चुनावअघि नै सुपारीमा अन्तशुल्क घटाउने तयारी – Nepal Press

चुनावअघि नै सुपारीमा अन्तशुल्क घटाउने तयारी

काठमाडौं । सरकारले सुपारी आयातमा अन्तशुल्क घटाउने तयारी गरेको छ । बजेटमा वृद्धि भएको अन्तशुल घटाएर केही व्यापारीलाई पोस्ने गरी मन्त्रीदेखि प्रधानमन्त्री नै लागेका छन् ।

चालू आर्थिक वर्षको बजेटमा अर्थमन्त्री जनार्दन शर्माले सुपारीको अवैध आयात रोक्न भन्दै प्रतिकेजी २५ बाट बढाएर अन्तशुल्क एक सय पुर्‍याएका थिए । अहिले त्यही बढाएको रकम घटाउन लागिएको हो ।

उद्योग मन्त्रालय स्रोतका अनुसार सुपारीमा बढाइएको ७५ रूपैयाँ अन्तशुल्क घटाउने निर्णय भइसकेको छ ।

मन्त्रालय स्रोतले भन्यो, ‘मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ । निर्णय बाहिर आइसकेको छैन । अब मन्त्रिपरिषद्‍बाट भएको निर्णयलाई राजपत्रमा प्रकाशन गर्ने तयरी रहेको छ । चुनावअघि नै प्रकाशन गर्ने भन्ने छ ।’

आयातकर्ताहरू मन्त्रालय आएर फाइल छिटो अघि बढाउन मन्त्रालयमा दबाब दिइरहेका छन् । गुट्खा उत्पादक र केही आयातकर्ताले उद्योगको नाम लिएर १७ हजार मेट्रिक टन सुपारी आयात गर्न लागेको बताइन्छ । चाडो राजपत्रमा सूचना निकालेर अन्तशुल्क घटाउन उद्योग, अर्थमन्त्री तथा बालुवाटरमा उनीहरूको तारान्तार छ ।

आयातकर्ताले सुरूमा अर्थमन्त्रीको विरोध गरेका थिए । पछि बालुजाटारको निर्देशनपछि अर्थमन्त्री शर्मा राजी भएको स्रोतको भनाइ छ । उद्योगमन्त्री दिलेन्द्र बडूले आयातकर्तालाई चुनावअघि नै अन्तशुल्क घटाउने वचन दिएअनुसार मन्त्रालयले मन्त्रिपरिषद्‍मा प्रस्ताव लगेको हो ।

नेपालमा १७ हजार मेट्रिक टन सुपारी नेपाल आउन लागेको छ । आयातकर्ताले सुपारीको अन्तशुल्क घटेपछि मात्रै ल्याउने गरी तयारी गरिरहेका छन् । नेपाल सरकारको राजस्वमा दबाब भइरहेको बेला १७ हजार मेट्रिक टनलाई प्रतिकेजी ७५ रूपैयाँ अन्तशुल्क घटाउँदा १ अर्ब २७ करोड राजस्व घाटा लाग्नेछ ।

नेपालमा अहिले व्यापारिक प्रयोजनका लागि सुपारी आयात गर्न पाइँदैन । कुनै उद्योगको लागि कच्चा पदार्थको सुरूमा मात्रै सुपारी ल्याउन पाउने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर