पत्रकार महासंघका अध्यक्ष पोखरेलाई निर्वाचन आयोगको ध्यानाकर्षण – Nepal Press

पत्रकार महासंघका अध्यक्ष पोखरेलाई निर्वाचन आयोगको ध्यानाकर्षण

काठमाडौं । निर्वाचन आयोगले नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई निर्वाचन आचारसंहिताबारे ध्यानाकर्षण गराएको छ । विभिन्न अनलाइन सञ्चार माध्यममा प्रकाशित ‘पत्रकार महासंघका अध्यक्ष भन्छन्–निर्वाचन आयोगले जारी गरेको आचारसंहिता हामीले मान्न जरुरी छैन’ शीर्षकको समाचार प्रकाशन भएपछि आयोगले उनलाई ध्यानाकर्षण गराएको हो ।

नेपाल पत्रकार महासंघका अध्यक्षजस्तो जिम्मेवार पदाधिकारीबाट संवैधानिक निकायले बनाई लागू गरेको निर्वाचन आचारसंहिता, २०७८ लाई चुनौती दिनेगरी बोलिएको अभिव्यक्ति आमसञ्चार माध्यममा आउनु कसैको लागि पनि हितकर विषय नभएको आयोगले प्रष्ट पारेको छ ।

‘निर्वाचन सफल बनाउने प्रमुख पक्ष आचारसंहिताको सही कार्यान्वयन भएकाले मिडियाकमी र सञ्चारमाध्यमले त्यसको महत्वबारेमा सबै पक्षलाई सचेत गराउनुपर्ने तथा त्यसबारे नागरिकलाई सुसूचित गराउने जिम्मेवारी सञ्चारमाध्यम पत्रकारको हुन्छ’ आयोगको अदेशमा भनिएको छ । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ को उपदफा ९४० मा निर्वाचन आचारसंहिताको पालना गर्नु सम्बन्धित सबैको कर्तव्य हुने व्यवस्था छ।

यस्ता किसिमका अभिव्यक्तिले स्वयम् व्यक्तिको अभिव्यक्तिलाई शंकाको घेरामा पुयाउने आयोगको बुझाई छ। ‘आफ्नै संस्थाको तर्फबाट भएको लिखित प्रतिबद्धतालाई जानाजान उल्लङ्घन गरी आचारसंहिताको बन्धनमा नरहनुलाई निष्ठापूर्वक प्रतिबद्धताको अनुसरण गरेको हो भनी मुल्याङ्कन गर्न मिल्ने देखिंदैन ।’ आयोगले आदेशमा भनेको छ ।

‘अध्यक्ष पोखरेलबाट प्राप्त जवाफलाई चित्तबुझ्दो तथा जिम्मेवार जवाफ मान्न सक्ने देखिएन । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०७८ उल्लङ्घन गरेको देखिन आएकोले त्यस विषयमा थप विवेचनासमेत गरी रहनपर्ने देखिएन ।’ आयोगले आदेशमा उल्लेख गरेको छ ।

महासंघका अध्यक्ष पोखरेलले गरेको कार्य निर्वाचन आचारसंहिता, २०७८ तथा निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम जारी भएको आचारसंहिता विपरीत भए गरेको देखिएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम अब आइन्दा निर्वाचन आचारसंहिता विपरितका कार्य नगर्न नगराउन ध्यानाकर्षण गराउने आयोगले आदेशमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर