घनश्याम भुसालको तगारो को ? – Nepal Press

घनश्याम भुसालको तगारो को ?

रुपन्देही । नेकपा एमालेको नवौं महाधिवेशनमा बलियो सांगठनिक आधार बनाएका नेता शंकर पोखरेललाई पराजित गरेर उपमहासचिव बनेर चर्चामा आएका एमाले नेता घनश्याम भुसाल दशौं महाधिवेशनमा पदाधिकारीमा आउन सकेनन् । भुसाल पार्टी संस्थापन समूहका कडा आलोचक मानिन्छन् । जसले गर्दा भुसाल नेकपाकालमा केपी ओलीको कडा विरोध गरेर प्रचण्ड-माधव समूहमा लागेका थिए ।

वैधानिक रुपमा एमाले र माओवादी अलग भएपछि उनी केही समय नेता माधव नेपालको पक्षमा रहे । नेपालले नेकपा एकीकृत समाजवादी पार्टी बनाएपछि भुसाल अडिए । उनी एमालेमै फर्किए ।

नेकपाकालमा ओली समूहसँग राखेको असन्तुष्टिका कारण पार्टीको दशौं महाधिवेशनमा भुसाललाई कुनै पनि हालतमा पदाधिकारी नलैजाने योजना बन्यो । भुसाल त्यो योजनालाई जवाफ दिन महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार बने । पराजित हुने निश्चित हुँदा पनि उनले उम्मेदवार छाडेनन् । उपाध्यक्षमा पराजित उनलाई पार्टीले केन्द्रीय सदस्य बनाउँदै पछि स्थायी कमिटीमा लग्यो ।

संघीय सांसद भुसाल केपी ओली प्रधानमन्त्री हुँदा कृषिमन्त्री बनेका थिए । सरकारमा हुँदा ओली नजिक भए पनि अहिले झन् झन् टाढिँदै गएका छन् ।

नेपाल समूह छोडेर एमालेमै फर्किएका भुसाललाई संस्थापन समूहले उनकै क्षेत्रमा पार्टीका ठूला कार्यक्रम हुँदा बोलाउँदैन । रुपन्देहीस्तरीय प्रशिक्षण, प्रदेशस्तरीय प्रशिक्षण तथा उनकै क्षेत्रमा हुने पार्टीका कार्यक्रममा समेत भुसालको सहभागिता नदेखिँदा उनका समर्थकहरुले पार्टीले भुसाललाई स्थान नदिएको गुनासो गर्दै आएका छन् ।

आफ्नै पार्टी नेतृत्वको सरकार ढालेको र पार्टीलाई संकट परेको बेला साथ नदिएको संस्थापन पक्षका नेता-कार्यकर्ताले उनीमाथि आरोप लगाउँदै आएका छन् । त्यसैले अहिले रुपन्देहीस्थित आफ्नो क्षेत्रबाट भुसालले मंसिर ४ मा हुने निर्वाचनमा टिकट पाउँछन् कि पाउँदैनन् भन्ने विषयले चर्चा पाएको छ ।

पार्टीका प्रभावशाली नेताहरु भएको रुपन्देहीमा उपाध्यक्ष विष्णु पौडेल क्षेत्र नं २, पोलिलब्युरो सदस्य खिमलाल भट्टराई रुपन्देही ५ बाट सर्वसम्मत उम्मेदवार भएका छन् । तर, भुसाल सर्वसम्मत हुन सकेनन् ।

उनी पक्षधरहरु भुसाललाई टिकट नदिन नै सिफारिस गर्नै नपर्नेहरुको नाम समावेश गरेको बताउँछन् । तर, संस्थापन पक्षले भने अहिलेको गठबन्धनलाई हराउन भुसालभन्दा वैकल्पिक व्यक्तिलाई नै उम्मेदवार बनाउनुपर्ने तर्क गरेको छ ।

अहिले सांसद रहेको ३ नं क्षेत्रमा उनीसहित ४ जनालाई क्षेत्रीय कमिटीले सिफारिस गरेको छ । उनको घर रहेको रुपन्देही १ बाट सचिव एवं सांसद छविलाल विश्वकर्मासहित भुसालको नाम पनि समेटिएको छ । सचिव विश्वकर्मा पार्टीको प्रदेश इन्चार्जसमेत हुन् । अध्यक्ष ओली निकट पनि भएकाले विश्वकर्माले आकओभर नदिएसम्म भुसालले क्षेत्र नं १ मा टिकट पाउने सम्भावना छैन ।

दुई क्षेत्रबाट भुसालको नाम सिफारिस भए पनि सोमबार बसेको जिल्ला कमिटी बैठकले निर्णय गर्न सकेन । कमिटीले मंगलबार आफ्नो रायसुझावसहित क्षेत्रबाट आएका नाम सिफारिस गरेर पठाएको छ । एमाले रुपन्देही उपाध्यक्ष जागेश्वरी चौधरीले भुसालको नाम दुवै क्षेत्रीय कमिटीबाट सिफारिस भएको र जिल्लाले माथि पठाएको बताइन् ।

‘२०७४ पनि उहाँको दुई क्षेत्रबाट सिफारिस गएको थियो, अहिले पनि क्षेत्रबाट आएका सिफारिस पठाइएको हो’, उनले भनिन, ‘अब नेताहरुले माथि बसेर कसलाई कहाँ खटाउने सबै निर्णय गर्नुहोला नि !’

एमालेको नवौं महाधिवेशनमा विकासको नेता विष्णु पौडेल र विचारको नेता घनश्याम भुसाल भन्दै दुवै नेता फरक टीमबाट उपमहासचिव भएका थिए । यसबीचमा पौडेल नेकपाको महासचिव हुँदै एमाले उपाध्यक्ष बन्दा भुसाल भने स्थायी कमिटी सदस्यमात्रै छन् । वाककला, मार्क्सवाद र अर्थतन्त्रको विश्लेषण तथा अध्ययनमा विशेष रुचि राख्ने नेताको पहिचान बनाएका भुसाल केन्द्रमा मात्र होइन आफ्नै गृहजिल्लामा कमजोर बने कि बनाइए भन्ने प्रश्न अहिले एमाले वृत्तमै उठ्न थालेको छ ।

साँच्चै पार्टीको उपमहासचिव भइसकेका र पार्टी अध्यक्षको प्रस्तावविपरीत उपाध्यक्षमा निर्वाचन लड्दा पनि राम्रो मत ल्याउन सफल भुसाल गृहजिल्लामा किन र कसरी कमजोर देखिए ? प्रश्नको जवाफ उनैले मात्र दिन सक्छन् ।

एमालेका केही नेताले पार्टीमा गुट सकिएकाले यस्तो भएको दाबी गरे । सांगठनिक रुपमा आफ्नो समूह बलियो बनाउन नसक्दा पनि भुसालको राजनीतिक यात्रा ओरालो लागेको बताउनेहरु कम छैनन् । उनको ओरालो यात्राकै कारण भुसालका धेरै समर्थकहरु पनि उनलाई छोड्दै गएका छन् । र, भएकाहरु पनि कतै समेटिन सकेका छैनन् ।

रुपन्देहीमा पार्टी उपाध्यक्ष पौडेल, सचिव विश्वकर्मा, नेताहरु भट्टराई, लीला गिरी, नेत्र पन्थी, राधा ज्ञवालीलगायत आफ्ना समर्थकहरुलाई व्यवस्थापन गर्न सफल देखिए । तर, भुसाल यसमा सफल देखिएनन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा भुसालकै एक्लो जोडबलमा वासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकाको मेयरको टिकट पाएका थिए । मेयरसमेत जितेका घिमिरे अहिले भुसाल क्याम्पमा छैनन् । उल्टै भुसालकै हाराहारीमा उम्मेदवार सिफारिस भएका छन् ।

एमालेका धेरै कार्यकर्ताले भुसालले भन्दा घिमिरेले यो क्षेत्रमा धेरै मत ल्याउनसक्ने भएका दलिल पेश गरिरहेका छन् । त्यसैले अब भुसालको विकल्पको रुपमा घिमिरेलाई अघि सार्नुपर्ने उनीहरुले माग गरिरहेका छन् । एमालेले यहाँबाट भुसाल र घिमिरेसँगै दुर्गा भुसाल र यज्ञजीत शाहको नाम सिफारिस गरेको छ ।

निर्वाचन क्षेत्रले उम्मेदवार सिफारिस गर्ने निर्णय गर्दैगर्दा गएको आइतबार उनले काठमाडौंमा संसद विघटन गर्नु गलत भएको बताइरहेका थिए । मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको समाजवादको नेपाली मार्गचित्र विषयक विचार गोष्ठीमा भुसाल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग एउटै मञ्चमा थिए ।

वामपन्थी शक्तिहरुबीच एकता गर्नुपर्ने तर्क गर्दै कम्युनिष्ट शक्तिहरु एक हुनुपर्ने बताउने भुसालले यो पटक आफ्नो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको उम्मेदवारको टिकट नपाउन सक्ने चर्चा छ । केन्द्रीय कमिटी बैठकमा समेत एमालेले संसद विघटन गर्ने काम गरेर ठूलो गल्ती गरेको भन्दै क्षमा माग्नुपर्ने प्रस्ताव गरेका थिए उनले ।

संसदीय राजनीति र नेकपा विभाजनका विषयमा ओलीसँग फरक मत राखेकै कारण पनि भुसाल यो पटक उम्मेदवार हुनबाट बञ्चित हुनसक्ने उनी निकट नेताहरु बताउँछन् ।

नेता भुसाल आफूलाई सिफारिस गर्ने दुवै क्षेत्रीय कमिटीलाई धन्यवाद दिँदै पार्टीले जहाँ खटाए पनि जाने बताउँछन् । ‘पार्टीले निर्णय गरेर जहाँ पठाउँछ त्यही जाने हो, देशका जुनसुकै क्षेत्रमा पठाए पनि जान तयार हुनुपर्‍यो नि’, उनले भने, ‘तर, मैले पहिलेदेखि अनुभव संगालेको क्षेत्र र आफनो घर भएको क्षेत्र मेरो प्राथमिकतामा छन् । साथीहरुले के निर्णय गर्नुहुन्छ । सिफारिस गर्ने कमिटीलाई धन्यवाद छ ।’

संसदीय सम्पर्क कार्यालय क्षेत्र नं. ३ का प्रमुख एवं भुसालका पूर्वस्वकीय सचिव मनोज रिजालले भुसाल मंसिर ४ को निर्वाचनको तयारीमा जुटिसकेको बताउँछन् । ‘घनश्याम भुसाल आफ्नै निर्वाचन क्षेत्रमा सर्वसम्मत हुनुभएन भन्ने भ्रम फैलाउने उद्देश्यले ४ जनाको नाम सिफारिस गरिएको हो’, उनले भने, ‘अहिले उम्मेदवार हुन नचाहेको भन्दै हल्ला फैलाउने काम भइरहेको छ ।’

एमालेले पाँच दलीय सत्ता गठबन्धनविरुद्ध राप्रपासँग चुनावी तालमेलको तयारी गरेको छ । एमालेसँग चुनावी तालमेल भए राप्रपाले भुसालको निर्वाचन क्षेत्रमा पूर्वमन्त्री दीपक बोहोरालाई प्रमुख दावेदारमा राख्ने जनाउ दिइसकेको छ । भुसालले २०७४ सालको निर्वाचनमा कांग्रेस-राप्रपा गठबन्धनबाट उम्मेदवार बनेका बोहोरालाई हराएका थिए । यता बोहोराले क्षेत्र नं ३ भन्दा १ मा दाबी गर्ने बलियो सम्भावना रहेको पनि बताइन्छ । यी दुवै क्षेत्रमा राप्रपाको जनमत अन्य क्षेत्रमा भन्दा राम्रो छ ।

राप्रपा लुम्बिनीका अध्यक्ष प्रदीप उदयले बोहोरालाई प्राथमिकतामा क्षेत्र नम्बर १ मै राख्न सकिने संकेत गरे । तर, एमालेका सचिव एवं २०७४ सालको निर्वाचनमा विजयी विश्वकर्माले यो क्षेत्र नछोड्ने अडान लिएका छन् । त्यसैले बोहोराले ३ मै चित्त बुझाउनुपर्ने देखिएको छ । तर, भुसाल निकट एक नेता क्षेत्र नं १ मा विश्वकर्मा र ३ मा बोहोरालाई टिकट दिएर भुसाललाई माइनस गर्ने तयारी पनि अघि बढेको दाबी गर्छ ।

गएको स्थानीय निर्वाचनमा वडाध्यक्षहरुको मतअनुसार रुपन्देही क्षेत्र नं ३ मा राप्रपाले १३ हजार ३९७ मत ल्याएको छ । कांग्रेसले ३४ हजार १५३, एमालेले २९ हजार ४८, जसपाले ६ हजार १८३, माओवादीले २ हजार ८८१, लोसपाले २ हजार १७४ र नेकपा एसले ९७७ मत पाएका छन् ।

जसअनुसार सत्ता गठबन्धनको मत ४४ हजार १९४ र एमाले र राप्रपाको मत ४२ हजार ४४५ छ । यस क्षेत्रमा गठबन्धनबाट गृहमन्त्री बालकृष्ण खाण उठ्ने पक्कापक्की छ । तर, यस क्षेत्रमा राप्रपा-एमाले गठबन्धन भएर बोहोराले टिकट पाए खाणले क्षेत्र नं २ मा आउने गरी तयारी गरेका छन् । उनको यही योजनाअनुसार २ बाट खाणको पहिलो नम्बरमा नाम सिफारिस भएको छ । तर, विश्लेषकहरुका अनुसार विश्वकर्मा समानुपातिक बसेर बोहोरा १, खाण २ र विष्णु पौडेल ३ मा लड्ने गरी नेताहरुले नै आन्तरिक छलफल चलाएका छन् ।

क्षेत्र नम्बर १ मा वडाध्यक्षहरुले पाएको मतअनुसार कांग्रेसले ३२ हजार ९९९, एमालेले ३० हजार ३९४, राप्रपाले १४ हजार ५५२, जसपाले ६ हजार ६९५, माओवादीले ४ हजार २०२ र नेकपा एसले १२४३ मत पाएका छन् । लोसपाको मत ३२५ छ । यहाँ गठबन्धन दलको मत ४५ हजार १३९ पुग्छ । एमाले र राप्रपाको मत ४४ हजार ९४६ हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर