उपत्यकाका क्याम्पसमा दर्ता भएको स्वतन्त्र विद्यार्थी समाज कस्को हो ? चुनावमा चमत्कार गर्ने दाबी – Nepal Press

उपत्यकाका क्याम्पसमा दर्ता भएको स्वतन्त्र विद्यार्थी समाज कस्को हो ? चुनावमा चमत्कार गर्ने दाबी

काठमाडौं । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भाग लिन राजनीतिक दलका भातृ संगठनहरुबाहेक अर्को एउटा समूहले समेत काठमाडौं उपत्यकाका सबै क्याम्पसमा संगठन दर्ता गराएको छ ।

नेपाल स्वतन्त्र विद्यार्थी समाजको नामबाट उपत्यकाका केन्द्रीय क्याम्पस कीर्तिपुर, आर आर क्याम्पस, त्रिचन्द्र, शंकरदेव लगायत सबै ३५ वटा क्याम्पसमा संगठन दर्ता गरेको हो ।

चुनावी प्रयोजनको लागि दर्ता भएको नेपाल स्वतन्त्र विद्यार्थी समाजको अध्यक्षमा तुफान विश्वकर्मा रहेका छन् । उनले आफ्नो संगठन कुनै पनि पार्टीको भातृ संस्था नभएको तर यसले आउने चुनावमा चमत्कारिक परिणाम ल्याउने दाबी गरेका छन् ।

विकले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्- दलीय भातृ संघ संगठनले दुर्गन्धित बनाएको विश्वविद्यालयलाई निकास दिन उपत्यकाका महत्त्वपूर्ण क्याम्पसहरुमा हाम्रो संगठन दर्ता भएको छ ।

विभिन्न विद्यार्थी संगठनहरुमा आबद्ध भएका तर उपेक्षामा परेका सबै विद्यार्थी नेताहरूलाई समेत संगठित गरेर शैक्षिक मुद्दामा केन्द्रित हुने उनले बताएका छन् । कतिपयले यसलाई नेविसंघको विद्रोही समूह भने पनि विकले आफूहरू कुनै पनि दलमा आबद्ध नरहेको प्रष्ट पारेका छन् ।

नेविसंघबाट भने कीर्तिपुर क्याम्पससहित आरआर, नेपाल ल, त्रिचन्द्र, मिनभवन लगायतका क्याम्पसमा अलग अलग संगठन दर्ता भएका छन् ।

स्वतन्त्र विद्यार्थी समाज राजनीतिभन्दा बाहिर रहेकाले यो चुनावमा सबै कलेजमा उम्मेदवारी दिइने र जित्ने दाबी विकले गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर