प्रधानसेनापति शर्माले गरे पूर्वप्रधानसेनापति शिवराम सिंह बस्न्यातको शालिक अनावरण – Nepal Press

प्रधानसेनापति शर्माले गरे पूर्वप्रधानसेनापति शिवराम सिंह बस्न्यातको शालिक अनावरण

काठमाडौं । शंखरापुर नगरपालिका वडा नं ३ को जहरसिंपौवामा प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका पूर्व प्रधानसेनापति शिवराम सिंह बस्न्यातको पूर्ण कदको शालिक अनावरण गरेका छन् ।

सो शालिकको २०७७ सालमा पूर्व प्रधानसेनापति पूर्ण चन्द्र थापाले शिलान्यास गरेका थिए । सो अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपालको इतिहास निर्माणमा नेपाली सेनाको उल्लेखनीय भूमिका रहेको बताए ।

वि. सं १७७१ सालमा गोरखामा जन्मेका नेपाली सेनाका पूर्व प्रधानसेनापती बडावीर शिवराम सिंह बस्न्यातले नेपाल एकीकरणका समयमा १८०३ फागुन ५ गते हालको काठमाडौं जिल्ला शंखरापुर नगरपालिका वडा नं ३ को साँगाचोकको द्वारेटोलमा वीरगती प्राप्त गरेको इतिहासमा उल्लेख छ । उनी नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहका प्रथम सेनापती समेत रहेको बताइन्छ ।

श्रीपाली बस्न्यात समाजले करिव २२ लाख रुपैयाँ लगानीमा निर्माण गरेको सो शालिक ढलौटबाट बनेको श्रीपाली बस्न्यात समाजका अध्यक्ष निरन्जन मान सिंह बस्न्यातले बताए ।

शंखरापुर नगरपालिका वडा नं ३मा सो शालिक,पार्क तथा सैनिक संग्राहलय निर्माणका लागि करिव ३ रोपनी जग्गा उपलब्ध गराईएको शंखरापुर नगरपालिका वडा नं ३ का निवर्तमान वडा अध्यक्ष सन्त बहादुर वाईबाले बताए ।

सो कार्यक्रममा श्रीपाली बस्न्यात समाजका सदस्य, पूर्व तथा बहालवाला नेपाली सेनाका अधिकारी, प्रहरी तथा सशत्र प्रहरी अधिकारी, शंखरापुर नगर प्रमुख, वडा अध्यक्ष तथा पूर्व जनप्रतिनिधि, स्थानियबासीको उल्लेख्य उपस्थिति थियो । यो शालिक निर्माणले जहरसिंपौवाको पर्यटकीय विकासलाई टेवा पुर्याउने बताईएको छ ।

कार्यक्रममा शालिक निर्माणका क्रममा सहयोग पुर्याउनुहुने विभिन्न महानुभावलाई सम्मान गरिएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *