रुपन्देही क्षेत्र नं १ को चुनावी ब्याटल : एउटै दलबाट सिफारिस छविलाल र घनश्याम निर्वाचनमा प्रतिस्पर्धी – Nepal Press

रुपन्देही क्षेत्र नं १ को चुनावी ब्याटल : एउटै दलबाट सिफारिस छविलाल र घनश्याम निर्वाचनमा प्रतिस्पर्धी

रुपन्देही । एक महिनाअघि एमाले नेताद्वय छविलाल विश्वकर्मा र घनश्याम भुसाल रुपन्देहीको क्षेत्र १ बाट प्रतिनिधिसभाका लागि सिफारिस भएका थिए । तर, अहिले निर्वाचनमा भने दुईजना एकअर्काका प्रतिस्पर्धी भएका छन् । दुई फरक–फरक गठबन्धनबाट विश्वकर्मा र भुसाल आमनेसामने भएका छन् ।

विश्वकर्माको राजनीतिक भूमि र भुसालको गृहनगर रहेकाले यो क्षेत्रलाई दुवै जनाले आफ्नो प्रतिष्ठाको विषय बनाए । पार्टी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज विश्वकर्मा आफैं टिकट दिने ठाउँमा छन् । उनले यसअघि जितेको क्षेत्र छाड्न पनि चाहेनन् ।

भुसालले २०५६ सालदेखि आफ्नो गृहनगर रहेको क्षेत्रबाट जनप्रतिनिधि बन्न प्रयास गरेका थिए । जुन प्रयासलाई उनले छाड्न खोजेनन् ।

एमाले क्षेत्रीय तथा जिल्ला कमिटीले दुवैको नाम सिफारिस गरेर पठाएको थियो । तैपनि प्रदेश कमिटीले विश्वकर्माको एकल नाम केन्द्रमा पठाएपछि भुसाल बिच्किए । क्षेत्र नम्बर ३ बाट समेत नाम सिफारिस भएकाले सुरुमा भुसाल चुपचाप बसेका थिए । चुनावी तालमेलमा एमालेले क्षेत्र नं ३ राप्रपालाई छोडेपछि आफूमाथि अन्याय भएको भन्दै पार्टीले टिकट टुंग्याएकै दिन उनले पार्टी त्यागेको घोषणा गरे ।

पार्टी त्यागेको भोलिपल्ट भुसालले सत्ता गठबन्धनको समर्थनमा रुपन्देही १ बाट उम्मेदवार बन्ने घोषणा गरे । आइतबार उनले आफ्नो उम्मेदवारी मनोनयनसमेत गरिसकेका छन् । यससँगै उनको प्रतिस्पर्धीमा आफ्नै समकक्षी विश्वकर्मा हुन पुगेका छन् ।

राष्ट्रिय राजनीतिमा प्रभावशाली रहेका र लामो समय एउटै दलमा रहेका दुई नेता दुई गठबन्धनबाट मैदानमा पुगेपछि प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

एउटै राजनीतिक पृष्ठभूमि बोकेर आएका दुई नेतामध्ये एमाले नेता विश्वकर्मालाई राप्रपा र जसपाको साथ छ । भुसाललाई सत्ता गठबन्धनमा रहेका ४ दल, बाबुराम भट्टराईको नेसपा र लोसपाले साथ दिने भएका छन् ।

नम्र र मिजासिलो बोली तथा व्यवहारले परिचित एमाले नेता विश्वकर्मा र मार्क्सवादी अध्येयताको परिचय बनाएका भुसालको भिडन्ततर्फ सबैको ध्यान तानिएको छ ।

२०७४ सालमा विश्वकर्माले नेपाली कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गरेका थिए । माओवादी केन्द्रको सहयोगमा विश्वकर्मा ३४ हजार ७५२ मत ल्याएर निर्वाचित भएका थिए । रज्जाकले २६ हजार ८८५ मत पाएका थिए । २०७० सालको निर्वाचनमा भने अब्दुलले विश्वकर्मालाई नै हराएका थिए । अहिले उनै रज्जाकले भुसाललाई उम्मेदार बनाएर आफू प्रदेशसभामा झरेका छन् ।

सांगठनिक जनाधार बलियो रहेको, राप्रपा र जसपाको मत पनि राम्रो रहेको, तत्कालीन माओवादी नेता दधिराम न्यौपाने एमालेमै रहेर प्रदेशसभा उम्मेदार भएको, स्थानीय निर्वाचनमा एमालेले जितेको र निर्वाचनको मुखमा उम्मेदवारी नपाएर घनश्यामले पार्टी छोडेको तथा उनी कुनै पार्टीको उम्मेदवार नभएकालेनिर्वाचन जित्न विश्वकर्मालाई कुनै समस्या नरहेको उनी पक्षको दाबी छ ।

तर, भुसाल पक्षले भने लामो समय उनले सो क्षेत्रमा काम गरेको, गृहनगर भएकाले धेरै पारिवारिक सम्बन्ध भएको, बौद्धिक नेता भएकाले तटस्थ मत तान्नसक्ने, ६ वटा दलले समर्थन गरेको र एमालेभित्र छविलालविरोधी ठूलो समूहले भुसाललाई साथ दिने आन्तरिक आश्वासनसमेत दिएकाले सहजै जित्ने जिकिर गरेको छ ।

सत्तारुढ प्रमुख दल कांग्रेसको बलियो क्षेत्र, माओवादी, एकीकृत समाजवादी, लोसपा, नेसपा र जनमोर्चाको साथले जीत हासिल गर्न सकिने उनी निकटस्थहरुको दाबी छ ।

भुसालले रुपन्देही १ रोजे पनि उनका लागि यो क्षेत्र सहज भने छैन । सत्ता गठबन्धनमा रुपन्देही १ माओवादी केन्द्रको भागमा परेको थियो । माओवादी केन्द्रले आफ्नो उम्मेदवार नदिएर भुसाललाई समर्थन गरेपछि माओवादीभित्रै असन्तुष्टि बढेको छ । माओवादीबाट युवा नेता लेखनाथ न्यौपाने, मकसुद अली, शिव धवललगायत आकांक्षी थिए । पहिले ओनसरी घर्तीलाई उम्मेदवार बनाउन खोजिएको थियो ।

भुसालले ‘माओवादीको चुनाव चिन्हबाट लड्दिनँ’ भन्नु र पार्टी नेतृत्वले माओवादीमा उम्मेदवारै नभएजस्तो गरी घनश्यामलाई उम्मेदवार बनाउने निर्णय गरेपछि भुसालको पक्षमा भोट माग्ने जाँगर हराएको माओवादी नेता शिव धवल बताउँछन् ।

घनश्यामकै छिमेकी जगन्नाथ पन्थ पनि रुपन्देही १ मा भुसालले जित्न नसक्ने बताउँछन् । ‘म उहाँको छिमेकी हो, उहाँलाई भेटेर पनि भनेको थिएँ कि अहिलेसम्मको इज्जत जोगाउनु छ भने यो क्षेत्रमा उम्मेदवार नबन्नुस्’, उनले भने, ‘टिकट नपाएपछि पार्टी छाड्ने अनि सत्ता गठबन्धनको उम्मेदवार बन्ने कुराले उहाँलाई मतदाताले विश्वास गर्दैन ।’

भुसाल निकट तिलोत्तमाका एक कार्यकर्ता टिकट नपाउँदैमा पार्टी छाडेर सत्ता गठबन्धनको उम्मेदवार बन्नु गलत भएको टिप्पणी गर्छन् । ‘नेतृत्वले गल्ती गरे होला । तर, उहाँ जत्तिको आदर्शका कुरा गर्ने नेताले एकपटक टिकट नपाउँदैमा पार्टी छाड्न हुन्थेन । चुनावी नतिजा कुरेर अन्तिम पटक वैचारिक लडाइँ लड्नुपर्थ्यो ।’

देवदह ९ का मतदाता यज्ञमूर्ति पौडेल पनि भुसाल सिद्धान्त र विचारका विज्ञ भए पनि चुनावी राजनीतिमा आफ्नो क्षेत्रका मतदाता र जनताको माझमा गइरहने नेता नै सफल हुने बताउँछन् । ‘उहाँ विचार र सिद्धान्तमा विज्ञ होला । तर, टिकट पाए नेतृत्व ठीक नपाए बेठीक भनेर पार्टी छाड्ने कुराले उहाँलाई राम्रो गर्दैन’, पौडेलले भने, ‘सधैं भनेको बेला मीठो भान्सा कहाँ पाइन्छ र ! कहिलेकाहीं कुर्न पनि पर्छ ।’

स्थानीय तह चुनावमा वडाध्यक्षहरुले पाएको मत परिणामले पनि भुसाललाई रुपन्देही १ मा जित्न कठीन छ । रुपन्देही क्षेत्र नं १ मा देवदह नगरपालिकासहित रोहिणी गाउँपालिका, तिलोत्तमा नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११, १२, १५, १६, १७ र ओमसतिया गाउँपालिकाको वडा नम्बर १, ३, ४, ५, र ६ रहेको छ ।

स्थानीय तहमा वडाध्यक्षले पाएको मत परिणामअनुसार यहाँ कांग्रेसले ३२ हजार ९९९ र एमालेले ३० हजार ३९४ पाएको छ । राप्रपाले १४ हजार ५५२, जसपाले ६ हजार ६९५, माओवादीले ४ हजार २०२, नेकपा एसले १ हजार २४३ र लोसपाले ३२५ मत पाएको छ ।

यस आधारमा एमाले, राप्रपा र जसपा गठबन्धनको मत ५१ हजार ६४१ हुन्छ । सत्ता गठबन्धनको मत ३८ हजार ७६९ मत हुन आउँछ । यस हिसाबले पनि घनश्याम १२ हजार बढी मतले पछाडि देखिन्छन् । तर, यसबीचमा एमाले देवदह नगर अध्यक्ष टीकाराम चापागाईं पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएकाले एमालेको केही मत उनले काट्नेछन् । त्यसो त सत्ता गठबन्धनको सबै मत पनि भुसाले पाउनेछैनन् ।

एमाले उम्मेदवार विश्वकर्मा एमाले, राप्रपा र जसपा गठबन्धनको जीतमा कुनै शंका नभएको दाबी गर्छन् । ‘स्थानीय तहको मत परिणामले नै हाम्रो जीत निश्चित छ । त्यसयता पनि अरु पार्टी छाडेर एमाले प्रवेश गर्नेको लहर छ । त्यसैले यहाँ कसैसँग प्रतिस्पर्धा छैन ।’

भुसालले भने आफ्नो लागि रुपन्देही १ नै बढी सम्भावनाको क्षेत्र भएको र सत्ता गठबन्धनको समर्थन रहेकाले जित्ने बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर