जनकपुरमा सालिक विवाद चर्किँदै, मेयर साहको जलाइयो फोटो – Nepal Press

जनकपुरमा सालिक विवाद चर्किँदै, मेयर साहको जलाइयो फोटो

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका- १ स्थित चौबाटोमा भानुभक्त आचार्यको सालिक निर्माण गर्ने तयारीविरुद्व मधेस केन्द्रित दलका युवा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलित युवा विद्यार्थीहरुले आज साँझ जनकपुरधामका मेयर मनोज साहको फोटो जलाएका छन् । उनीहरुले मेयर साहविरोधी नारासमेत लगाए ।

जनकपुरधाम- १ स्थित मुख्य चोकमा मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको सालिक बनाएर उनको नामबाट चोकको नामकरण गर्नुपर्ने उनीहरुको माग छ ।

शनिबार विवादका बाबजुद मेयर साहले भानुभक्त आचार्यको सालिक निर्माणको शिलान्यास गरेका थिए । शिलान्यास रोक्न मधेस केन्द्रित दलका युवा विद्यार्थीहरुले प्रयास गरेका थिए । तर, असफल भए । उनीहरुले शिलान्यास गरे पनि निर्माण कार्य अगाडि बढाउन नदिने चेतावनी दिएका छन् ।

नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्रबाटै साह मेयरमा निर्वाचित भए । अहिले कांग्रेसमा फर्किसकेका उनले पार्टीकै बलमा विवादबीच भानुभक्त आचार्यको सालिक निर्माण गर्ने अडान लिएका छन् ।

जनकपुरधाम- १ स्थित चौबाटोमा २०६३ अगाडि नै भानुभक्त आचार्यको सालिक थियो । मधेस आन्दोलन चर्केका बेला आन्दोलनकारीले उक्त सालिक भत्काएर सहिद रमेश महतो चोक घोषणा गरेका थिए । तर, अहिले उपमहानगरपालिकाले पुनः भानुभक्त आचार्यको सालिक निर्माण अगाडि बढाएपछि आन्दोलन चर्केको हो ।

आन्दोलित युवा विद्यार्थीहरुले २०६३ सालकै घोषणाअनुसार उक्त चोकलाई सहिद रमेश महतो नामकरण हुनुपर्ने बताएका छन् । मधेस आन्दोलनको भावनाविपरीत सालिक निर्माण अगाडि बढे जस्तोसुकै कदम चालिने लोकतान्त्रिक युवा संघ धनुषाका अध्यक्ष प्रशान्त झाले चेतावनी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *