राज्यकोषमा रामवरणको दोहन, ‘सेतो हात्ती’ बन्दै प्रथम राष्ट्रपति – Nepal Press

राज्यकोषमा रामवरणको दोहन, ‘सेतो हात्ती’ बन्दै प्रथम राष्ट्रपति

काठमाडौं । प्रथम राष्ट्रपति रामवरण यादवले गत वर्ष बिहान-बेलुका खानै समस्या भएको भन्दै राज्यकोषबाट १० लाख रुपैयाँ लिए । उनले बितेका ६ वर्षमा लिएको यो सबैभन्दा कम रकम थियो ।

राष्ट्रपतिबाट अवकाश भएपछि सरकारले गाँस, बास र कपाससमेत उपलब्ध गराइरहँदा पनि यादवको लोभको घडा भने भरिएको छैन । पहिलो राष्ट्रपति नै राज्यका लागि सेतो हात्ती पाल्नुसरह भएको छ ।

दोस्रो, वर्तमान राष्ट्रपतिले पनि सोहीअनुसार राज्यकोषबाट रकम लिने हो भने के होला ? यद्यपि विद्यादेवी भण्डारीले राष्ट्रपतिबाट अवकाश भएपछि राज्यको सुविधा नलिने भन्दै आफ्नो घर पुनर्निर्माण गराइरहेकी छन् ।

नेपालमा उच्च पदस्थ पूर्वपदाधिकारीहरुलाई सरकारले सुविधा दिने चलन रहेको छ । जसमा पूर्वराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उच्च अधिकृत, सुरक्षा निकायका प्रमुखहरु आदि पर्दछन् ।

नेपालमा संघीय शासन प्रणाली सुरु भएसँगै आमजनतामा एक किसिमको आशाको सञ्चार भएको थियो । घरघरमा सिंहदरबार पुग्ने भरोसामा रहेका जनतालाई संघीयताको व्ययभारले कहिलेकाहीं दिक्दारीमात्रै होइन ‘एटोक्रेटिक नोस्टाल्जिया’ हुने गरेको छ । जसको फलस्वरुप राजतन्त्रकै वकालत हुने गर्छ ।

यसमा मूल कारण भने सत्ताको बागडोर सम्हालेकाहरुलाई अवकाशपछि दिइने सेवा सुविधा हो । राजाले राज्यको दोहन गरे भनेर चर्को आलोचना भइरहँदा गणतन्त्रका हिमायतीहरुले पनि उस्तै कार्यशैली देखाएको गुनासो आउनु अस्वाभाविक होइन ।

त्यही क्रममा नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव (वि.सं २०६५-२०७२) ले पदमुक्त भएपछि हालसम्म पटकपटक गरेर ५ करोड रुपैयाँभन्दा बढी लिइसकेका छन् ।

यादवका लागि हालसम्म कति भयो खर्च ?

उनलाई दैनिक जीवनयापनमा घरबहालको खर्चदेखि स्वास्थ्योपचारका लागि सरकारले रकम उपलब्ध गराउँछ । उनले हालैमात्र सरकारसँग दैनिक जीवनको गुजारा नै चल्न र खानै समस्या भएको भनेर रकम माग गरेका थिए । यादवको अनुरोधलाई स्वीकार्दै सरकारले २०७९ असोजमा १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

२०७२ सालमा अवकाश पाएका यादवलाई २०७३ असोजमा अमेरिकामा प्रोटेस्ट क्यान्सरका लागि लागेको सबै उपचार खर्च सरकारले व्यहोरेको थियो । जसमा ३ करोड लागेकोमा ६० लाख रुपैयाँ पेश्की दिइएको थियो ।

त्यसका अतिरिक्त सरकारले यादवलाई आउने जाने बिजनेश क्लास टिकट, दैनिक ३०० डलर भत्ता व्यवस्था गरेको थियो । त्यसक्रममा तीनजना सहयोगीलाई आउनेजाने टिकटसहित दैनिक १५० डलर प्रदान गरिएको थियो ।

त्यसैगरी थप सुविधाका लागि २०७५ माघमा सरकारले पूर्वराष्ट्रपति यादवलाई २० लाख रुपैयाँ प्रदान गरेको थियो ।

त्यस्तै २०७६ असोजमा यादवको उपचारकै शीर्षकमा दिल्ली दूतावासलाई पनि ६० लाख रुपैयाँ दिइएको थियो । बिलबमोजिमको रकम भुक्तानी गर्ने क्याबिनेट निर्णयले कति रकम भुक्तानी भएको हो, यकिन तथ्य आएन । २०७८ मंसिरमा थप १० लाख रुपैयाँ राज्यले यादवलाई प्रदान गरेको थियो ।

यादवको प्रोस्टेट क्यान्सरको उपचारका लागि २०७९ कात्तिक ३ गतेको क्याबिनेटले थप २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो ।

यी त भए सरकारले पूर्वराष्ट्रपति यादवलाई विशेष अवस्थामा प्रदान गरेका नगद सुविधा । वास्तवमा मासिक रुपमै यादवलाई सरकारले विभिन्न अन्य दैनिक जीवनयापनका लागि रकम उपलब्ध गराउँदै आएको छ ।

जसमा सुरक्षाकर्मीदेखि घरबहाल रकमसम्म रहेका छन् । सरकारले उनलाई मासिक ६० हजार भत्ता दिने गर्छ । घरभाडाका लागि २ लाख रुपैयाँसम्म दिने प्रावधान छ । त्यतिमात्र होइन गाडी, चालक, बिजुली खर्च, दुई दर्जन सुरक्षाकर्मी, सहयोगी तथा एकजना उपसचिवसमेत पूर्वराष्ट्रपति यादवले पाउँछन् ।

के यादव सेवा लिने अवस्थाकै हुन् त ?

हुन त उनी आफैं पनि चिकित्सक हुन् । त्यतिमात्र नभएर उनका छोराछोरी आआफ्नो पेशामा स्थापित छन् । उनको पहिलेदेखि नै आम नेपाली नागरिकभन्दा माथिल्लो स्तरको जीवनशैली रहेको थियो । सामान्यतया उनले सरकारको सुविधा नलिँदा पनि गर्जो टर्न गाह्रो हुने अवस्था छैन ।

तर, यदि माग्दा पाइन्छ भने किन नमाग्ने भन्ने मानसिकता पो हो कि ? हुन त उनले देश र लोकतन्त्रका लागि योगदान दिएका छन् भन्ने तर्क पनि होला ! तर, त्यही योगदानकै कदरस्वरुप उनी नेपालको पहिलो राष्ट्रपनि बन्न सफल हुनु आफैंमा ऐतिहासिक सम्मान होइन र ?

विदेशमा के छ चलन ?

विकसित मुलुकको अभ्यास हेर्ने हो भने आफ्नो पदबाट बाहिरिएपछि आम नागरिकको रुपमा पूर्वशासकहरुले जीवनयापन गर्छन् । उदाहरणका रुपमा शक्तिशाली देश अमेरिकाका बाराक ओबामा राष्ट्रपतिको दोस्रो कार्यकालबाट बिदा भएपछि रेस्टुरेन्टमा काम गर्न थालेको समाचार आएका थिए ।

त्यसैगरी केही समयअघि मात्रै जर्मनीका एक मन्त्री आफ्नो पद गुमेपछि डेलिभरी ब्वाइको रुपमा काम गरेका भिडिओ/तस्बिर सार्वजिनक भएको थियो ।

यस्ता विश्वव्यापी उदाहरणबाट सिक्दै नेपालका नेतृत्वले आजीवन सेवा सुविधा लिनेभन्दा पनि त्यसमा खर्च हुने ठूलो रकमको सदुपयोग हुन जरुरी छ । जसलाई गरिबीका रेखामुनि रहेका नागरिकको आधारभूत आवश्यकतामा टेवा पुग्ने कार्य गर्नुले देशको समग्र विकासलाई गति दिन सक्छ ।

उसो त विश्वका अधिकांश मुलुकमा पूर्वउच्चपदस्थ पदाधिकारीलाई निश्चित सेवा सुविधा दिने चलन रहेको छ । अमेरिकामा पनि त्यस्तो सुविधा छ । तर, मनलाग्दो भने छैन । निश्चित नीति र ऐनमा रहेर त्यहाँको सरकारले पूर्वराष्ट्रपतिलाई सुविधा प्रदान गर्छ जुन एकजना सांसदसरहको सुविधा हुन आउँछ ।

बाराक ओबामाले वार्षिक रुपमा २ लाख १९ हजार अमेरिकी डलर प्राप्त गर्छन् । त्यस्तै डोनाल्ड ट्रम्पले वार्षिक २ लाख २१ हजार डलर पाउँछन् । त्यतिमात्र होइन विभिन्न शीर्षकमा उनीहरुले धेरै सुविधा प्राप्त गर्छन् ।

त्यस्तै जर्मनीका पूर्वचान्सलर एन्गेला मर्केलले पेन्सनस्वरुप मासिक १९ हजार ६०० अमेरिकी डलर प्राप्त गर्छिन् । अन्य देशले पनि निश्चित कानून र मापदण्डका आधारमा पूर्वराष्ट्रपति, प्रधानमन्त्रीहरुलाई सुविधा प्रदान गर्छ । तर, नेपालको हकमा भने सरकारले ‘मुड’अनुसार सुविधा दिइनु गलत नजीर हो । आवश्यकताअनुसार ऐन बनाएर सेवा दिने विषयलाई वस्तुनिष्ठ बनाउनुपर्छ ।


प्रतिक्रिया

3 thoughts on “राज्यकोषमा रामवरणको दोहन, ‘सेतो हात्ती’ बन्दै प्रथम राष्ट्रपति

  1. केपी ओलीले जति त् अझै भ्याएको रहिन्छ।

  2. यी सबै जनताका नोकर हुन। नोकरी गरुन्जेल बाहेक पछि केही पनि सुबिधा दिनुहुन्न । अमेरिकाको कुरा गर्छ्न यहाँ तर अमेरिकी पुर्ब राष्ट्रपतिले के के सुबिधा लिन्छ्न बुझ्न जरुरी छ ।

  3. बिल्कूल गलत अभ्यास।कुनै पनि सुविधा दिनु जरुरी हैन।यदि यो साचो हो भने डा.रामवरण यादव ज्यू कामै नलाग्ने घाँडो सावित हुनुभो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर