चुनावैपिच्छे पार्टी फेरेका वृजेशकुमार, संसद यात्रामा होला निरन्तर ? – Nepal Press

चुनावैपिच्छे पार्टी फेरेका वृजेशकुमार, संसद यात्रामा होला निरन्तर ?

रुपन्देही । लगातार चुनाव जित्ने सीमित नेताहरुको सूचीमा छन् कपिलवस्तुका वृजेशकुमार गुप्ता । पार्टी फेरेरै भए पनि उनले २०५६ सालदेखि निरन्तर सांसद जित्दै आएका छन् ।

निर्वाचन हार्न नजान्ने नेताको पहिचान बनाएका गुप्ता यसपटक फेरि नयाँ पार्टीबाट सांसद बन्ने तयारीमा लागेका छन् । राप्रपा, तमलोपा हुँदै स्वतन्त्र सांसद बनेका उनी अहिले नेकपा एमालेमा छन् । चारपटक लगातार चुनाव जितेका उनी यो पटक पनि एमालेबाट मैदानमा उत्रिसकेका छन् । तर, पार्टीले टिकटको टुंगो नलगाउँदसम्म आफूले चाहेरमात्रै नहुने उनको भनाइ छ ।

चारपटक लगातार जितेका गुप्ता अहिले एमाले केन्द्रीय सदस्य बनेर अरुलाई पनि जिताउने जिम्मेवारीमा पुगेका छन् । तैपनि उनी पुनः कपिलवस्तु २ नम्बर क्षेत्रबाटै आगामी निर्वाचन लड्ने तयारीमा छन् उनी । गुप्तालाई गत चैत १४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले विशेष कार्यक्रम गरेर कपिलवस्तुमै पार्टीमा स्वागत गरेका थिए । उनी एक्लै एमालेमा आएनन्, उनको प्रवेशले जिल्लाको दक्षिणी क्षेत्रमा एमालेलाई राम्रो प्रभाव परेको स्थानीय तहको निर्वाचनले पनि देखाएको छ ।

गुप्ताले २०५६ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ नम्बर क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्यायलाई पराजित गरेका थिए । त्यसपछि २०६४ सालमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट कांग्रेसका शोभाखर पाण्डेलाई पराजित गरेका थिए । त्यो बेला देशभर माओवादीको पक्षमा लहर आउँदा पनि उनले चुनाव जितेर चर्चा कमाएका थिए ।

२०७० सालमा पनि तमलोपाबाटै चुनाव लडेर कांग्रेसका पाण्डेलाई पुनः पराजित गरेका थिए । त्यो बेला जिल्लामा कांग्रेसको संगठन धेरै बलियो भएकाले उनले जित्न नसक्ने धेरैले आंकलन गरेका थिए । २०७४ सालमा हृदयेश त्रिपाठीको पक्षमा रहेर स्वतन्त्र समूहबाट एमालेको सूर्य चुनाव चिह्न लिएर निर्वाचन लडेका उनले कांग्रेसका सुरेशराज आचार्यलाई पराजित गरेका थिए ।

गुप्ताले कांग्रेसका जिल्ला सभापतिसमेत रहेका सुरेन्द्रराज आचार्यलाई ३ हजार ५ सय ८१ मत अन्तरले पराजित गरेका थिए । गुप्ताले ३५ हजार १४७ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी आचार्यले ३१ हजार ५ सय ६६ मत पाएका थिए ।

चुनाव जित्ने ब्राण्ड बनेका उनी जहाँ जान्छन्, उनका मतदाता उही लैजानसक्ने क्षमता देखाएका छन् आफ्नो क्षेत्रमा । तर, अहिलेको अवस्था भने फरक छ । उनको पार्टी एमालेविरुद्ध बलियो गठबन्धन बनेको छ । यसअघि थोरै मतले जितेका उनलाई यसअघि भोट दिएकाहरु नै फरक गठबन्धनमा छन् । त्यसकारण पनि उनलाई चुनौती छ ।

निर्वाचनका लागि गुप्ताले अहिले बढी ध्यान दिनुपरेको बताउँछन् । गुप्ताले भने, ‘अझै पार्टीले केही निर्णय गरेको छैन । चुनाव जित्न गाह्रो छैन । यहाँका जनता र पार्टीको पूर्ण साथ रहन्छ भन्ने विश्वास गरेर अगाडि बढेको छु । जनताले काम हेरेका छन्, म सधैँ जनताको काममै रहन्छु ।’

एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारी गुप्ताको एमाले प्रवेशले त्यो क्षेत्रमा पार्टीको अवस्था धेरै सुधार भएको बताउँछन् । ‘उहाँले पटक-पटक जितेको क्षेत्र हो, मन्त्री बनेर पनि धेरै काम गर्नुभएको छ, उहाँका आफ्नै मत छन् । त्यसमाथि अहिले पार्टीको पनि बलियो क्षेत्र भएकाले जित्ने आधार धेरै छन् । टिकटको विषयमा त्यो क्षेत्रमा उहाँको विकल्पमा अहिले कोही आउला जस्तो लाग्दैन । तर, निर्णय केही नभएकाले यसै भन्न सकिँदैन’, अधिकारीले भने ।

केही दिनअघि एमालेले उनलाई केन्द्रीय कमिटी सदस्यमात्रै बनाएको छैन, उनको क्षेत्र सजिलै जित्न सकिने क्षेत्रमा राखेको छ । एमालेले प्रतिनिधिसभातर्फ कपिलवस्तु २ लाई चुनाव जित्ने निर्वाचन क्षेत्रको रुपमा राखेकाले पनि यहाँ उनको प्रभावलाई बलियो मान्न सकिन्छ । तर, स्थानीय तहको निर्वाचनको तथ्यांकले भने त्यसो भन्दैन ।

स्थानीय तह चुनावमा वडाध्यक्षले पाएको मतका हिसाबले एमालेभन्दा कांग्रेस ३७ सय मतले अगाडि देखिन्छ । कांग्रेसले यो क्षेत्रमा ३० हजार ९९८ मत पाएको छ । एमालेले २७ हजार २९८ मत पाएको छ । यहाँ जसपाले ६ हजार ९०८ मत पाउँदा नेकपा (माओवादी केन्द्र) को मत ४ हजार ४५९ आएको छ ।

नेकपा एसको मत ६९१ छ । लोसपाले ६ हजार ३८६ मत ल्याउदा राप्रपाले २ हजार ३५ मत ल्याएको छ । तर, गुप्ता चुनाव उठ्दा स्थानीय तहको चुनावी मत उल्टिने एमालेको दाबी छ ।

गठबन्धनबाट अहिले नेपाली कांग्रेसले पाउने सम्भावना बलियो छ । कांग्रेसबाट यसअघि उनै गुप्तासँग पराजित सुरेन्द्रराज आचार्य बलियो दावेदार रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर