बागमती प्रदेशमा बेथितिः एउटै डीपीआरमा दुई पटक भुक्तानी – Nepal Press

बागमती प्रदेशमा बेथितिः एउटै डीपीआरमा दुई पटक भुक्तानी

हेटौंडा । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको अनियमिताको क्रमशः खुलासा हुँदै आएको छ । मन्त्रालयले कमिसनको चक्करमा एउटै डीपीआर निर्माण गर्न दुई पटक रकम भुक्तानी गरेको पाइएको छ ।

प्रदेश गौरवको आयोजनाको रुपमा रहेको पोष्टबहादुर बोगटी भीमफेदी-कुलेखानी-काठमाडौं सुरुङमार्ग निर्माणको डीपीआर निर्माण गर्दा दुई वर्ष लगातार भुक्तानी गरिएको पाइएको हो ।

मन्त्रालयले सुरुङ मार्गको एउटै डीपीआर निर्माणमा पहिलो पटक एक करोड ३९ लाख भुक्तानी गरेको थियो । सोही डीपीआरलाई पुनरावलोकन भन्दै गत आर्थिक वर्षमा पुनः ५४ लाख रुपैयाँ भुक्तानी गरिएको महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनमा उल्लेख छ । महालेखाले एउटै डीपीआरका लागि दुईपटक भुक्तानी दिएकोमा प्रश्न उठाएपछि मन्त्रालयको बदमासी बाहिर आएको छ ।

मन्त्रालयले कमिसनको चक्करमा एकै प्याकेजमा हुने डीपीआर निर्माणलाई ८७ टुक्रा बनाएर ६ करोड नोक्सानी गरेको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशकै अर्को मन्त्रालय सामजिक विकास मन्त्रालयले निर्माण गरेको डीपीआरमा पनि पुनः रकम खर्च गरेको पाइएको छ । हेटौंडा अस्पतालको भवन निर्माण गर्न सामाजिक विकास मन्त्रालयले तयार गरेर स्वीकृत गरिसकेको डीपीआरका लागि भौतिक पूर्वाधार विकास मन्त्रालयले पनि १६ लाख ६० हजार रुपैयाँ भुक्तानी दिएको पाइएको हो ।

बागमती प्रदेश सरकारमा रहेका सरोकारवालाहरुले प्रदेशमा कागजात मिलाएर चरम भ्रष्टाचार गरेको महालेखाको प्रतिवेदनले खुलासा गरेको हो । प्रतिवेदनले १ लाख ११ हजारको राहत वितरणको लागि २८ लाख रुपैयाँ हवाई भाडा खर्च गरेको प्रतिवेदन निकालेर बागमती प्रदेशमा हुने बेतिथिको पर्दाफास गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर