अन्ततः एमालेविरुद्ध बन्ने भयो महागठबन्धन – Nepal Press

अन्ततः एमालेविरुद्ध बन्ने भयो महागठबन्धन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेविरुद्ध चुनावी महागठबन्धन बन्न पक्का भएको छ । प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसले ‘स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्नसक्ने’ निर्णय गरेसँगै सत्ता गठबन्धनका सबै दल चुनावी महागठबन्धनको पक्षमा उभिएका हुन् ।

सत्ता गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा यसअघि नै चुनावी तालमेलको पक्षमा उभिइसकेका छन् । गठबन्धनका अन्य दलले कांग्रेसकै औपचारिक निर्णय पर्खिरहेका थिए । कांग्रेस केन्द्रीय समितिको मंगलबार सम्पन्न बैठकले तालमेलको पक्षमा निर्णय लिएको छ ।

‘स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकता अनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्नसक्ने नीतिगत निर्णय यो बैठक गर्दछ’, कांग्रेसको निर्णयमा भनिएको छ ।

कांग्रेसले आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णयमा पुग्नुअघि ३ दिनसम्म केन्द्रीय समितिमा छलफल गरेको थियो । छलफलमा अधिकांशले स्थानीय तहको निर्वाचन भएकाले आवश्यक स्थानमा तालमेल गर्नुपर्नेमा जोड दिएका थिए । सभापति शेरबहादुर देउवा स्वयंले ‘एमाले अझ बलियो भएकाले तालमेल गर्नैपर्ने’ बताएका थिए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले त बैठकमा विशेष समय लिएर ‘केपी ओलीलाई साइजमा राख्न’ चुनावी तालमेल गर्नुपर्ने बताएका थिए । ‘एमालेविरुद्ध हाम्रो मुख्य प्रतिस्पर्धा हो । बरु माओवादी र समाजवादीलाई भोट हालेर भएपनि एमालेलाई साइजमा राख्नुपर्छ’, पौडेलले बैठकमा भनेका थिए । गठबन्धनको पक्षमा रहेका सबै जसो नेताहरुले ‘तालमेल नगरे स्थानीय निर्वाचनमा एमाले नै पहिलो हुने’ तर्क पेश गरेका थिए । सभापति देउवाले त सार्वजनिक कार्यक्रममै ‘एमालेको शक्ति नघटेको’ टिप्पणी गरेका थिए । यहीकारण कांग्रेसले स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।

कांग्रेसका एक केन्द्रीय सदस्य ‘आवश्यकता’ भन्नु नै एमालेलाई जित्न नदिने रणनीति भएको बताउँछन् । ‘जहाँ जहाँ हामीले सहज ढंगले जित्छौ त्यहाँ ठिकै छ । जहाँ हामीभन्दा एमाले बलियो छ त्यहाँ तालमेल हुन्छ । तालमेल भनेको हामीले जित्न मात्रै होइन, एमाले हराउन पनि हो’, ती केन्द्रीय सदस्यको भनाई छ ।

कांग्रेस केन्द्रीय समितिले निर्णय गर्नु अघि र पछि गरेर झण्डै १ दर्जन जिल्लामा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी लगायतका दलले तालमेलको निर्णय गरिसकेका छन् । कैलाली, कास्की, अर्घाखाँची,धनकुटा, ते¥हथुम लगायतका जिल्लामा चुनावी तालमेल गर्ने निर्णय स्थानीय तहमा भइसकेको छ ।

आसन्न स्थानीय निर्वाचनमा एमालेविरुद्ध हुने महागठबन्धन संघीय निर्वाचनसम्म लैजाने प्रतिवद्धता शीर्ष तहमा व्यक्त भइकसकेको छ । त्यहीकारण नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बारम्बार तीनै तहको निर्वाचनमा तालमेल हुने र एमालेलाई परास्त गर्ने अभिव्यक्ति दिदै आएका थिए । कांग्रेसको निर्णयले गठबन्धनमा रहेका अन्य दलहरुपनि उत्साहित भएका छन् । ‘कांग्रेसले गरेको निर्णय स्वागतयोग्य छ । संविधान जोगाउन सहकार्य गरेका दलहरुबीचको तालमेलले प्रतिगामी शक्तिलाई धक्का दिनुपर्छ’, एक माओवादी नेताले भने ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तत्काल सत्ता गठबन्धनमा संकट नआओस् भन्ने चाहन्थे । यहीकारण गठबन्धनमा रहेका दलहरुलाई चुनावी तालमेल गरेर ‘राजनीतिक संरक्षण’ दिनुपर्ने बाध्यता देउवालाई थियो । पार्टीभित्रको विपक्षी समूहलाई पनि चित्त बुझ्ने गरी ‘स्थानीय अवस्था र आवश्यकता अनुसार गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्ने’ निर्णय गराउन देउवा सफल भएका छन् । कांग्रेसको नीतिगत निर्णयले स्थानीय आवश्यकताका नाममा गठबन्धनबाहेकका दलसँग तालमेल गर्न निषेध पनि गरेको छ । यहीकारण अब ७ सय ५३ वटै स्थानीय तहमा प्रमुख प्रतिपक्षी नेकपा एमालेविरुद्ध महागठबन्धन भिड्ने पक्का भएको छ ।


प्रतिक्रिया

2 thoughts on “अन्ततः एमालेविरुद्ध बन्ने भयो महागठबन्धन

  1. केन्द्रबाट निर्देशन दिएर याे याे ठाउँमा काँग्रेस, याे ठाउँमा माओवादी आदि भन्दै तालमेल गर्ने नभनेकाेले तालमेल नभएर अब भद्रगाेल हुने भयाे । तीनवटै पार्टी अब धूलीसात हुनेभए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर