खराल प्राविधिकतर्फ रिक्त रहेको सचिवमा बढुवा – Nepal Press

खराल प्राविधिकतर्फ रिक्त रहेको सचिवमा बढुवा

काठमाडौं । सरकारले रिक्त रहेको प्राविधिक तर्फको एक सचिवमा सहसचिव डा. दीपक खराललाई बढुवा गरेको छ । मंगलबार दिउसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले प्राविधिकतर्फका सहसचिव खराललाई प्राविधिकतर्फकै सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले ज्येष्ठतामा आधारमा खराललाई सचिवमा बढुवा गर्नका लागि सिफारिस गरेको थियो ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार ४ पटकसम्म एक सचिवका लागि तीन सहसचिव र पाँचौँ पटक ज्येष्ठता २० प्रतिशतबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ । त्यसै व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव खरालको नाम मात्रै बढुवा समितिले सिफारिस गरेको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी विकास सचिव निरु दाहालले उमेर हदका कारण अनिवार्य अवकाश पाएसँगै रिक्त पदमा खराल बढुवा भएका हुन् । उनलाई अब कुनै प्राविधिक मन्त्रालय वा निकायमा सचिवको जिम्मेवारी दिइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर