लुम्बिनीका प्रदेश सांसदहरुको बिदाइ असोज १४ गते, एमालेले बहिस्कार गर्ने – Nepal Press

लुम्बिनीका प्रदेश सांसदहरुको बिदाइ असोज १४ गते, एमालेले बहिस्कार गर्ने

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा प्रदेशसभाले गर्ने कार्यक्रम प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्ने घोषणा गरेको छ ।

प्रदेशसभाले असोज १४ गते सम्मान र शुभकामना आदानप्रदान कार्यक्रम तय गरेको छ । प्रदेशसभाले निवर्तमान प्रदेशसभा सदस्यहरुलाई सम्मान र शुभकामना आदानप्रदान कार्यक्रम राखेको हो ।

निवर्तमान सांसदहरुलाई प्रदेशसभा सचिव दुर्लभ पुनमगरले सूचना जारी गर्दै कार्यक्रमबारे जानकारी दिएका छन् । सूचनाअनुसार प्रथम प्रदेशसभाको कार्यकाल सम्पन्न हुन गइरहेकाले असोज १४ गते दिउँसो १ बजे नयाँ प्रदेशसभा भवन मौरीघाट देउखुरीमा सम्मान र शुभकामना कार्यक्रम राखिएको छ ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि बुधबारदेखि आचारसंहिता लागू भएको जनाइसकेको छ । निर्वाचन आचारसंहितामा सरकारले नयाँ नीति, योजना र कार्यक्रम घोषणा गर्न पाउने छैन भन्ने उल्लेख गरिएको छ । यस्तै प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै चुनावी प्रचार गर्न पाउनेछन् । संविधानमा प्रस्ट नभए पनि समानुपातिकको बन्दसूची निर्वाचन आयोगमा पेश भएपछि प्रदेशसभा सदस्यहरुको कार्यकाल सकिएको व्याख्या हुने गरेको छ ।

तर, लुम्बिनी प्रदेशसभाको अन्तिम कार्यक्रम गरेर भए पनि मुख्यमन्त्री केसीले आफ्नै कार्यकालमा राजधानीको संरचना स्थायीमा ल्याएको जस लिन निवर्तमान सांसदलाई सम्मान कार्यक्रम राखेको र निवर्तमान सांसदहरुलाई थप विवादमा ल्याउन यस्तो गरेको आरोप विपक्षी दल एमालेको छ ।

एमाले लुम्बिनी प्रदेशसभाका निवर्तमान प्रमुख सचेतक भूमेश्वर ढकालले प्रदेशसभाले आयोजना गरेको कार्यक्रममा एमाले सहभागी नहुने बताए । उनले भने, ‘हामीसँग छलफल पनि भएको छैन, यो सरासर गलत छ ।’

उनले सूूचनामै प्रदेशसभाको कार्यकाल सकिन गइरहेको भनेर उल्लेख गरेकोमा आपत्ति जनाए । प्रदेशसभाले सम्मान भनेर राखेको कार्यक्रममा एमालेबाट प्रतिनिधित्व गर्ने कोही पनि सहभागी नहुने उनले जानकारी दिए । ‘प्रक्रियागत हिसाबले प्रदेशसभा सदस्यहरुको कार्यकाल सकिएको छ, अन्तिममा कार्यक्रम गर्नु औचित्य छैन’ उनले भने ।

प्रमुख प्रतिपक्ष दलसँग सल्लाह नै नगरी कार्यक्रम राखिएको भन्दै प्रदेशसभाको कार्यक्रम गलत भएको बताए ।

प्रदेशसभा सचिव पुनमगरले प्रदेशसभाको आन्तरिक कार्यक्रम भएकाले आचारसंहिता लागू नहुने दाबी गरे । उनले निवर्तमान प्रदेशसभा सदस्यहरुको सम्मानका लागि स्थायी राजधानीमा कार्यक्रम गर्न लागिको बताए ।

यसअघि मौरीघाटस्थित प्रदेशसभा भवन निर्माण नसकिँदै सामान ओसार्न प्रदेशसभाले सुरु गरेको थियो । गठबन्धन दलमै संरचना नबन्दै सामान ओसारेर अलपत्र हुने भन्दै विरोध गरेपछि रोकिएको थियो । तर, निर्वाचनलाई मध्यनजर गरी मुख्यमन्त्री केसी र सभामुख घर्तीको निर्देशनमा रातारात प्रदेशसभाबाट सामान ओसार्न थालिएको हो ।

प्रदेशसभामा बिजुली जडान हुन समय लाग्ने भएपछि बुटवलबाट जेनेरेटर लगिएको छ । नयाँ प्रदेशसभा भवन अझै पनि पूरा भइसकेको छैन ।

असोज मसान्तसम्मको समय निर्माण कम्पनीलाई दिइएको छ । प्रदेशसभा सचिव पुनले निर्माण १३ गते साँझसम्म सकिने दाबी गरे ।

राप्ती प्राविधिक शिक्षालय परिसरमा प्रदेशसभा लागि ५ करोड २१ लाख ९३ हजार रुपैयाँ लागतमा ‘मेटल स्टक्चर’ को भवन निर्माणाधीन छ । भवन निर्माणका लागि लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणले २०७८ वैशाख २४ मा ठेक्का सम्झौता गरेको थियो ।

यसअघि रोल्पाबाट प्रदेशसभामा जितेका मुख्यमन्त्री केसीले अहिले त्यहाँबाट टिकट नपाए पनि स्थायी राजधानी भएको दाङको प्रदेशबाट उम्मेदवार बन्न सिफारिस भएकाले त्यसैको जस लिन हतारमा यस्तो गलत काम गरिरहेको माओवादीकै नेताहरुको आशंका छ ।

माओवादीका एक नेताले भने, ‘समय सकिएपछि हतार गरेर हुँदैन, मुख्यमन्त्री अरु दलको त बन्न सक्नुभएन नै, पार्टीमा पनि कुनै सरसल्लाह नगरी चलेका कारण यस्तो भएको हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर