स्वदेश फर्केर प्रचण्डले भने- जापानका चल्तापूर्जा सांसदसँग भेटेँ, नेपालीहरू खुशी भएका छन् (भिडिओ) – Nepal Press

स्वदेश फर्केर प्रचण्डले भने- जापानका चल्तापूर्जा सांसदसँग भेटेँ, नेपालीहरू खुशी भएका छन् (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान भ्रमणबाट फर्केका छन् । फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जापान भ्रमण फलदायी भएको बताए ।

आफ्नो भ्रमणका क्रममा जापानी विदेश विभागका अधिकारी तथा एक सांसदसँग भेटवार्ता भएको प्रचण्डले जानकारी दिए ।

उनले भने, ‘जापानमा रहेका नेपाली तथा त्यहाँका विदेश विभागका अधिकारीहरूसँग मेरो समानान्तर रूपमा कुराकानी भयो । जापानमा भएका नेपालीहरू मेरो भ्रमणबाट धेरै खुशी हुनुभएको छ ।’

आफूले जापानको संसद् भवनको भ्रमण गरेको प्रचण्डले उल्लेख गरे । त्यहाँ आफूलाई एक जना सांसदले स्वागत गरेको उनले बताए ।

‘उहाँले मलाई त्यहाँको संसदीय प्रक्रियाबारे ब्रिफिङ गर्नुभयो । उहाँ जापानका चल्तापुर्जा सांसद हुनुहुँदो रहेछ । चाँडै मन्त्री पनि बन्ने सम्भावना छ भनेर उहाँले नै भन्नुभयो,’ प्रचण्डले सुनाए ।

आफूले जापानको लिबरल डेमोक्रेटिक पार्टीका पूर्व महासचिवसँग पनि भेटेको प्रचण्डले बताए ।

जापानी अधिकारीहरूसँगको भेटमा आफूले फोहोर व्यवस्थापनमा सहयोग मागेको उनको भनाइ छ । ‘जापान फोहोर व्यवस्थापनमा विश्वकै अग्रणी रहेछ । मैले हामीलाई पनि तत्काल सहयोग गर्नुपर्‍यो भनेको छु,’ उनले भने ।

प्रचण्डले आफ्नो भ्रमणमा नेपाली दूतावासको सकारात्मक भूमिका रहेको उल्लेख गरे । हिजो आफ्नो सम्मानमा दूतावासले कार्यक्रम आयोजना गरेको र त्यसमा जापानका ३० जना घघडान व्यक्तिहरू सहभागी भएको उनले बताए ।

माओवादी निकट प्रवासी नेपालीहरूको निम्तोमा प्रचण्ड जापान भ्रमणमा गएका थिए । उनीसँग छोरी गंगा दाहाल पनि थिइन् । फर्कने क्रममा आज विमानस्थलमा प्रचण्डलाई माओवादीका नेताहरूले स्वागत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर