सुपारी नखुलाई बाहिरिए बडू, बिचौलियाले उठाएको पैसा माग्न थालेपछि संकटमा – Nepal Press

सुपारी नखुलाई बाहिरिए बडू, बिचौलियाले उठाएको पैसा माग्न थालेपछि संकटमा

काठमाडौं । सुपारीको कोटा खुलाउन बिचौलियासँग गरेको वाचा पूरा गर्न नपाउँदै सत्ताच्युत भएपछि तत्कालीन उद्योगमन्त्री दिलेन्द्र बडू समस्यामा परेका छन् । मन्त्री बडूले सुपारीको कोटा हटाएर मागअनुसार आयात खुल्ला गर्नेगरी काम गरिरहेका थिए ।

अब नेपाली कांग्रेस सरकारमा नरहने भएपछि सुपारीको कोटा हटाउने काम बन्द भएको छ । तर, मन्त्रीको नाम लिएर बिचौलियाले लिएको पैसाको विषयमा अब विवाद सुरू भएको छ ।

उद्योगमन्त्री हुँदा बडूले मदिराको लाइसेन्सदेखि पेट्रोलियम पदार्थको ढुवानी भाडासम्म वृद्धि गर्न सफल भएकाले सुपारीको कोटासमेत हटाउन सक्ने भनेर साना व्यापारीहरुले पनि विश्वास गरेर बिचौलीयालाई पैसा बुझाएका थिए ।

केही काममा उद्योगमन्त्री सफल भएपछि सुपारीको कोटा पनि हट्ने अवस्था आएको थियो । तर, अब तत्कालीन मन्त्री बडूले आफ्नो कार्याकालमा सुपारीको कोटा हटाउन सकेनन् ।

स्रोतले भन्यो, ‘तत्कालीन उद्योगमन्त्री मदिराको लाइसेन्स र नवीकरण तथा ढुवानी व्यवसायीको भाडा वृद्धिमा सफल भएका थिए । सुपारीको कोटा पनि आफ्नो पालामा हटाउने भन्दै आएका थिए । तर, उद्योग मन्त्रालयका वाणिज्य सचिव र केही कर्मचारीले कोटा हटाउन सहयोग नगरेपछि कोटा हटाउने निर्णय नै नगरी उनी मन्त्रीबाट हटे, व्यापारीको पैसा डुब्यो ।

सरकार परिवर्तन हुने अन्तिम समय आएर विवादित काम नगर्ने भनेरै उद्योगमन्त्रालयका कर्मचारीहरू पनि डराएको उद्योगमन्त्रालयका एक अधिकारीले बताए ।

कसले उठाएका थिए सुपारीको कोटा खोल्न पैसा ?

नेपालमा सुपारीमा आयात खुलाउन आर्थिक चलखेल हुने गरेको छ । तेस्रो देशबाट नेपालमा सुपारी आयात भएर भारत निकासी तथा तस्करी समेत हुने गरेको छ ।

शेरबहादुर देउवा प्रधामन्त्री भएका बेला बालुवाटारमा डा. आरजु देउवासँग राम्रो सम्पर्क रहेका रामचन्द्र भटट्ले नै पहिले पक्राउ परेको ८ ट्रक सुपारी छुटाउन पहल गरेका थिए । भने, अहिले सुपारीको कोटा हटाउने जिम्मेवारी पनि उनैले पाएका थिए ।

उनै भटट्ले नै तत्कालीन प्रधानमन्त्री पत्नी आरजु राणा मार्फत सुपारी छुटाउन पहल गरेका थिए । अहिले कोटा हटाउने काम पनि उनी मार्फत नै भएको थियो ।

साना व्यवसयीबाट विराटनगरका देब स्कुलका सञ्चालक प्रकाश मुन्दडा र एशियन थाई फुड्सका सञ्चालक महेश जाजुले पैसा उठाएर सुपारीको कोटा खोल्ने तयारी गरेका थिए । तर, मन्त्रीले काम गर्न नसकेपछि अहिले साना व्यवसायीले मुन्दडा र जाजुसँग आफूले दिएको पैसा फिर्ता माग्न थालेका छन् ।

पैसा उठाएकाहरूले नयाँ मन्त्रीबाट काम गराउने आश्वासन दिएका छन् । बडूले बुझिसकेको पैसा फिर्ता गर्न भने समस्या भएको छ ।


प्रतिक्रिया

One thought on “सुपारी नखुलाई बाहिरिए बडू, बिचौलियाले उठाएको पैसा माग्न थालेपछि संकटमा

  1. पैसा दिएको हो भने सार्वजनिक रूपमा बेईज्जत गर त मन्त्रीको । यसले त के देखायो भने देउवाको सरकार त पूरै भ्रष्टाचारीहरूको जालोमा परेको रहेछ । हुनत घरकै मान्छे उठतिमा लागेपछि अरूलाई के भन्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर