क्रिकेट संघमा अवसर पाए मप्रतिको विश्वासलाई फुलफिल गर्न सक्छु : पारस खड्का – Nepal Press
नेपाल टक

क्रिकेट संघमा अवसर पाए मप्रतिको विश्वासलाई फुलफिल गर्न सक्छु : पारस खड्का

पोखरा । सन् २०२१ अगस्ट ३ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिँदै गर्दा नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्कालाई नेपाल क्रिकेट संघ (क्यान) मा जाने धेरैले आकलन गरेका थिए । आगामी जेठभित्र क्यानको निर्वाचन गर्ने निर्णय भइसकेको छ । धेरैको आकलनअनुसार पूर्वकप्तान पारसले यसपालिको निर्वाचनमा आफ्नो दाबेदारी प्रस्तुत गर्लान् त ? सबैको चासोको विषय बनेको छ ।

विनोद दासको स्थानमा कप्तानी सम्हालेका पारसले नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय ऐतिहासिक मान्यता दिलाएका थिए । आधुनिक नेपाली क्रिकेटमा पारस सबैभन्दा सफल खेलाडी तथा कप्तान हुन् । उनै पारस खड्कासँग नेपाली क्रिकेट र उनको आगामी बाटोको विषयमा नेपाल प्रेसकर्मी रिखिराम जिसीले गरेको कुराकानीको सम्पादित अंशः

– तपाईंले छोड्दाको बेला र अहिले नेपाली क्रिकेटमा के फरक पाउनुभएको छ ?

अहिले क्रिकेट विकास गर्ने रिसोर्स चाहिँ विकास भएको छ । अहिलेका खेलाडीहरु नै हेरौं, अन्तिम एक महिनाका खेलहरु हेरौं, जुन खालको प्रदर्शन राष्ट्रिय टीमले गर्‍यो । धेरै सकारात्मक संकेतहरु देखिएका छन् । नेपाली क्रिकेटको राष्ट्रिय टीमको सेटअफ अन्तिम ७-८ वर्षमा राम्रै भएको छ । तर, त्योभन्दा बाहिर जुन हाम्रो रिसोर्सेसहरुमा चाहिँ अन्डर १९, महिला क्रिकेट टीम, अन्य जुनै पनि टीम, डोमेस्टिक क्रिकेट मैले बारम्बार भन्दै आएको कुरा घरेलु क्रिकेटको संरचनामा खासै परिवर्तन आएको छैन । राष्ट्रिय टीमको पर्फमेन्स इम्प्रुभमेन्ट भएको छ । तर, इम्प्रुभ हुनुपर्ने घरेलु क्रिकेटको संरचना अझै राम्रो होस् भन्ने इच्छा छ ।

– क्यान नेतृत्वको कामलाई कसरी लिनुभएको छ ?

सबै कुरा थुप्रिने क्रिकेट संघमै हो । राम्रो गर्दाखेरी जसरी क्रिकेट बढ्यो नि ! नराम्रो हुन्छ भने पनि त्यसको जिम्मेवारी उहाँहरुले नै लिने हो । नेपाल क्रिकेट संघ भनेपछि नेपालको सबै क्रिकेटसँग जोडिने भएको भएर चाहिँ अब संघ कसरी फङ्सनिङ गरिराछ/गरिराछैन भन्ने कुरा त्यो संघका पदाधिकारीहरुले नै जवाफ दिँदा ठीक हुन्छ होला । मेरो हिसाबमा नेपाली क्रिकेट जुन स्थानमा छ अहिले, यो अवस्थाबाट माथि जान अझै बढी प्रोएक्टिभ हुनुपर्ने हुन्छ । किनभने हामी एक महिनाअघिसम्म ओडीआई बच्छ कि बच्दैन भन्ने अवस्थामा थियौं । टीमको पर्फमेन्सले गर्दा ओडीआई जोगियो । पछि विश्वकप क्वालिफायर भएका छौं ।

तर, त्यसले मात्र हाम्रो क्रिकेट सुरक्षित भयो भन्नुभन्दा पनि मुख्य कुरा आगामी दिनमा जति गल्तीहरु भए त्यसलाई बिर्सेर राम्रो सोचविचार लिनुपर्छ । नेपाली क्रिकेटलाई माथि पुर्‍याउनुपर्छ भन्ने सोच, प्लान लिएर अगाडि बढ्नुपर्छ । त्यो भयो भने मात्र हामीले नेपाल क्रिकेट संघलाई मूल्यांकन गर्न सक्छौं कि कस्तो ठाउँमा छ र कस्तो ठाउँमा पुग्न सक्छ भनेर ।

नेपाली क्रिकेट जुन स्थानमा छ अहिले, यो अवस्थाबाट माथि जान अझै बढी प्रोएक्टिभ हुनुपर्ने हुन्छ । किनभने हामी एक महिनाअघिसम्म ओडीआई बच्छ कि बच्दैन भन्ने अवस्थामा थियौं ।

– नेपाली क्रिकेटमा सरकारको लगानी पर्याप्त छ कि छैन ?

सरकारले के गर्छ भनेर सोच्नुभन्दा पनि महत्वपूर्ण के हो भने गएको १५ वर्षमा नेपाली क्रिकेटको जुन अनफिल्ड पर्फमेन्सले प्राइभेट सेक्टरलाई एकदमै अट्याक्ट गरेको छ । नेपालमा ३ वटा फेन्चाइज लिग व्यवसायिक रुपले अलिकति प्रोफेस्नालिजम आएको छ । कति खेलाडी सम्झौतामा छन् । यदि हामीलाई साँच्चिकै व्यवसायिक सेटअपमा जानु छ भने अहिलेदेखि प्लान गर्नुपर्‍यो, के गर्दा ठीक हुन्छ, कसरी अगाडि बढ्ने भनेर ।

तर, महत्वपूर्ण कुरा भनेको ओभरअल क्रिकेट मेकानिजममा सबैको भूमिका उत्तिकै हुन्छ । खेलाडी, संघ, स्टेकहोल्डर । सबैजना मिलेर प्लान लिएर अगाडि बढ्ने हो भने नेपाली क्रिकेट राम्रो हसन्छ । सरकारले गर्न सक्ने भनेको स्टेडियम हो, भौतिक संरचना डेभेलप्मेन्ट हो । त्यसमा लगानी गर्नुपर्‍यो । अहिले नै ठूलो स्टेडियमभन्दा पनि खेल्न मिल्ने ग्राउन्डहरु यदि हामी बनाउँछौं, खेल्ने ७ वटा टप क्रिकेट खेल्ने ग्राउण्ड हुन्छ भनेपछि त्यो चाहिँ पहिलो प्राथमिकता हुन्छ । जसमा सरकारलाई हामीले ध्यानाकर्षण गराउनुपर्छ ।

– अहिलेका प्रतियोगिता र खेलको विकासले खेलाडीलाई खेलमै रमाउने वातावरण बनेको छ त ?

पहिलेभन्दा धेरै इम्पुभ भएको छ । राष्ट्रिय टीमसँग त्यो समस्या नै छैन । तर, त्यो संरचनाको ठ्याक्क रिफ्लेक्सन चाहिँ घरेलु स्टक्चरमा आउने हो भने बल्ल भनौं न । जिल्ला, प्रदेश र केन्द्रबाट खेलाएर खेलाडीहरुलाई सम्झौतामा बाँध्न सक्यौं भने उनीहरु निरन्तर रुपमा खेलिराख्न पाउँछन् । त्यसले कुनै निश्चित रकम जुन थोरै भए पनि म प्रोफेसनल सेटअफमा छु है भन्ने हुन्छ । खेलाडीमात्रै होइन प्रशिक्षकसमेत जिल्लाबाट प्रदेश हुँदै केन्द्रमा आउने, खेलहरु हुने, स्कोरर, अम्पाएर सबैजना सहभागी हुने वातावरण बनाउन सक्यौं भने मात्रै विकासको सुरुवात हुने हो ।

भविष्यमा नेपाल क्रिकेट संघमा मेरो कुनै पनि रोल हुनसक्छ भनेको थिएँ । त्यसमा म कसरी सहभागी हुन सक्छु त्यो इच्छा देखाएको हो । अब चुनावमा आएर जितिन्छ हारिन्छ, त्यो आफ्नो ठाउँमा छ । तर, क्रिकेटमा काम गर्न खासै कसैले रोक्दैन जस्तो लाग्छ ।

– नेपाल क्रिकेट संघमा हामीले तपाईंलाई देख्न पाउँछौं कि नाई अर्थात क्यानको आगामी निर्वाचनमा तपाईंको सहभागिता रहन्छ कि रहँदैन ?

कस्तो खालको अवसर आउँछ भन्ने कुरा हो । निश्चित म क्रिकेट खेलाडी । मैले रिटायरमेन्ट लिएँ । राष्ट्रिय खेलाडीको रुपमा मेरो यात्रा सकियो । त्यसपछि मैले क्रिकेट एकेडेमी सञ्चालन गरेको छु । क्रिकेट प्रतियोगिता आयोजना गर्ने प्लान छ । भविष्यमा नेपाल क्रिकेट संघमा मेरो कुनै पनि रोल हुनसक्छ भनेको थिएँ । त्यसमा म कसरी सहभागी हुन सक्छु त्यो इच्छा देखाएको हो । अब चुनावमा आएर जितिन्छ हारिन्छ, त्यो आफ्नो ठाउँमा छ । तर, क्रिकेटमा काम गर्न खासै कसैले रोक्दैन जस्तो लाग्छ । किनभने अब क्रिकेटले मलाई सबै कुरा दिएको छ । मैले कमाएको भनेको एउटा विश्वास हो । त्यो विश्वासलाई भोलि क्रिकेट संघमा आउन पाएँ भने अवश्य फुलफिल गर्नेछु ।

त्योबाहेक संघमा आउन सकिएन भने एकेडेमी खोलेर हुन्छ कि प्रतियोगिता आयोजना गरेर हुन्छ कि, जसरी हुन्छ नेपाली क्रिकेटलाई योगदान गर्ने हो । क्यानको बाटो भनेको ढिलो चाँडो होला । तर, ममात्र संघमा आएर हुँदैन । म जब क्रिकेट खेलिरहेको थिएँ, त्यो एउटा व्यक्तिभन्दा पनि टीम थियो । हाम्रो टीमको जुन स्पिरिट थियो, त्यसले गर्दा हामी यहाँसम्म आइपुगेका हौं । त्यसले गर्दा अहिलेका लागि टीमवर्क विकास गरेर अगाडि बढ्ने हो भने नेपाली क्रिकेटमा मलगायत अरु मान्छेहरु नि छन्, जसले राम्रो सोच लिएर अगाडि बढ्ने हो भने राम्रो नजिता ल्याउन सक्छौं ।

– अबको १० वर्षमा हामीले पारस खड्कालाई कुन भूमिकामा कहाँ देख्न पाउँछौं त त्यसो भए ?

यति लामो त मैले खेल्ने बेला पनि सोचेको थिएन । अहिलेको लागि नेपाली क्रिकेटलाई योगदान गर्ने, क्रिकेट संघमा आउने, आउन सकिएन भने पनि क्रिकेटमा काम गर्न खासै रोकतोक छैन । प्रदेशदेखि केन्द्रीय सरकारसम्म लिएर विभिन्न तहमा बसेर काम गर्न सकिन्छ । अहिले पनि क्रिकेट संघमा नहुँदा पनि कति प्र्रतियोगिता आयोजना गरिराखेका छौं । बाहिरबाट महिलाहरु बोलाएर प्रतियोगिता आयोजना गरेका छौं । संघमा आउन सकियो भने अझै धेरै काम गर्न सकिन्छ । त्योबाहेकको सोच राम्रो हुनुपर्‍यो । कसरी क्रिकेटलाई योगदान दिन सकिन्छ ? टीम राम्रो बनाएर अगाडि बढ्ने हो भने अझ राम्रो नतिजा ल्याउने काम गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर