विषयमात्र रह्यो । तर, कांग्रेसले भने तनहुँ १ को उपनिर्वाचन परिणामबाट गम्भीर समीक्षा गरेर अघि बढ्न नसके यस्ता धेरै गढहरु आउने चुनावमा भत्किनेछन् ।

अन्तमा, बैशाख १० को चुनावी परिणामलाई लिएर कांग्रेसका कोही नेता तथा कार्यकर्ता विचलित हुनुपर्ने देख्दिनँ । किनकि कांग्रेसले मंसिर ४ मा प्राप्त गरेको समानुपातिक मत सुरक्षित गरेको अवस्था छ । त्रिपक्षीय रुपमा चुनावी प्रतिस्पर्धा भएको भए गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईले प्राप्त गरेको मतले चुनाव जित्ने निश्चित थियो । तर, एमाले, माओवादी, राप्रपा, एकीकृत समाजवादी, गोविन्दराज जोशी समूह र अन्य साना दलको मत राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा खनिन पुग्दा डा. स्वर्णिम वाग्लेले सोचेभन्दा बढी मतले चुनाव जित्न पुगे । २०४६ सालपछिको निर्वाचनलाई नजिकबाट नियालेर हेर्ने हो भने गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस केन्द्रीय सदस्य भट्टराईले जिताउने विषयमा कांग्रेसका नेता तथा कार्यकर्ता अहिले जसरी दिलोज्यान दिएर लागेको कहिल्यै देखिएको थिएन ।

चुनावी प्रतिस्पर्धामा उत्रिँदै गर्दा हिजो सन्त नेता कृष्णप्रसाद भट्टराईले समेत पराजय भोग्नुपरेको थियो । चुनावमा पराजित हुँदै सन्त नेता भट्टराईले नेता र कार्यकर्तालाई लक्षित गरी असन्तुष्टि व्यक्त गरेको कहिल्यै सुन्नुपरेन । तसर्थ उपनिर्वाचनमा पराजय यो घडीमा पार्टीका हरेक नेता तथा कार्यकर्ता जिम्मेवार बनेर तनहुँमा कांग्रेस पार्टीको साख जोगाउनु जरुरी देखिन्छ । अन्यथा भावी पुस्ताले तनहुँबाट केन्द्रमा प्रतिनिधित्व गर्ने कांग्रेसका नेता तथा जिल्ला तहका नेताहरुलाई नराम्ररी धिक्कार्नेछ ।

(अधिकारी नेपाली कांग्रेस तनहुँका जिल्ला कार्य समिति सदस्य हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *