मतदाता भन्छन्- चुनावमा घोषणापत्र होइन, कार्यान्वयनपत्र लिएर आउनुस् – Nepal Press

मतदाता भन्छन्- चुनावमा घोषणापत्र होइन, कार्यान्वयनपत्र लिएर आउनुस्

आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर राजनीतिक दलहरुले सक्रियता बढाएका छन् । प्रदेश एकमा रहेका १४ जिल्लाका १३७ वटै स्थानीय तहका हरेक वडा र टोलटोलमा दलहरु चुनावी एजेन्डा लिएर मतदातासंग पुगिरहेका छन् । र दलहरु चुनावी घोषणापत्र तयार गर्न र आफ्ना उम्मेदवार चयन गर्न लागि परेका छन् । तर मतदाता भने दलहरुलाई घोषणापत्र भन्दा पनि कार्यान्वयनपत्र लिएर आउन आग्रह गरिरहेका छन् ।

निर्वाचित जनप्रतिनिधिले विगतमा गरेका वाचा एवम् घोषणापत्रअनुसार काम नगरेकोप्रति आक्रोश पोख्दै उनीहरुले राजनीतिक दललाई कार्यान्वयनपत्र ल्याउन आग्रह गरेका हुन् । कतिपय दलहरुले निर्वाचनका समय घोषणपत्रमा एउटा र व्यवहारमा अर्को कामसमेत गरेको मतदाताको गुनासो छ ।

ओखलढुंगाको लिखु गाउँपालिका वडा नं. ६ का इन्द्रबहादुर पौडेल स्थानीय समस्या पहिचान र सम्बोधनका लागि अगुवाइ गर्नसक्ने व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने सुझाव दिन्छन् । ‘जनताको समस्या र आवश्यकता बुझेर काम गर्न सक्ने उमेद्वार बनाउनुपर्छ,’ उनले भने’, सबै दलहरुले सक्षम र योग्य व्यक्तिलाई उम्मेदवार बनाए भने मतदातालाई विवेक प्रयोग गर्न सजिलो हुन्थ्यो ।’ अघिल्लो निर्वाचनमा घोषणपत्रमा यो गर्छौ र त्यो गर्छौ भन्दै आएका जनप्रतिनिधिले घोषणापत्रमा भनेझैं काम केही नभएको उनको गुनासो छ ।

झापाको अर्जुनधारा ३ का खगेन्द्र भट्टराईले चुनाव नजिकिएसँगै गाउँमा राजनीतिक सरगर्मी बढेको बताए । स्थानीय बजारमा व्यवसाय गरेर बसेका उनि हरेक चुनावमा जनताको घरदैलोमा देखिने नेताहरु चुनावपछि जनता संग अनुहार नै नदेखाउने परिपाटीले जनता आजीत भएको बताउँछन् ।

उनले भने ‘हरेक चुनावमा यो गर्छौ र त्यो गर्छौ भन्दै घोषणपत्र लिएर आउने गरेपनि निर्वाचित भएपछि जनताका समस्या सामधान गर्न फर्केर आउँदैनन् । घोषणपत्रमा लेख्छन्, तर काम भने गर्दैनन् । जसकारण योग्य उम्मेदवार छनोट गर्न नै समस्या भएको छ ।’ उनले आफ्नै नगरपालिकामा पनि घोषणपत्रअनुसार काम नभएको बताए ।

वैदेशिक रोजगारीबाट हालै स्वदेश फर्किएका ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाका दानुरी शेर्पाले युवाको रोजगारी, गुणस्तरीय स्वास्थ्य, वैज्ञानिक शिक्षा, सन्तुलित विकास, सुशासन र पारदर्शिताको मद्दा अबको चुनावी एजेण्डा बन्नुपर्ने बताए ।

राजनीतिक योगदान गरेका, स्वच्छ छवी भएका, सामाजिक भावना भएका र अनुभवी व्यक्तिलाई मतदाताले उम्मेदवारका रुपमा चाहेका उनको भनाइ छ । उनले पनि हरेक राजनीतिक दलहरुले आफ्ना चुनावी घोषणपत्रअनुसार काम गर्नुपर्ने बताए ।

प्रदेश १ मा १४ जिल्लाका १३७ स्थानीय तहमा १६ लाख ९९ हजार ८०० पुरुष तथा १६ लाख ४७ हजार ५६१ माहिला र अन्य २३ गरी कुल ३३ लाख ४७ हजार ३८४ जना मतदाताले योपटकको स्थानीय तह निर्वाचनमा मतदान गर्दैछन् ।

प्रदेश १ मा एक हजार ८७७ मतदानस्थल र ४ हजार ५१ मतदान केन्द्र कायम भएको निर्वाचन आयोगले जनाएको छ । १३७ स्थानीय तह रहेको प्रदेश १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले ५१, नेकपा एमालेले ६९, माओवादी केन्द्रले ९, मधेशी जनअधिाकर फोरमले ३, राप्रपाले ३, संघिय समाजवादी फोरमले २ स्थानमा परिणाम आफ्नो पक्षमा ल्याउन सफल भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर