निर्वाचनको संघारमा दल अदलबदल, टिकटको लोभ कि आन्तरिक मतभेद ? – Nepal Press

निर्वाचनको संघारमा दल अदलबदल, टिकटको लोभ कि आन्तरिक मतभेद ?

रुपन्देही । मंसिर ४ गते संघ तथा प्रदेशको निर्वाचन मिति घोषणा भइसकेपछि सबैजसो दलमा आकांक्षी उम्मेदवारको सूची सार्जनिक हुन थालेको छ ।

हरेक दलमा व्यक्तिले कति पटक संसदीय फाँटमा जिम्मेवारी लिने र पार्टी कमिटीमा कति समय बस्न पाउने कार्यविधि नभएकाले पहुँचमा भएकाहरू पटक-पटक दोहोरिएका छन् । यसरी अवसर पाएकाहरूले नयाँलाई अवसर दिने विषय आएपछि सीधै असन्तुष्ट भएर अर्को पार्टीको दैलो चहार्ने गरेका उदाहरण पनि प्रशस्तै छन् ।

निर्वाचनको मुखमा टिकट नपाउने छनक बुझेर या दल बदल्दा टिकट सुनिश्चित गर्न पार्टी फेर्ने क्रम पनि सुरू भएको छ । विभिन्न दलका नेताहरूले सामाजिक सञ्जालमा व्यक्त गरेका अभिव्यक्तिहरूबाट यसको संकेत देखिन्छ ।

कपिलवस्तुबाट विभिन्न पार्टीको केन्द्रीय नेतृत्वमा पुगेर अवसर लिएका पूर्वमन्त्री दानबहादुर चौधरी डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय उपाध्यक्ष छाडेर केही दिनअघि एमालेमा प्रवेश गरेका छन् । सांसद, मन्त्री भइसकेका चौधरी १४ वर्षपछि पुनः नेकपा एमालेमा प्रवेश गरेका छन् ।

२०५१ सालदेखि १४ वर्ष एमालेमा अवसर लिएपछि उनी मधेसवादी पार्टीमा प्रवेश गरेका थिए । यो बीचमा तमलोपा, राजपा, जसपा, नयाँशक्ति, नेपाल समाजवादी पार्टीलगायतमा उनी प्रवेश गरेर विभिन्न अवसर लिँदै पुनः एमालेमा फर्केका हुन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीले उनलाई एमालेमा स्वागत गरिसकेका छन् । कपिलवस्तुबाट सांसद जितेर मन्त्री बनिसकेका उनी पुनः एमालेमा टिकटकै लागि आएको अनुमान धेरैले गरेका छन् ।

जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय सदस्य एवं पूर्व वन तथा भू-संरक्षण मन्त्री मोहम्मद वकील मुसलमान नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । पूर्वमन्त्री मुसलमानलाई केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव हरिबोल गजुरेललगायतले पार्टीमा स्वागत गरेका छन् ।

मुसलमान २०६४ सालको पहिलो संविधानसभा सदस्य निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरम, नेपालबाट तत्कालीन रुपन्देही क्षेत्र नम्बर ७ बाट निर्वाचन जितेका थिए ।

माओवादीले रुपन्देहीको दक्षिणी क्षेत्रलाई समेट्ने गरी गठबन्धनबाट टिकट पाउँदा बलियो उम्मेदार नभएको चर्चा चलिरहेको समयमा मुसलमानको माओवादी यात्रा यसैको संकेत मान्न सकिन्छ ।

२०५४ सालदेखि ०७८ सालसम्म पाल्पाको तानसेन नगरपालिकाकामा एमालेबाट मेयर बनेका अशोककुमार शाही केही दिनअघि नेकपा एसमा प्रवेश गरे । एमालेमा यो पटक पनि पुनः मेयर दाबी गरेका शाहीले टिकट नपाएपछि असन्तुष्ट बनेका थिए । पूर्वउपमेयर लक्ष्मीदेवी पाठकसहित १६ जना कार्यकर्ता लिएर शाही एसमा लागेका छन् । गठबन्धनबाट प्रदेशमा टिकट पाउने आशमा उनी प्रवेश गरेको सामाजिक सञ्जालमा आलोचना हुन थालेको छ ।

नेकपा एसका नेता सोमप्रसाद पाण्डेको गृहजिल्ला पाल्पामा भर्खरै सकिएको स्थानीय तहको निर्वाचनमा यहाँ उक्त पार्टीले ५ सय मत पनि कटाउन सकेन । शाहीसहितका नेतालाई स्वागत गर्न सम्मानित नेता झलान खनाल आएका थिए ।

दाङको शान्तिनगर गाउँपालिकाका एमाले नेता डिल्लीबहादुर पाण्डे नेपाली कांग्रेस प्रवेश गरेका छन् । शुक्रबार तुलसीपुरमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दीपक गिरीले पाण्डेलाई पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन् ।

पाण्डेले गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा शान्तिनगर गाउँपालिका वडा नम्बर ७ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । नेकपा एमालेले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा भने एमालेले पाण्डेलाई वडा नम्बर ७ को अध्यक्ष पदमा उम्मेदवार बनाएको थियो । त्यति बेला उनी पराजित भएका थिए । २०७४ सालमा पाण्डेकी श्रीमतीलाई एमालेले गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बनाएको थियो ।

त्यस्तै तुलसीपुर उपमहागनरपालिका वडा नम्बर ११ कटाँहा निवासी वीरबहादुर बस्नेत पनि पुनः कांग्रेसमा फर्किएका छन् । बस्नेत २०७४ सालको चुनावताका नेकपा एमालेमा प्रवेश गरेका थिए । बस्नेत साविक उरहरी गाविसका पूर्व कांग्रेस इकाइ सभापति पनि हुन् । त्यसअघि उनी माओवादीमा आबद्ध थिए ।

एमाले नेता टेकराज पौडेलले पार्टी फेरेर नयाँ दलमा आउनेहरूलाई तत्कालै टिकट दिने व्यवस्थाले लामो समय काम गरेकालाई निरुत्साहित गराउने बताउँछन् ।

विश्लेषक ऋषिराम आचार्य निर्वाचनको मिति घोषणा भएपछि पार्टी फेरेर टिकट लिने परम्पराले राजनीतिमा गलत संस्कार बसालेको तर्क गरेका छन् ।

‘यसरी नवआगन्तुकले टिकट पाउँदा लामो समय पार्टीमा संघर्ष गरेकाहरुलाई राजनीतिप्रति वितृष्णा जगाउँछ, यस्तो गलत संस्कारलाई सबै दलले निरुत्साहित गर्नुपर्नेमा प्रतिस्पर्धा गरेको देखिएको छ, यसले निष्ठाको राजनीति हराउनुको साथै नयाँ पिँढीलाई राजनीतिप्रति वितृष्णा बढाउनेछ’, उनले भने । .

अध्यापक भरतराज पोखरेलले चुनावको बेला पार्टी फेर्ने प्रचलन पहिले तराईमा बढी देखिएपनि अहिले सबैतिर रोग सरेको बताए ।

‘टिकटकै लागि पार्टी फर्नेहरूले राजनीतिलाई विकृत बनाए, यसले आन्तरिक प्रतिस्पर्धालाई कमजोर बनाएको छ, संघर्ष गरेका कार्यकर्तालाई निरुत्साहित गरेको छ’, उनले भने ।


प्रतिक्रिया

2 thoughts on “निर्वाचनको संघारमा दल अदलबदल, टिकटको लोभ कि आन्तरिक मतभेद ?

  1. वडामा विद्रोही उठेर हारेकोलाई ठूलै नेता बनाएर समाचार बनाएको भने अलि खल्लो लाग्यो, अरु त ठिक छ ।

    1. यसमा प्रतिनिधिमूलक उदाहरण मात्रै उल्लेख छ पछिल्लो केही दिनकोे, सबै पार्टी छाडेका एकएक जनाको उदाहरण । खासमा टिकट नपाएरै, अवसर नपाएरै पार्टी छाड्छन् वा आन्तरिक मतभेद भन्ने विषय उठाउन खोजिएको हो सर । सुझावका लागि धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर