प्यारालाइसिस शरीर बोकेका वडाध्यक्ष, थलाबाटै सेवा दिइरहेका छन् कृपालाल (भिडिओ) – Nepal Press

प्यारालाइसिस शरीर बोकेका वडाध्यक्ष, थलाबाटै सेवा दिइरहेका छन् कृपालाल (भिडिओ)

सुर्खेत । कालिकोट पचालझरना गाउँपालिका-३ का वडाध्यक्ष कृपालाल कठायत हिँड्डुल गर्न सक्दैनन् । पूर्वलडाकु कृपालाल युद्धकालमा शरीरमा लागेको गोलीका कारण थला परेका हुन् । गोली झिक्न पटकपटक गरिएको अप्रेसन पनि सफल भएन । उल्टै प्यारालाइसिससम्म पुर्‍यायो उनको ज्यानलाई ।

तर, कृपालालले हिम्मत हारेनन् । प्यारालाइसिसकै अवस्थामा उनले गत वैशाख ३० को चुनावमा चुनाव जिते । ४८ वर्षीय उनी अहिले ओछ्यानबाटै जनतालाई सेवा दिइरहेका छन् । दिसापिसाबका लागि शौचालय पनि जान सक्दैनन् उनी ।

२०६२ साल चैत २५ गते कपिलवस्तुको तौलियामा सेनाको ४ गोली लागेर उनी घाइते भएका थिए । कृपाको पेट, ढाड र तिघ्रामा गोली लागेको थियो । गोली निकाल्न गरिएको तीन पटक अप्रेसन गरियो । भारतको पन्जावमा २ वटा र ढाडको २ वटा गोली लखनउमा निकालिएको थियो । नेपालगञ्जमा पनि उनको पछि अप्रेसन गरियो ।

भीडन्तको क्रममा आन्द्रा नै बाहिर निस्केको उनी सुनाउँछन् ।

‘म भाग्यले बाचेको हुँ । तर, अहिले थला परेँ । र, पनि ज्यान रहेसम्म जनताकै लागि खट्छु । जनताले साथ पनि दिएका छन्’, कृपालाल भन्छन् ।

गएको वैशाख ३० को स्थानीय चुनावमा उनले जम्मा ३३६ मत ल्याएर वडाध्यक्ष जितेका थिए । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धनसिंह ऐडी २ सय मतमा रोकिएका थिए ।

अध्यक्ष कठायतले घरमा बसेर जनताको काम गरिदिन्छन् । सेवाग्राही पनि उनकै घरमा काम लिएर आउँछन् । कार्यपालिका बैठकमा उनले वडाका अन्य प्रतिनिधिलाई पठाउँछन् । गाउँपालिका प्रमुख-उपप्रमुखदेखि कर्मचारीले उनीसँग कामबारे फोनबाट परामर्श लिन्छन् ।

यस्तै, युद्धकालदेखिकै कठायतका सारथि हुन् गाउँपालिकाका पूर्वअध्यक्ष विश्वप्रकाश सेजुवाल । कृपालाई चुनावमा टिकट दिलाउनेदेखि प्रचारप्रसार र हिजोआज नियमित काममा समेत विश्वप्रकाशले निरन्तर साथ दिइरहेका छन् ।

कठायतलाई स्टेचरमा बोकेर भोट माग्दै हिँडेका थिए उनी ।

कठायतलाई ‘जिउँदो सहिद’ को संज्ञा दिँदै विश्वप्रकाश भन्छन्, ‘उहाँकी बहिनीको पनि त्यही लडाइँमा मृत्यु भएको थियो । बहिनीको मृत्यु भएको चार दिनपछि कठायतलाई गोली लागेर आन्द्रा नै बाहिर आएका थिए । उसले मृत्युसँग लडेर पाएको जीवन हो ।’

लडाइँको क्षण सेजुवालले यसरी सुनाए

तौलिहवामा अन्तिम लडाइँको तयारी भयो । मेरो जिम्मेवारी कोही ढले अथवा साधक (मृत्यु) भए त्यो हेर्ने थियो । चिनजानकै आधारमा उपचार ढिलोचाँडो हुन्थ्यो । पानीपानी भन्दै बर्बराइरहेकाको उद्धार गर्न जाँदा त आफ्नै ठाउँको साथी, चिनिहालेँ । उसको बहिनीको पनि मृत्यु भएको चार दिनमात्र भयो अब दाइको पनि त्यही हालत हुने भयो । म कसरी फर्किन्छु होला भन्ने भयो । त्यहाँका दुई स्वास्थ्यकर्मीलाई ब्यान्डेज गरेर आन्द्रालाई भित्र पार्दिन भन्दै म लडाइँमा फर्किएँ । लडाइँ सकिएपछि गम्भीर बिरामीलाई भारत पठाउने र सामान्य बिरामीलाई आफैसँग लिएर जाने थियो ।

कठायतलाई उपचारको लागि भारत पठाएपछि सम्पर्क टुटेको भन्दै उनले भने, ‘पछि शान्ति प्रक्रियामा आइसकेपछि बाबुराम भट्टराई नेपालगञ्जमा सम्बोधन गर्न आउनुभएको थियो । त्यहाँ सुरक्षाका लागि मेरो नेतृत्वमा २५/३० जना थियो । त्यही कार्यक्रममै आए कृपा मलाई सबैभन्दा धेरै खुसी भएको पल त्यही हो ।’

सुरूमा उपचारपछि फर्किँदा ठिकै भएपनि पछिल्ला अप्रेसनले प्यारालाइसिससम्म पुर्‍याएको कृपा बताउँछन् ।

‘सरकारले अहिलेसम्म उपचारमा सहयोग गरेको छैन । १८ लाख खर्च भइसकेको छ’, अध्यक्ष कठायत भन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर