चिकित्सकहरूको आन्दोलनले बिरामी मारमा, डायलासिस सेवा पनि पाएनन् (तस्बिरहरू) – Nepal Press

चिकित्सकहरूको आन्दोलनले बिरामी मारमा, डायलासिस सेवा पनि पाएनन् (तस्बिरहरू)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा ट्रमा सेन्टरका एक चिकित्सकमाथि प्रहरीले गरेको हातपातको विरोधमा आज देशभरिका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरिएका छन् ।

नेपाल चिकित्सक संघको शनिवार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले गरेको यो निर्णयले बिरामीहरू मारमा परेका छन् ।

दीर्घ रोगी, जटिल प्रकारका बिरामी बढीमा समस्यामा रहेका छन् ।

आन्दोलनकारी चिकित्सकहरूले आकस्मिक सेवा सुचारु हुने बताए पनि डायलासिसका लागि आएका बिरामीले समेत सेवा पाउन सकेका छैनन् ।

रौतहटबाट आफ्नो श्रीमानको डायलासिस गर्न भनेर वीर अस्पताल आएपनि डाक्टरहरूले आज नहुने जवाफ दिएको जयरानी सहनीले बताइन् ।

यसअघि चार पटक वीर अस्पतालमा नै श्रीमानको डायलासिस गरेको तर आज आन्दोलनका कारण समस्या भएको उनको भनाई छ ।

उनीमात्रै होइन उपचारका लागि काठमाडौं आएका बिरामी र उनीहरूका आफन्त मारमा परेका छन् ।

सङ्घले यही माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको विरोधमा आज देशभरि नै आकस्मिक सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको थियो ।

आन्दोलनका कार्यक्रमलाई फिर्ता लिई नियमित काममा फर्कन स्वास्थ्य मन्त्रालयले सङ्घलाई अनुरोध गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर