प्रधानमन्त्रीको भारत भ्रमण : उद्घाटनदेखि तीर्थाटनसम्म – Nepal Press

प्रधानमन्त्रीको भारत भ्रमण : उद्घाटनदेखि तीर्थाटनसम्म

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (शुक्रबार) देखि २ दिने भारत भ्रमण गर्दैछन् । गत असार २९ मा पाँचौपटक मुलुकको कार्यकारी प्रधानमन्त्री भएयता प्रधानमन्त्री देउवाले पहिलोपटक छिमेकी मित्रराष्ट्रको भ्रमण गर्न लागेका हुन् । त्यसअघि प्रधानमन्त्री देउवा गत कात्तिकमा ग्लास्गो सम्मेलनका दौरान यूरोप पुगेका थिए ।

यूरोप भ्रमणकै दौरान अमेरिकी राष्ट्रपति जो बाइडन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वनेताहरूसँग देउवाले शिष्टाचार भेट गरेका थिए । गत जनवरीमै ‘गुजरात समिट’ का लागि भारत जाने तय भएपछि कोरोनाको तेस्रो लहरका कारण सम्मेलनसँगै देउवाको भ्रमण स्थगित भएको थियो ।

नेपालको राजनीति र दिल्लीको यात्रा

नेपालको पछिल्लो राजनीतिक उतारचढावका दौरान नेपाल-भारत उच्चस्तरीय भ्रमण हुन सकेका छैनन् । खासगरी २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता नेपालको राजनीतिमा धेरै उतारचढाव आइसकेको छ ।

प्रतिनिधिसभाको पहिलो विघटन असफल भएपछि ओली नेतृत्वकै सरकारले ‘लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा’ कार्यान्वयनमा आएको थियो । संविधान संशोधनमार्फत् नेपालले जारी गरेको नयाँ नक्साप्रति भारतीय असन्तुष्टी विभिन्न माध्यमबाट व्यक्त हुँदै आएको छ ।

प्रतिनिधिसभाको दोस्रो विघटन र सर्वोच्च अदालतको परमादेशपछि नेपालमा राजनीतिक समीकरण फेरबदल भएको छ । ओली नेतृत्वको बलियो नेकपा ३ टुक्रा भएको अवस्था छ । कमजोर प्रतिपक्ष मानिएको कांग्रेसले ५ दलीय गठबन्धन सरकारको नेतृत्व गरिरहेको छ । नेपालमा विकसित राजनीतिक घटनाक्रमबारे विगतमा जस्तो तीब्र प्रतिक्रिया जनाउन छाडेका कारण प्रधानमन्त्री देउवाको भारतभ्रमण राजनीतिकरूपमा पनि अर्थपूर्ण मानिएको छ ।

नेपालको पछिल्लो राजनीतिक उतारचढावका दौरान नेपाल-भारत उच्चस्तरीय भ्रमण हुन सकेका छैनन् । खासगरी २०७७ पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेयता नेपालको राजनीतिमा धेरै उतारचढाव आइसकेको छ ।

प्रतिनिधिसभा पुनःस्थापना, नेकपा सरकारको बहिर्गमन, कांग्रेस नेतृत्वमा गठबन्धन सरकारको निर्माण, एमसीसी सम्झौता अनुमोदन र स्थानीय निर्वाचन घोषणा लगायतका घटनाक्रम नेपाली राजनीतिमा ताजा रहेका छन् । विगतदेखि नै नेपालको आन्तरिक राजनीतिमा चासो राख्ने भारतीय संस्थापनले यसपटक प्रधानमन्त्री देउवाको भ्रमणमा कूटनीतिक माध्यमबाट प्रस्तुत गर्ने राजनीतिक ‘धारणा’ मा दुवै देशको चासो रहनेछ ।

प्रधानमन्त्रीका प्राथमिकता

भ्रमण तालिकालाई हेर्ने हो भने प्रधानमन्त्री देउवाको भारत भ्रमण ‘हतारो’ मै टुंगिनेछ । शुक्रबार दिउँसो ३ बजे दिल्ली पुगेपछि प्रधानमन्त्री देउवा भेटघाट र औपचारिक समारोहमा निरन्तर व्यस्त रहनेछन् ।

प्रधानमन्त्री देउवाको शनिबारको कार्यतालिका भने भ्रमणको मुख्य प्राथमिकता अन्तर्गत पर्नेछ । जहाँ प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन् । सो भेटलगत्तै दुवै देशका प्रधानमन्त्री संयुक्त पत्रकार सम्मेलनमा सरिक हुनेछन् भने नेपाल-भारत रेलसेवाको संयुक्त उद्घाटन गर्नेछन् ।

रेलसेवाको उद्घाटनबाहेक नेपालले प्रधानमन्त्रीको भ्रमणका दौरान केही अन्य विषयहरूको उठान गर्नेछ । वर्षायाममा नेपाललाई बढी हुने बिजुली खरिदका लागि नेपालले भारत सरकारलाई आग्रह गर्ने तयारी गरेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागि भारतीय अकाशको रुट प्रदान गर्न पनि नेपालले भारतसँग आग्रह गर्नेछ ।

प्रधानमन्त्री देउवा भारत भ्रमणको दौरान ‘धर्मकर्म’ मा पनि व्यस्त रहनेछन् । धार्मिक सहरका रूपमा प्रसिद्ध बनारसमा प्रधानमन्त्री देउवालाई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन् । बनारसमा विशुद्ध धार्मिक गतिविधिमा प्रधानमन्त्री देउवा व्यस्त रहनेछन् ।

देउवाले विगतमा आफैं प्रधानमन्त्री हुँदा भारतसँग महाकाली सम्झौतामार्फत तयार गरेको पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अगाडि बढाउने विषलाई पनि प्राथमिकतामा राखेका छन् । त्यसबाहेक दुवै देशका प्रबुद्ध व्यक्तिहरू सम्मिलित कार्यदल (ईपीजी) ले दिएको प्रतिवेदनबारे पनि नेपाल पक्षले चासो राख्नेछ ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतमा रहेका नेपाली समुदायसँग नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममार्फत र भारतीय उद्योगी व्यवसायीसँग भारतीय उद्योगीहरूको संस्थाले आयोजना गर्ने कार्यक्रममार्फत अन्तरक्रिया गर्नेछ ।

तीर्थाटन पनि सँगै

प्रधानमन्त्री देउवा भारत भ्रमणको दौरान ‘धर्मकर्म’ मा पनि व्यस्त रहनेछन् । धार्मिक सहरका रूपमा प्रसिद्ध बनारसमा प्रधानमन्त्री देउवालाई उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्नेछन् । बनारसमा विशुद्ध धार्मिक गतिविधिमा प्रधानमन्त्री देउवा व्यस्त रहनेछन् ।

प्रधानमन्त्री देउवासँगै उनकी पत्नी, कांग्रेस केन्द्रीय सदस्य आरजु राणा पनि साथमा हुनेछिन् । बनारसमा साँझको आरती र काशीनाथमा बिहानको पूजा सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्कनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर