तालमेलका पक्षमा देउवा दृढ, केन्द्रीय समितिमा छलफलको ‘रिहर्सल’ मात्रै – Nepal Press

तालमेलका पक्षमा देउवा दृढ, केन्द्रीय समितिमा छलफलको ‘रिहर्सल’ मात्रै

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठकको पहिलो दिन नै आसन्न स्थानीय निर्वाचनमा सत्ता साझेदार दलहरुसँग चुनावी तालमेल गर्ने वा नगर्ने भन्नेमा बहस चर्किएको छ ।

कांग्रेसका केन्द्रीय सदस्य र प्रदेशका सभापतिहरुले चुनावी तालमेलबारे पक्ष विपक्षमा धारणा राखेपनि केन्द्रीय समितिको बैठक ‘रिहर्सल’ मात्रै हुने देखिन्छ । किनकी सभापति शेरबहादुर देउवा सत्ता साझेदार दलहरुसँगै मिलेर चुनाव लड्नुपर्ने दृढ मनोविज्ञानका साथ बैठकमा प्रस्तुत भएका छन् ।

केन्द्रीय समितिमा आरामदायी बहुमत रहेका देउवा केहीदिन छलफल चलाउने तर निर्णय आफ्नो ‘माइन्ड सेट’ अनुसार नै गराउनेमा आत्मविश्वासी समेत देखिन्छन् ।

देउवाको ‘रेडीमेट माइन्डसेट’

कांग्रेस केन्द्रीय समितिको बैठकमा आमन्त्रण गरिएका प्रदेश सभापति र चुनावी अभियानमा जिल्ला खटिएका केन्द्रीय सदस्यहरुले ‘रिपोर्टिङ’ गर्ने क्रम सुरु भएको छ ।

सातमध्ये ६ प्रदेशका सभापतिले पहिलोदिनको बैठकमै चुनावी तालमेल र पार्टीको अवस्थाबारे धारणा राखे । जसमध्ये केहीले स्थानीय आवश्यकता अनुसार तालमेल हुनुपर्ने बताए भने केहीले तालमेल गरे कांग्रेसको हालत ‘कांग्रेस आई’ को जस्तो हुने बताए ।

१ महिने चुनावी अभियानमा खटिएर विभिन्न जिल्ला पुगेका केन्द्रीय सदस्यहरुल सम्बन्धित जिल्लाको ‘ग्राउण्ड’ अनुसारको धारणा राखेका छन् । जसले जे धारणा राखेपनि सभापति देउवा भने चुनावी तालमेल अपरिहार्य देख्छन् । यही कारण शुक्रबारको बैठक समापन गर्ने बेलातिर उनले तालमेलको विरुद्धमा बोल्ने नेताहरुलाई जवाफ फर्काए ।

‘चितवनमा कांग्रेसले कहिले जितेको छ ? गठबन्धन नगर्ने हो भने फेरी पनि हार्छ’, देउवाले आक्रोशित हुँदै भने ।

देउवाको यही अभिव्यक्तिले चुनावी तालमेलका पक्षमा देउवा दृढ रहेको र केन्द्रीय समितिमा सुरु भएको छलफल एक औपचारिकतामात्रै रहेको पुष्टी हुन्छ ।

‘हामीले ग्राउण्डको अवस्था हेरेर तालमेल गर्ने वा नगर्ने धारणा राखेका छौं । हाम्रो धारणाले खासै फरक पर्ने देखिदैन । किनकी सभापतिजीले तालमेलको सहमति गरिसकेजस्तो छ’, बैठकबाट बाहिरिदै एक केन्द्रीय सदस्यले भने ।

सभापति नै ‘रेडीमेड माइन्डसेट’ बोकेर बैठकमा आएकोले १ सय बढी केन्द्रीय सदस्यहरुले व्यक्त गर्ने धारणाले निर्णयमा खासै प्रभाव नपर्ने सम्भावना अधिकांश केन्द्रीय सदस्यहरुले देखेका छन् ।

पार्टीभित्रै तालमेल गर्न सुझाव

कांग्रेस केन्द्रीय समितिमा बोल्ने सबैजसो नेताहरुले पार्टीको आन्तरिक एकता मजबुद भए अधिकांश तहमा निर्वाचन जितिने धारणा राखेका छन् । संस्थापन इतर पक्षका नेताहरुले पार्टीभित्र सबै पक्षलाई समेट्न नचाहने तर अरु पार्टीका लागि समेट्न खोज्ने प्रवृत्ति त्याग्न आग्रह गरेका थिए ।

बैठकमा केन्द्रीय सदस्यहरु कृष्णचन्द्र नेपाली, प्रदीप पौडेल, मोहनबहादुर बस्नेत, कर्णबहादु रबुढा, रमा कोइराला, कृष्णकिशोर घिमरिे, टेकप्रसाद गुरुङ, नैनसिंह महर, गोविन्दबहादुर शाह, दिलमान पाख्रिन, रामहरी खतिवडा, मुक्ताकुमारी यादव, सरस्वतीय अर्याल, हरिशरण नेपाली, जानकी सिंह, डा।गोविन्दराज पोखरेल,अजयबाबु शिवाकोटी, मदनकृष्ण श्रेठ, दिनेश कोइराला, सीता राना र शान्ति परियारले धारणा राखेका छन् ।

सबैजसो केन्द्रीय सदस्यहरुले ‘घर घर जाऔं,कांग्रेस जिताऔं’ अभियानका कारण वडा तहसम्मका कार्यकर्ता उत्साह बढेको र कम्युनिष्ट पार्टीको विभाजनका कारण मतदाताको आकर्षण बढेको भन्दै आन्तरिक एकता भए एक्लै चुनाव जितिने बताएका थिए ।

‘जिल्लाजिल्लामा १४ औं महाधिवेशनको तिक्तता अझैपनि बाँकी रहेको देखिन्छ । सातै प्रदेशमा शीर्ष नेतृत्वले संयुक्तसभा गर्ने र न्यायोचित ढंगले टिकट वितरण गर्ने हो भने कांग्रेसले बहुमत ल्याउने अवस्था विद्यमान छ’, बैठकमा केन्द्रीय सदस्य डा।गोविन्द पोखरेलले भनेका थिए । अर्का केन्द्रीय सदस्य नैनसिंह महरले पनि चुनावी तालमेलले गर्दा अरु पार्टीका नेता खुसी हुने तर आफ्नै पार्टीका नेता कार्यकर्ता दुःखी हुनसक्नेतर्फ सचेत गराए ।

सभापतिविरुद्ध दुष्प्रचार भयो ः प्रवक्ता महत

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत भने सभापतिले ‘रेडीमेट माइन्डसेट’ मा बैठक सञ्चालन गरेको स्वीकार्न तयार छैन । पार्टीका केही नेताहरुल सभापति देउवा तालमेलका लागि तयार भइसकेको सन्देश प्रवाह गरेर सभापतिविरुद्ध दुष्प्रचार गरेको महतको भनाई छ ।

‘बल्ल त पार्टीमा छलफल भएको छ । सबैको भावना बुझेर सोही अनुसार निर्णय गर्ने सभापतिको तयारी छ । अनावश्यक रुपमा सभापतिले निर्णय लाद्न खोज्नुभयो भनेर गलत प्रचार भइरहेको छ । जे गर्छ केन्द्रीय समितिले गर्छ, छलफल र सबैको भावना अनुसार नै निर्णय हुन्छ’, प्रवक्ता महतले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर