लुम्बिनीका भावी मुख्यमन्त्री को ? कुन दलकाे प्राथमिकता कसलाई ? – Nepal Press

लुम्बिनीका भावी मुख्यमन्त्री को ? कुन दलकाे प्राथमिकता कसलाई ?

रुपन्देही । मंसिर ४ को निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै लुम्बिनीमा आगामी मुख्यमन्त्री को बन्ने चर्चा सुरु भएको छ । तीन ठूला दलका केही आकांक्षीहरु भने आफ्नो दलबाट उम्मेदवारी नै पाउन सकेनन् भने आकांक्षी भएर पाएकाहरु पनि गठबन्धनका कारण खतराको सूचीमै छन् तर दलभित्र उनीहरु मुख्यमन्त्री बन्नेगरी नै उम्मेदवार बनेका छन् ।

लुम्बिनी प्रदेशमा तीन ठूला पार्टीबाट मुख्यमन्त्रीको दाबेदारका रुपमा कसले उम्मेदवारी दिए भन्ने चर्चा सुरु भएको छ ।

पार्टीको वरियतामा अगाडि रहेका, संघीय निर्वाचनको तयारी गरेका र यसअघि प्रदेश सभामा पुगेकाहरुबाटै ती पार्टीले मुख्यमन्त्री बनाउने गरी सम्बन्धित नेताहरुलाई अगाडि सारेका छन् ।

नेकपा एमालेबाट पोलिटब्यूरो सदस्य, प्रदेश सहइन्चार्ज तथा लिला गिरी रुपन्देही, प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ रुपन्देही, पोलिटब्यूरो सदस्य तथा प्रदेश सहइन्चार्ज दधिराम न्यौपाने, तुल्सीपुरका पूर्वमेयर घनश्याम पाण्डे मुख्य दाबेदारका रुपमा रहेका छन् । उनीहरुसँगै केन्द्रीय लेखा आयोग उपाध्यक्ष तथा लेखा समितिका पूर्वसभापति विष्णु पन्थी, यसअघि प्रमुख सचेतक बनेका भूमिश्वर ढकाल पनि पुनः उम्मेदवार बनेका छन् तर यसअघि मन्त्रीसमेत नबनेकाले उनीहरु प्राथमिकतामा छैनन् । एमालेका शीर्ष नेताहरुले पोलिटब्यूरो सदस्य लिला गिरीलाई नै मुख्यमन्त्रीको आश्वासन दिएका छन् ।

यसअघिको प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका गिरी एमालेले अहिले उठाएका उम्मेदवारमा सबैभन्दा सिनियर हुन् । उनले रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट उम्मेदवारी दिएका छन् ।

गिरी २०६४ सालको संविधानसभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार भई कांग्रेस नेता बालकृष्ण खाणसँग थोरै मतले पराजित भएका थिए । गत प्रदेशसभाको निर्वाचनमा उनी क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाटै विजयी भएका थिए । एमालेले यो क्षेत्रमा जसपा र राप्रपासँग चुनावी तालमेल गरेको छ ।

एमालेबाट नवलपरासीका नेता बैजनाथ चौधरी मुख्यमन्त्री पाउने शर्तमा उम्मेदार बन्न खोजेका थिए तर नेतृत्वले त्यो संकेत नदिएपछि उनी उम्मेदवार नै बनेनन् ।

लुम्बिनीमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलको रोजाईमा पर्ने नेता नै मुख्यमन्त्री बन्नेछन् ।

नेपाली कांग्रेसमा प्रदेश सभापति अमरसिंह पुन, यसअघि संसदीय दलको नेता वीरेन्द्र कनौडिया, केन्द्रीय सदस्य अब्दुल रज्जाक र हालका प्रदेशमन्त्री डिल्ली चौधरी मुख्यमन्त्रीका प्रमुख आकांक्षी हुन् ।

पुन: संस्थापन इतर समूहका हुन् भने कनौडिया, रज्जाक र चौधरी संस्थापन समूहका हुन् । प्रदेशमा इतर समूह बलियो भएकाले पनि पुनले निर्वाचन जिते उनको संभावना बलियो छ । तर यसअघि संसदीय दलको नेता भएर माओवादीसँग सहमतिमा मुख्यमन्त्री बन्ने कागज गरेर पनि बन्न नपाएका कनौडिया उनको तगारो बन्नसक्नेछन् । नेता पुनले केन्द्रमा पार्टी सभापति संसदीय दलको नेता हुने र उही प्रधानमन्त्री हुने भएकाले प्रदेशमा पनि प्रदेश सभापति नै मुख्यमन्त्री हुने विषय ठूलो कुरा नभएको बताउँदै आएका छन् ।

लुम्बिनीमा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्यहरु जोखबहादुर महरा, सुदर्शन बराल र वामदेव क्षत्री मुख्यमन्त्रीका दावेदार हुन्  । माओवादीबाट अहिलेका मुख्यमन्त्री कुलप्रसाद केसी दोहोरिन चाहेपनि नेतृत्वले उनलाई उम्मेदवार नै बनाउन चाहेन । अध्यक्ष प्रचण्डको सचिवालयमा बसेका जोखबहादुर महरालाई उनले मुख्यमन्त्री बनाउने गरी उम्मेदवार बनाएका छन् तर नेता वर्षमान पुनका निकट मानिने प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बराल पनि बलियो दावेदार हुन् । उनीहरुसँगै नेता बामदेव क्षेत्रीले पनि त्यो आशा राखेर उम्मेदार बनेको उनी निकट नेताहरुले बताएका छन् । माओवादीबाट पूर्वसभामुख पूर्णबहादुर घर्ती मुख्यमन्त्रीको आकांक्षी भएपनि उनी प्रतिनिधिसभातर्फ उम्मेदवार बनेपछि च्याप्टर क्लोज भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर