प्राविधिकतर्फ सरजुकुमार वैद्यलाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौँ । सरकारले प्राविधिक तर्फका सहसचिव सरजुकुमार वैद्यलाई सचिवमा बढुवा गरेको छ ।
सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले राजपत्राङ्कित प्रथम श्रेणीका वैद्यलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा जेठ १२ गते बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक तर्फ सचिवमा बढुवाका लागि पहिलो नम्बरमा सहसचिव वैद्य, दोस्रो नम्बरमा रामआधार साह र तेस्रो नम्बरमा विश्वबाबु पुडासैनीको नाम सिफारिस गरेको थियो ।
वैद्य जल तथा ऊर्जा आयोगमा, साह शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा र पुडासैनी बागमती प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रदेश सचिवमा कार्यरत रहेका छन् । सिफारिस भइसकेपछि दुई पटक मन्त्रिपरिषद्को बैठक बसे पनि सचिव बढुवाको निर्णय गरेको थिएन ।