भदौ ३ देखि प्रदर्शनमा आउँदै ‘माइकल अधिकारी’, प्रचार तीव्र, पूर्वी नेपाल पुगेर के भने कलाकारले ? – Nepal Press

भदौ ३ देखि प्रदर्शनमा आउँदै ‘माइकल अधिकारी’, प्रचार तीव्र, पूर्वी नेपाल पुगेर के भने कलाकारले ?

काठमाडौं । भदौ ३ देखि सार्वजनिक प्रदर्शनमा आउने सिनेमा ‘माइकल अधिकारी’ यतिबेला चर्चामा छ ।

सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित सिनेमाले प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारलाई अझ तीव्र बनाएको छ ।

यसैबीच शनिबार सौगात मल्ल र निर्माता निरक पौडेलसहितको टिमले पूर्वी नेपालका प्रमुख शहर बिर्तामोड र विराटनगरमा प्रेसमिट तथा मिनी कन्सर्ट सम्पन्न गरेको छ ।

बिर्तामोडको ’वान स्टप मल’ र विराटनगरको ‘सेन्ट्रल मल’मा आयोजना गरिएको कार्यक्रममा सिनेमाको गीतमा कलाकारहरुले प्रस्तुति दिए ।

प्रेसमिटमा बोल्दै अभिनेता सौगातले ’माइकल अधिकारी’मा फरक कथामा मनोरञ्जनको डोज रहेको बताए । झापा र ईलाममा छायांकन गरिएका कारण पनि पूर्वेली दर्शकले सिनेमामा अपनत्व महसुस गर्ने दाबी गरे ।

यस्तै निर्माता निरक पौडेलले हाम्रै समाजको कथा भएकाले सिनेमा हेरेर दर्शक निराश नहुने बताए । उनले भने, ’सेरोगेसीको विल्कुलै नयाँ कथामा परिवार बसेर मनोरञ्जन लिन सक्नु हुनेछ । मनोरञ्जनको हकमा यसले निराश बनाउदैन ।’

रञ्‍जित रौनियारको निर्देशन रहेको सिनेमामा सौगात र सृष्टि दम्पतिको भूमिकामा छन् । एक गरिब दम्पतीले पैसाको जोहो गर्न सेरोगेसी (कोख भाडामा दिने) निर्णय गर्छन् । त्यसपछि दम्पतीको जीवनमा आउने उतारचढाव सिनेमामा देखाइएको छ ।

सिनेमामा सौगात र सृष्टिका अलावा आशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियारलगायतको अभिनय छ ।

मनोज केसी प्रोडक्सन म्यानेजर रहेको सिनेमामा कमल राई/कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा/रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री/दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा/संवाद छ ।

उद्धव पौडेलको प्रस्तुति रहेको सिनेमालाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *