मौन अवधिअघि देउवाको अपील– विकास र स्थिरताका लागि भोट दिनुस् – Nepal Press

मौन अवधिअघि देउवाको अपील– विकास र स्थिरताका लागि भोट दिनुस्

काठमाडौं । नेपाली कांग्रेसले सबल स्थानीय सरकार निर्माणका लागि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई विजयी गराउन अपील गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार एक विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक समाज निर्माणका लागि सुसंस्कारयुक्त राजनीतिक बागडोरको जिम्मा दिन आग्रह गरेका हुन् ।

विज्ञप्तिमार्फत देउवाले संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन र अधिनायकवादी शैली प्रदर्शन हुँदा कांग्रेसकै नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको दावी गरेका छन् ।

‘नेपाली नागरिकको प्रत्यक्ष संलग्नतामा संविधानसभाले बनाएको संविधानलाई कुल्चेर जनादेशको घोर अपमान गरी पटक–पटक संसद विघटन गरेर अधिनायकवादी शैली प्रदर्शन गर्दैगर्दा नेपाली कांग्रेसको नेतृत्वमा संविधानको अक्षर र भावनाको रक्षा भएको पछिल्लो घटनाक्रम तपाईं हाम्रासामु छर्लङ्ग छ । यही परिवेशमा पाँच दलीय गठबन्धन बनेको र यो निर्वाचनमा समेत गठबन्धनलाई निरन्तरता दिनुपर्ने अवस्थाबारे तपाईं हामी सबै जानकार नै छौं’, देउवाले भनेका छन् ।

स्थानीय तह निर्वाचन लोकतन्त्रको बलियो आधार रहेको भन्दै कांग्रेसले विकास र स्थिरताको प्रतिबद्धतासमेत व्यक्त गरेको छ । ‘नेपाली कांग्रेस एउटा राष्ट्रिय संकल्प, स्पष्ट दूरदृष्टि, इमानदार अठोट, सूचना–ज्ञान र प्रविधिका जानकार जनशक्ति र राजनीतिक एवं शासकीय स्थिरताका लागि प्रतिबद्ध छ । कृषिमा व्यावसायीकरण र आधुनिक प्रविधिको प्रयोग, सर्वसुलभ र गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्यटन क्षेत्रको प्रवर्द्धन, जलविद्युतको उत्पादन, पूर्वाधार विकास, रेमिट्यान्सलाई उत्पादनमुखी क्षेत्रमा लगानी गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नेलगायतका सङ्कल्प नेपाली कांग्रेसले लिएको छ’, देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहाेस् विज्ञप्ति

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर