हवाई इन्धन डिपोविनै कसरी सञ्चालनमा आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ? – Nepal Press

हवाई इन्धन डिपोविनै कसरी सञ्चालनमा आयो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ?

काठमाडौं । हवाई इन्धन डिपोविनै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विभिन्न प्रश्न उठ्न थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बडो तामझामका साथ गएको पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गरेका थिए ।

उड्डयनविज्ञहरुका अनुसार विमानस्थलभित्र इन्धन डिपो नहुँदा अन्तर्राष्ट्रिय जहाजहरु आउन मान्दैनन् । त्यस्तै विमानस्थलमा आउने जहाजहरुलाई समयमै आवश्यक इन्धन पुर्‍याउन पनि समस्या हुनसक्ने उनीहरु बताउँछन् । उनीहरुका अनुसार इन्धन डिपोविना कहीं पनि विमानस्थल सञ्चालनमा आउँदैन । जुन नेपालमा आयो, त्यो पनि अन्तर्राष्ट्रिय विमानस्थल ।

अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि ७ किलोमिटर दूरीमा रहेको पुरानो पोखरा विमानस्थलबाट इन्धन ल्याउने गरिएको छ । तर, उक्त हवाई इन्धन बोक्ने गाडी (रिफ्युलर) ले रुट पर्मित लिएका छैनन् । ती गाडी इक्युपमेन्ट भनी खरिद गरिएको थियो । जसबाट जहाजमा इन्धन भर्ने गरिएको छ ।

यी रिफ्यलर इक्युपमेन्ट भनी भन्सार नतिरेर ल्याइएको थियो । उक्त रिफ्युलर यातायात व्यवस्था कार्यालयमा दर्तासमेत नभएको बताइएको छ । जसले गर्दा रिफ्युलरको रोड पर्मिटसमेत छैन । रिफ्युलरले रोड पर्मिटविना दैनिक इन्धन ढुवानी गरिरहेको छ ।

नेपाल आयल निगमले इन्धन डिपो निर्माण नगर्दा पोखराको पुरानो विमानस्थलबाट रिफ्युलरले इन्धन ल्याएर जहाजमा हाल्ने गरिएको छ । निगमका अनुसार २ वटा रिफ्युलरबाट अहिले हवाई इन्धनको व्यवस्था भइरहेको छ ।

पोखरा विमानस्थलसँग ४ वटा रिफ्युलर छन् । २ वटा धेरै ठूलो भएकाले सञ्चालन हुन सकेको छैन । ११ हजार लिटर क्षमता भएका २ वटा रिफ्युलरले विमानस्थलका जहाजमा इन्धन भर्ने गर्दै आएका छन् ।

आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण पूरा नभएकाले पुरानो विमानस्थलबाट रिफ्युलरमार्फत इन्धन ल्याएर व्यवस्थापन भइरहेको बताए ।

उनले भने, ‘विमानस्थलका लागि इन्धन ट्यांकी बनाउने काम भइरेहको छ । ठेक्का प्रक्रियामा केही समस्या आएकाले विमानस्थल सञ्चालन हुनुपूर्व नै इन्धन ट्यांकी निर्माण हुन नसकेको हो । अहिले ठेक्का प्रक्रिया पूरा भएर काम पनि सुरु भएको छ । अबको २ वर्षभित्र इन्धन ट्यांकी निर्माण हुनेछ ।’

तर, आयल निगम स्रोतले भने निगमका कर्मचारीको द्वन्द्वले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो नबनेको बताउँछ । विमानस्थलमा २ वर्ष अगाडि नै इन्धन डिपो निर्माण प्रक्रिया अघि बढेको थियो ।

के हो नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मापदण्ड ?

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नयाँ विमानस्थल निर्माणसम्बन्धी मापदण्ड २०७३ को प्रस्तावनामै नयाँ विमानस्थल निर्माणको लागि आवश्यकताको पहिचान भएपछि सम्भाव्यता अध्ययनका अतिरिक्त निर्माण पूर्वका चरण, निर्माण अवधि र सञ्चालन अवधिमा आवश्यक पर्ने पूर्वाधार निर्माणसम्बन्धी कार्यलाई व्यवस्थित एवं योजनाबद्ध बनाइ निर्माण प्रक्रियालाई मार्गनिर्देश गर्दै निर्माणपश्चात प्राविधिक रुपमा चुस्त एवं लागत प्रतिफल एकिन गरी दीर्घकालीन रुपमा विमानस्थल सञ्चालनको सुनिश्चितता हुने वातावरण सृजना गर्न बाञ्छनीय भएकोले नेपाल सरकारले यो मापदण्ड बनाएको छ भन्ने उल्लेख छ ।

मापदण्डमा नै निर्माण अवधि र सञ्चालन अवधिमा आवश्यक पर्ने पूर्वाधार निर्माणसम्बन्धी कार्यलाई व्यवस्थित एवं योजनाबद्ध बनाइ निर्माण प्रक्रियालाई मार्गनिर्देश गर्दै निर्माणपछि मात्रै विमानस्थल सञ्चालन गर्ने भन्ने प्रस्ट उल्लेख छ । तर, पोखरा विमानस्थलमा भने इन्धन ट्यांकी नबनाई सञ्चालन आएको हो ।

हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले आयल निगमले इन्धन व्यवस्थापनको जिम्मा लिएको र सोहीअनुसार विमानस्थल सञ्चालनमा ल्याइएको बताए ।

पोखरा विमानस्थलमा इन्धन ट्यांकी नै निर्माण नगरी कसरी विमानस्थल सञ्चालनमा आयो भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘नेपाल आयाल निगमले इन्धनको व्यवस्था गर्ने भनेर सहमति गरेको छ । विमानस्थलमा इन्धन डिपो बनाउने काम हाम्रो होइन । इन्धन भण्डारणको ट्यांकी निर्माणपछि मात्रै विमानस्थल सञ्चालन गर्ने भनेको भए २ वर्ष पछाडि धकेलिने थियो । निगमलाई भन्डारणको लागि ट्यांकी निर्माण गर्न हामीले १५ रोपनी जग्गा दिइसकेका छौं ।’

डिपो निर्माणको काम क्यानको होइन भने पछि पुनः विमानस्थल सञ्चालन गर्न आवश्यक पर्ने इन्धनको व्यवस्था नहुँदै किन उडान अनुमति दिएको भन्दा अधिकारीले निगमले जिम्मा लिएकाले नै विमानस्थल सञ्चालनको अनुमति दिएको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख विक्रमराज गौतमले तत्कालका लागि मात्रै रिफ्युलरले पुरानो विमानस्थलमा हवाई इन्धन आपूर्ति गरिरहेको बताए । उनले भने, ‘केही समयका लागि मात्रै बाहिरबाट इन्धन ल्याएर व्यवस्थापन गरिएको हो । निगमले मागअनुसारको इन्धन व्यवस्थापन गर्छु भनेको छ । सरकारी निकाय भएकाले इन्धनमा कुनै समस्या आउन दिँदैन । अहिले विमानस्थलभित्र नै इन्धन भन्डारण निर्माणको काम भइरहेको छ ।’

विमानस्थलभित्र सञ्चालन हुने रिफ्युलरको मात्रै नम्बर प्लेट नहुने र विमानस्थलभन्दा बाहिर गएपछि नम्बर प्लेट प्रयोग हुने उनले बताए । तर, रुट पर्मिट भने रिफ्युलरको नहुने उनले जानकारी दिए ।

क्यानका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीले इन्धन भन्डारणको ट्यांकी नै नबनाई विमानस्थल सञ्चालनमा हतार गरिएको जस्तोमात्रै देखिएको बताए ।

उनले भने, ‘विमानस्थलभित्र इन्धनको व्यवस्था नभए अन्तर्राष्ट्रिय जहाजहरुले उडान भर्न गाह्रो मान्न सक्छन् । मागअनुसार इन्धन पुर्‍याउन कुनै बेला समस्या आउन सक्छ । विमानस्थल सञ्चालनमा आइसकेकाले अब छिटाभन्दा छिटो इन्धन भन्डारण डिपो निर्माण गर्नुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर