‘नो भोट’ को ऐतिहासिक सफलता बोकेर १० वर्षपछि चुनावमा फर्किँदैछ तिङ्ला – Nepal Press

‘नो भोट’ को ऐतिहासिक सफलता बोकेर १० वर्षपछि चुनावमा फर्किँदैछ तिङ्ला

काठमाडौं । अघिल्लो पटकको स्थानीय निर्वाचानमा सोलुखुम्बुको तिङ्लामा एक मत पनि खसेन । कुनै पार्टीको बहिष्कार वा दबाबबाट होइन, स्वस्फूर्त रूपमा तिङ्लाबासीले स्थानीय र प्रदेश तथा प्रतिनिधिसभाको चुनावमा ‘नो भोट’ गरेका थिए ।

आफूहरूलाई नेचासल्यान गाउँपालिका होइन सोलु दुधकुण्ड नगरपालिकामा पारियोस् भनेर उनीहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गराए । सदरमुकाममा आन्दोलन गरे । अनि एक हप्तासम्म सोताङ बन्द नै गरे । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नं. ६ मा स्थानीय निर्वाचनमा एक मत पनि नखस्दा देश भर चर्चा भयो ।

किन बहिष्कार भयो तिङलामा चुनाव?

आफूहरूको इच्छाविपरीत अपायक पर्ने गरी साबिकको तिङ्ला गाविसलाई नेचासल्यान गाउपालिकामा समावेश गरिएपछि उनीहरूले सुरूदेखि नै विरोध गरिरहेका थिए । यही कारण तिङलामा गत निर्वाचनमा न त मत खस्यो न यहाँको जनप्रतिनिधि नै भए ।

नेचा सल्यान गाउँपालिकामा अपायक पर्ने भन्दै उनीहरूले साविकको तिङला गाविसलाई सोलु दुधकुण्ड नगरपालिकामा राख्नुपर्ने माग गरेका थिए । मागविपरीत तिङलालाई नेचासल्यान गाउँपालिको वडा नं. ६ बनाएपछि स्थानीय आन्दोलित भए ।

नेपाली कांग्रेसका सांसद बलबहादुर केसीको षड्यन्त्रका कारण आफूहरूलाई अपायक पर्ने गाउँपालिकामा समावेश गरिएको नेचाबासीको आरोप थियो । तर, तिङ्लाको नो भोटको असर भने कांग्रेसलाई नै पर्‍यो । कांग्रेसको गढ मानिने तिङ्लाले नो भोट गर्दा नेचासल्यान गाउँपालिका पनि एमालेले जित्यो र बलबहादुर सांसदमा पराजित भए ।

गाउँपालिकाको केन्द्र तिङला र केरुङको बीचमा राखेको भए तिङ्लावासी गाउँपलिकामै बस्न पनि तयार थिए । तर, त्यो माग पनि सुनुवाइ नभएपछि नेपालमै सम्भवतः पहिलोपटक जनताले नो भोट सफल बनाए ।

उनीहरूले मतदान बहिष्कार गरेका मात्र होइनन्, सो वडामा कुनै पनि उम्मेदवारलाई उम्मेदवारी दिन समेत दिएनन् । ज्ञानबहादुर राई र बलबहादुर विश्वकर्माले स्वतन्त्र रूपमा उम्मेदवारी दिने प्रयास गरे पनि स्थानीयको दबाब र उम्मेदवारी दिए सामाजिक बहिष्कार गर्नेसम्मको चेतावनीपछि उनीहरूले उम्मेदवारी दिने आँट गरेनन् ।

हरेक गाउँ, नगर र वडामा निर्वाचनपछि जनप्रतिनिधि आए । उनीहरू नै योजना ल्याउने, बजेट तर्जुमा र कार्यान्वयनमा तल्लिन भए बितेका पाँच वर्षसम्म । तर, सोलुखुम्बुको तिङ्लामा न वडाध्यक्ष रहे न वडासदस्य नै । नयाँ संविधानसँगै देशभरि स्थानीय सरकार क्रियाशील हुँदा तिङ्लाको प्रशासन अहिलेसम्म पनि कर्मचारीकै हातमा रहेको छ ।

तिङला चुनावमा सहभागी हुँदै

विभिन्न चरणका आन्दोलनका कारण अहिले भने तिङ्लालीको माग पूरा भएको छ । उनीहरू अब नेचासल्यान वडा नम्बर ६ बाट सोलु दुघकुण्ड वडा नम्बर ११ का बासिन्दा भएका छन् ।

२०७४ फागुन १४ गतेको राजपत्रमा तिङला सोलु दुधकुण्ड नगरपालिकामा समेटिएको कुरा प्रकाशित भएको थियो । यसपछि भने तिङलाको प्रसाशकीय कामहरू नगरपालिकाबाट हुन थालेका हुन् ।

अहिले तिङ्लामा चुनावी सरगर्मी बढेको छ । यहाँ हरेक राजनीतिक दलहरू यतिबेला चुनावी अभियानमा लागेका छन् । यो पटक भने तिङ्लाबासीले मतदान गर्ने राजनीतिक दलका स्थानीय नेताहरू बताउँछन् ।

तिङ्लामा दलहरू चुनावी चहलपहलमा लागेको भए पनि एमाले बाहेकका दलहरूमा भने विवाद देखिएको छ । यतिबेला एमालेले वडा अध्यक्षसहितका उमेद्वार तय गरेको भए पनि कांग्रेस-माओवादीले भने गठबन्धनको मोडाललिटी कस्तो भन्ने अन्योल भएका कारण उम्मदवार घोषणा गर्न सकेका छैनन् ।

गाउँमा उम्मेदवार छनोट नभए पनि माओवादी र कांग्रेसका कार्याकर्ता भने चुनावी अभियानमा जुटेका स्थानीय बताउँछन् । २०७० सालको दोस्रो संविधानसभापछि पहिलोपटक उनीहरू यसपाली चुनावमा फर्किँदैछन् ।

२५ वर्षसम्म जननिर्वाचित जनप्रतिनिधि नपाएको तिङलामा यो पटक जनप्रतिनिधि आउने भएपछि स्थानीयमा खुसी जागेको नेकपा एमाले तिङ्लाका वडा अध्यक्ष नरबहादुर कटुवालले बताए ।

कटुवालले यसपटक पनि चुनाव होइन सहमतिमा तिङ्लाको जनप्रतिनिधि चयन गरौं भन्दै अन्य दलले नमानेपछि चुनावमै जानुपरेको बताए । उनले नो भोटको सफल उदाहरण यसपटक सहमतिबाट जनप्रतिनिधि छानेर निरन्तरता दिन खोज्दा सफल नभएको बताए ।

एमालेले तिङ्लामा मानबहादुर कटुवाललाई उमेदवार बनाउने घोषणा गरि सकेको छ । गठबन्धनले उम्मेदवार तय गरेको छैन ।

यो पटकको चुनावमा भाग लिने र तिङ्लाले जनप्रतिनिधि पाउने भएपछि तिङलावासी खुसी भएको नेपाली कांग्रेस तिङ्लाका सभापति बलराम कार्कीले बताए ।

उनले भने, ‘हामीलाई स्थानीय तह पनःसंरचना गर्दा अपायक पर्ने गाउँपालिकामा समावेश गरेका कारण अघिल्लो चुनावमा मतदान गरेनौं । तर, अहिले हामी सबै स्वच्छ प्रतिस्पर्धामा चुनाव लड्ने तयारीमा लागेका छौं । वडाबाट गाउँपालिका केन्द्र पुग्न पाँच घण्टा हिड्नु पथ्र्यो तर सोलुदुधकुण्ड नगरपालिका दुई घण्टामा पुगिन्छ ।’

स्थानीय तह निर्वाचनको मिति नजिकीँदै गर्दा तिङ्लावासीमा खुसी छाएको नेकपा माओवादी केन्द्र तिङ्लाका अध्यक्ष ललित कार्कीले बताए ।

‘अन्य स्थानमा चुनावपछि जनप्रतिनिधि आएपनि तिङलामा संभावना भएन । जनप्रतिनिधि नभएकै कारण तिङला विकासमा पछि परेको छ । तर, अहिलेको चुनावमा मतदान हुने भए पछि सर्वसाधरण जनप्रतिनिधि आउने भए पछि खुसी भएका छन्’ उनले भने ।

२०७४ को स्थानीय तह निर्वाचनमा तिङ्लामा २ हजार ३७६ मतदाता थिए । ५ हजार ९ सय २४ जनसंख्या रहेको तिङलामा अहिलेको स्थानीय चुनावमा २ हजार ८३३ मतदाता रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर