एकाएक कसरी भासिए समिट अपार्टमेन्ट वरपरका घर ? (भिडिओ/तस्विर) – Nepal Press
स्थलगत रिपोर्ट

एकाएक कसरी भासिए समिट अपार्टमेन्ट वरपरका घर ? (भिडिओ/तस्विर)

नक्सापास नै नभएको भन्दै महानगरद्वारा कारबाहीको तयारी

काठमाडौं । ललितपुरको कुपण्डोल हाइटमा शनिबार बिहानदेखिको भीडभाड आज पनि घटेको छैन । यहाँ रहेको समिट होटल भत्काएर चार रोपनीमा बनाउन लागिएको समिट अपार्टमेन्टको काम भने रोकिएको छ ।

अपार्टमेन्ट निर्माणका क्रममा वरपरका घरहरु प्रभावित हुन थालेपछि काम रोकिएको हो । तीन महिनादेखि जग राख्न डोजरले खन्दै थियो । तर, अचानक शुक्रबार राति साढे १ बजे जग खन्दाखन्दै जमिन नै भासियो । अपार्टमेन्ट बनाउने जमिनमात्र नभएर छेउमै रहेको दुईवटा घर पनि भत्किएका छन् । सँगै निमार्णाधीन अवस्थामा रहेको पाँच तले घरको पहिलो तल्ला भासिएको छ । केही घर तथा होटल-रेस्टुरेन्ट चर्किएका छन् ।

सडक चिरा-चिरा परेर जति बेला पनि भासिने अवस्थामा पुगेको छ । भासिएको घर हेर्नेको घुइँचो लागेपछि ५० मिटर अगाडिदेखि नै सुरक्षा गार्ड राखेर बाटो बन्द गरिएको छ । दुई जना सुरक्षा गार्डलाई समेत भीड रोक्न हम्मेहम्मे छ ।

परबाटै हेर्दा पनि प्रस्ट देखिन्छ, दुईवटा रातो रंगका घर भूइचालोले भत्काएको जसरी लडेका छन् । छेउमा बनिरहेको पाँचतले घरको पहिलो एक तल्ला अहिले नै ढल्ला जसरी ढल्किएको छ ।

भासिएको घर हेर्न खोज्दै थिए एक स्थानीय । उनलाई बाटैमा गार्डले रोकेपछि आक्रोशित भएर भन्दै थिए, ‘के भएर भएको रहेछ भनेर हेर्न पाउनुपर्छ नि, हामीलाई पनि यसो ज्ञान हुन्छ ।’

पूर्ण रुपमा क्षति पुगेका दुई घरमध्ये एउटा घर यसअघि नै खाली गराइएको थियो । अर्को घर दुई महिनाअघि भाडामा दिइएको थियो । अहिले भत्किएको घरमा दुई महिनाअघिसम्म घरधनी नै बस्थे । तर, रातदिन डोजर र टिपर चलेर सुत्न नसक्ने भएपछि आफ्नै घरबाट विस्थापित भएका थिए घरधनी रञ्जन । घर खाली गरेर उनी आफू भाडामा बस्दै आएका थिए ।

केही महिनाअघि उनको घरका कोठामा बस्नेहरु भरिभराउ थिए । नयाँ निमार्णाधीन घर पनि भाडामा बस्न दिने तयारी थियो । झ्यालढोकामात्र हाल्न बाँकी थियो । तर, तीन महिनाअघिदेखि घर सँगैको खाली जग्गामा डोजरले खन्न थाल्यो । रातदिन डोजरको आवाज र टिपर गुड्ने भएपछि रञ्जनको घरमा बस्नेहरु कोठामा सरेर गए । नयाँ घरका कोठाको बुकिङ पनि रद्द हुन थाल्यो । रञ्जन आफैं पनि घरमा बस्न नसक्ने भए । अन्तै कोठा खोजेर बस्न बाध्य भए उनी । एउटा घर खाली भयो । अर्को घर भाडामा दिए । आईटी कम्पनी र एउटा फर्निचर पसलमा काम गर्ने राजेश यादव भाडामा बस्न थाले । राजेश नै उक्त राति घटना हुँदाका प्रत्यक्षदर्शी थिए ।

भारत घर भएका राजेश त्यहाँ भाडामा बस्न थालेको दुई महिना भएको थियो भने त्यही घरमा आईटी कम्पनीको अफिस बसेको एक महिनामात्र भएको थियो । शुक्रबार राति राजेश र आईटी कम्पनीमा काम गर्ने दुई जना युवा थिए । उनीहरु तीनै जना शुक्रबार राति अहिले भत्किएको घरमा सुतिरहेका थिए ।

राजेशले त्यस रातको घटना फेहरिस्त सुनाए । उनलाई केही दिनदेखि डर त लागिरहेको थियो राति त्यहाँ सुत्न । तर, जाने ठाउँ अन्यत्र थिएन । शुक्रबार राति साढे ९ बजे उनी कामबाट फर्केर खाना खाँदै थिए । कटकट आवाज आइरहेको थियो । खाना खाएर उनी साथीको बर्डथे मनाउन गए । १२ बज्न लागेको थियो कोठामा आइपुग्दा । त्यतिञ्जेल पनि कटकट आवाज आएपछि उनी खन्दै गरेको ठाउँमा गए । घर भासिँदै ढल्न लागेको देखेपछि आत्तिए ।

राजेश त्यतिबेलाको अवस्था सुनाउँछन्, ‘आवाज आइराखेपछि उठेर हेर्दा तलको भासिइसकेको रहेछ । जुनसुकै बेला यो घर ढल्नसक्छ भनेर आईटीका दुई जनालाई उठाएँ । अब भित्र नबस्ने भनेर उनीहरु निस्किए । म कहाँ जाउँ त ? राति भइसकेको थियो । सवा १ बजे सुरुमा म सुत्ने घर खस्यो । अर्को घर ढल्यो । त्यसपछि सेतो घर पनि एक तल्ला भासियो । छेउछाउको सबै भासियो । त्यसपछि मैले पुलिसलाई फोन गरें ।’

घरभित्र १४ वटा ग्यास सिलिण्डर थियो । घर ढलेपछि ग्यास पो पड्किने हो कि भन्ने डर उनलाई थियो ।

राजेशका अनुसार घर ढल्दा भूइचालो गएको जस्तो बडाङबुुडुङ आवाज आएको थियो ।

‘पुरानो रातो घर खस्दा म त्यही थिएँ । जब यो नयाँ घर खस्न लाग्यो त्यसपछि भागें’, उनले सुनाए । उनका अनुसार घरहरु एकैचोटी ढलेकोे होइन । तीनचार दिनदेखि विस्तारै विस्तारै घर भासिँदै गरेको उनको भनाइ छ ।

भासिन थालेको देखेदेखि नै राजेशलाई सुत्न डर लागेको थियो । तर, जाने ठाउँ थिएन । त्यो पनि राति ९ बजेदेखि डोजर चलिराखेको थियो । दिउँसो भत्किएको भए धेरैको ज्यान जान सक्थ्यो ।

त्यसयता राजेश निदाउन सकेका छैनन् । अहिले साथीको कोठामा आश्रय लिइरहेका छन् । उनी आइतबार पनि भत्किएको घर टाढैबाट चियाउँदै थिए । उनले कोठाको सामान केही निकाल्न पाएका छैनन् । कतै रेस्क्युको टोली आएर कोठाको सामान पो निकालिदिन्छन् कि भनेर दिनभर त्यही घुमिरहन्छन् । दुःख गरेर जोडेको सामान छ उनको । उनले हिजै रेस्क्यु टीमलाई आफनो कोठाको सामान निकालिदिन आग्रह गरेका थिए । तर, रेस्क्यु टीमले दिएको उत्तरले उनी निराश छन् ।

‘रेस्क्यु टीम आएर केही गरेन । डर लाग्छ भने’, उनले सुनाए । उनीसँगै आइतबार आईटी कम्पनीका सञ्चालक पनि आफ्नो लाखौंको सामान निकालिदिन्छन् कि भनेर घुमिरहेका थिए । उनको एक महिनाअघि खुलेको विज्ञापनसम्बन्धी काम गर्ने आईटी कम्पनी थियो । आफ्नो सामान निकालिदिन पटकऔपटक आग्रह गर्दा पनि कसैले नसुनेको गुनासो उनको छ । सञ्चालकले त्यहाँ क्याफे चलाउन खर्चसमेत गरेका थिए । रासनको सामान पनि भूई तलामा राखेका थिए । केही निकाल्न पाएनन् । महँगो क्यामेरा निकाल्न नपाएपछि उनी दुःखी छन् ।

उनी एक कुनामा बसेर दुःखेसो पोख्दै थिए, ‘त्यहाँ लाखौं पर्ने क्यामेरा डाटाहरु थिए । मेरो कतिवटा ग्राहकको काम थियो । कति क्षति पुगेको छ । महिनाभरिको रासन सामान थियो । एकदम अटेर गरेर बसेको छ । त्यो डाटाहरु त बचाइदिनुस् भनेर रातिको १०-११ बजेसम्म बसें । कसैले वास्ता गरेन’, उनको पनि रेस्क्यु टीमसँग गुनासो रहेछ ।

सामान निकालिदिन आग्रह गर्दा ‘ग्यास पड्किन लागेको छ, बत्ती छैन’ भनेर टारेर बसेको उनले बताए ।

कालोमाटो भएको ठाउँमा ३० फिटसम्म खनियो

पुरानो समिट होटलतर्फ खनिएको छैन । अण्डरग्राउण्डका लागि तीन तल्लासम्म खनिएको थियो । सुरुमै रञ्जनको घर भएकोतर्फ एकतर्फी रुपमा ३० फिटसम्म गहिरो खनियो । अहिले खनेको ठाउँमा हिलो माटो छ । जसको कारण घर भासिन पुग्यो ।

इञ्जिनियरहरुका अनुसार हिलो भएको ठाउँमा भित्रबाट माटो बाहिर काटेर फाल्दा घर दबिँदै जान्छ । घर भासिनुको कारण नै कालो माटो भएको ठाउँमा गहिरो खनेर हो । माटो सबै बाहिर फाल्दा घर भएतर्फको माटो पनि बग्न पुग्यो र घर कमजोर हुँदा भासियो । कालो माटो भएको ठाउँमा भवन बनाउँदा एकदमै जोखिम हुन्छ ।

खाली गराउन थालियो घर, होटल केही बिक्रीमा

रविभक्त श्रेष्ठ अध्यक्ष रहेको एनए ग्रुप, विनोद चौधरीको चौधरी ग्रुप र व्यवसायी अमृतरत्न शाक्यको संयुक्त लगानीमा गत वर्षको भदौदेखि द होटल समिट एण्ड रेसिडेन्ट सुरु गरिएको थियो । यो परियोजना ६ अर्ब लागतको हो ।

त्यहाँ सबैभन्दा बढी क्षति रञ्जनको भएको छ । साथै वरपरका छिमेकीको पनि घर चर्किएको छ । छेउमा रहेको होटल ग्रिनविल भिलेजको धेरै भाग चर्किएपछि होटल नै खाली गराइएको छ ।

त्यस्तै वरपरका बस्ती खाली गराउन थालिएको छ । समिट अपार्टमेन्ट छिर्ने बाटोको रेस्टुरेन्ट बिक्रीको लागि राखिएको छ ।

स्थानीयका अनुसार भवन बनाउँदा स्थानीयलाई जानकारीसमेत दिइएन । नक्सापास गर्न वरपरका बासिन्दाहरुको पनि सहमति चाहिन्छ । तर, स्थानीयसँग कसैले पनि साक्षी सहमति लिएको छैन ।

नक्सा पास नगरी निर्माण

ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बर्जाचार्यको अध्यक्षतामा पीडित र सम्बन्धित पक्ष राखेर महानगरपालिकाको प्रतिनिधिसहित कमिटी गठन गरिएको छ । परियोजनाबाट प्रभावित व्यक्तिहरुको समस्या सम्बोधन गर्न तत्कालका लागि एक करोड रुपैयाँको र्‍यापिड कोष स्थापना गर्ने निर्णय गरिएको छ ।

महानगरपालिकाले नक्सा स्वीकृत नगरी निर्माण गरिएको देखिएको विषयमा सम्बन्धित पक्षलाई कानूनबमोजिम हदैसम्म कारबाही गर्ने निर्णय गरेको छ । अब परियोजनाको काम रोकिने महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाईंले नेपालप्रेसलाई बताए ।

उनले भने, ‘हामी तुरुन्तै एक्सनमा गइसक्यौं । मेयरसाबले यस्तो कुराहरुमा तुरुन्तै एक्सन लिइहाल्नुहुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *