सभापति देउवाको मुड बुझ्दै तालमेलको पक्षमा ढल्कियो कांग्रेस बैठक – Nepal Press

सभापति देउवाको मुड बुझ्दै तालमेलको पक्षमा ढल्कियो कांग्रेस बैठक

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलहरूसँग चुनावी तालमेल गर्नुपर्नेमा दृढ देखिएपछि कांग्रेसको जारी केन्द्रीय समिति बैठक ‘तालमेलका पक्षमा’ ढल्कन थालेको छ ।

सभापति देउवाले शुक्रबार नै बैठक समापन गर्ने क्रममा चुनावी तालमेल नभए कांग्रेसले धेरै स्थानमा जित्न नसक्ने बताएका थिए । शनिवार एक सार्वजनिक कार्यक्रममै सभापति देउवाले एमालेको संगठन कमजोर भई नसकेकोले एक्लै लड्दा कांग्रेसलाई गाह्रो हुने बताएका थिए ।

उनले तालमेल नगरे माओवादी र एमाले मिल्न सक्ने भन्दै चुनावी तालमेलबारे दृढता प्रस्ताु गरेका थिए । तालमेलको पक्षमा सभापति देउवा नै प्रस्ट भएपछि केन्द्रीय समितिको जारी बैठकमा त्यसको प्रभाव देखिएको छ ।

पहिलो दिन अधिकांश प्रदेश सभापति र केन्द्रीय सदस्यहरूले चुनावी तालमेल नगरी एक्लै निर्वाचनमा होमिनुपर्नेमा जोड दिएको भए पनि आइतबारको बैठकमा बोल्ने अधिकांशले ‘आवश्यकता अनुसार तालमेल गर्नुपर्ने’ धारणा राखेका छन् । संस्थापन पक्षका सबैजसो केन्द्रीय सदस्यहरूले सभापति देउवाको ‘मुड बुझ्दै’ गठबन्धन जोगाउन तालमेल गर्नुपर्ने , पार्टीको फाइदा हेर्नुपर्ने तथा तालमेल नगरे पार्टीलाई हानी हुने धारणा राखेका हुन् ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिकांश केन्द्रीय सदस्यहरूले चुनावी तालमेलको पक्षमा बोलेको बताए ।

पौडेल स्वयं चुनावी तालमेलको पक्षमा छन् । ‘राष्ट्रिय राजनीतिमा गठबन्धनको औचित्य अझै समाप्त नभएकोले आगामी निर्वाचनमा चुनावी तालमेल नै गरेर जानुपर्छ भन्ने अधिकांशको भनाई छ’, पौडेलले पत्रकारहरूसँग भने ।

उनले केन्द्रीय समितिले चुनावी तालमेलको पक्षमा नीतिगत निर्णय लिने पनि बताए । ‘यो बैठकले गठबन्धन जोगाउने र चुनावी तालमेल गर्ने नीतिगत निर्णय गर्छ । तालमेल कहाँ कसरी गर्ने र कसले कति लिने भन्नेबारे गठबन्धनमा छलफलपछि निर्णय हुन्छ’, पौडेलको भनाई छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि बैठकमा ‘आवश्यकताका आधार तालमेल गर्न’ सुझाव आएको बताउँछन् । चुनावी तालमेलको विपक्षमा नभई सार्थक चुनावी तालमेलको पक्षमा पार्टीभित्र जनमत रहेको प्रवक्ता महतको भनाई छ ।

‘तालमेलै गर्नुहुँदै कसैले भन्नुभएको छैन । ग्राउण्डको आवश्यकता हेरेर, तल्लो तहसम्मको अवस्था बुझेर तालमेल गर्नुपर्छ भन्ने अधिकांशको भनाई छ’, बैठकबारे प्रवक्ता महतले भने । बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि उपयुक्त निर्णय आउने उनले बताए ।

‘अहिले छलफल जारी छ । बैठकमा व्यक्त धारणाका आधारमा आवश्यकताको सिद्धान्तअनुसार पार्टीलाई बृहत्तर फाइदा हुने, पार्टीको राजनीतिक शक्ति बढ्ने गरी चुनावी तालमेल गर्ने निर्णय नै सर्वसम्मतिले हुनेछ’, महतको भनाई छ ।

बैठकमा सहभागी एक नेताका अनुसार ‘चुनावी तालमेल गर्दै नगर्ने भन्दा पनि मिलाएर गर्ने’ तर्फ बैठक प्रवेश गरिसकेको छ । ‘चुनावी तालमेल हुनुपर्छ तर सम्बन्धित जिल्लासँग समन्वय गरेर सही ढंगले लिने र दिने गर्नुपर्छ भन्नेमा धेरैको समान धारणा देखिन्छ । त्यसैले बैठक अब तालमेलको पक्षमा करिब करिब पुगिसक्यो’, एक केन्द्रीय सदस्यको भनाई छ ।

चुनावी तालमेलको चर्को विरोध गर्दै आएका चितवनका केन्द्रीय सदस्यहरूले पनि ‘भरतपुरको मेयर कांग्रेसले लिने गरी तालमेल हुनसक्ने’ बताएका छन् । केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले भरतपुर महानगरपालिकाको प्रमुख कांग्रेसले पाउने सर्तमा चुनावी तालमेल हुनसक्ने बताए ।

बैठकमा नेता डा. शेखर कोइराला पक्षधर केन्द्रीय सदस्यहरूले मात्रै चुनावी तालमेलले कांग्रेसको संगठन कमजोर पार्ने बताएका छन् । केन्द्रीय सदस्य प्रतिमा गौतमले गठबन्धन गरेर चुनाव लड्दा पार्टीको ‘बीउ’ नै मासिने बताएकी छिन् ।

त्यस्तै केन्द्रीय सदस्य प्रकाश स्नेहीले कम्युनिस्टहरू विभाजित भएको बेलामा नै पार्टीले एक्लै लड्नुपर्ने हिम्मत गर्नुपर्ने धारणा राखे ।

केन्द्रीय समितिको बैठक सोमबार पनि जारी रहनेछ ।


प्रतिक्रिया

One thought on “सभापति देउवाको मुड बुझ्दै तालमेलको पक्षमा ढल्कियो कांग्रेस बैठक

  1. देउवाले के बुझे भने एमालेले सबै सिध्याउँछ एक्लै चुनाव लडेमा त । त्यसैले यी हरूवाहरू एमालेसित डराएर एकता गर्दैछन् । भाेलि यी सबै पार्टी एक भए भनेमा पनि आपत्ति छैन किनकी जनताले याे लुटेराकाे विजाेग गराउनेवाला छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर