सुदूरपश्चिम सत्तामा भाग खोज्दै कांग्रेस, नत्र चुनावमा गठवन्धन नगर्ने ! – Nepal Press

सुदूरपश्चिम सत्तामा भाग खोज्दै कांग्रेस, नत्र चुनावमा गठवन्धन नगर्ने !

मन्त्री दिन प्रचण्ड तयार, माधव उदासिन

कैलाली । असोज २३ गते प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावल, प्रमुख सचेतक गोविन्द बोहरा र कांग्रेस सांसद भरत खड्का बालुवाटार पुगे । करिब ३० मिनेटसम्म तीन जनाले प्रदेशमा गठवन्धनको आभास नभएको भन्दै प्रधानमन्त्रीलाई मुख्यमन्त्री परिवर्तन गर्न आग्रह गरे ।

तीनैजनाको गुनासो सुनेपछि प्रधानमन्त्री देउवाले गठवन्धनको वैठक राखेर आवश्यक निर्णय लिने बताएका थिए । ‘यो सबैको साझा कुरा हो । यसमा सबै मिलेर अघि बढ्नु पर्छ,’ प्रधानमन्त्रीले भनेका थिए, ‘सम्बन्धित पार्टीका नेताहरूले पनि बुझ्नु पर्छ । म प्रस्ताव राख्छु ।’

प्रधानमन्त्री तथा पार्टी सभापतिलाई लविङ गरेको करिव ६ महिनासम्म पनि सुदूरपश्चिममा सरकार परिवर्तन हुन सकेको छैन । मुख्यमन्त्री दावी गरेको प्रदेशमा कांग्रेसले मन्त्रीसम्म पाएको छैन । सुदूरपश्चिममा सबैभन्दा ठुलो दल नेकपा एकीकृत समाजवादी रहेको छ । तत्काल सरकार परिवर्तनको अवस्था नभएको सो पार्टीका नेताहरू बताउँछन् ।

‘अहिले सरकार फेरिने वा मन्त्रीपरिषद् हेरफेरको कुरा आएको छैन’ नेकपा एसका नेतृ तथा प्रदेश सरकारका प्रवक्ता पूर्णा जोशीले भनिन्, ‘यस विषयमा कुनै पनि छलफल भएको छैन ।’

अहिले माओवादी नेतृत्वको सरकारमा कांग्रेसलाई सहभागी नगराउने रणनीति एकीकृत समाजवादीले लिएको छ । फागुन २५ गते केन्द्रीय समितिको बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा नेताहरूले आफ्नो पार्टीलाई स्थापित गर्न सुदूरपश्चिम सरकारमा कांग्रेसलाई समेट्न नहुने सुझाव दिएका थिए ।

‘सुदूरपश्चिम सरकारमा कांग्रेसलाई पनि सहभागी गराउने हो कि भन्ने कुरा उठेको छ,’ सुदूरपश्चिम प्रदेश समूहका सुझाव बैठकमा पेस गर्दै नेता शेरबहादुर कुँवरले भनेका थिए, ‘त्यहाँ माओवादी र हाम्रो पूर्ण बहुमत छ । काँग्रेसलाई बलियो बनाउने कि हामी आफैंलाई स्थापित गर्ने ? उसलाई अहिले पनि उच्च स्थान दिएका छौँ । कांग्रेसले अहिले पनि प्रदेश सरकारलाई ‘रेस्पोन्स’ गरिरहेको छैन । त्यस कारण काँग्रेसलाई बलियो बनाउने भन्दा पनि हाम्रो पार्टीलाई बलियो बनाउन् ध्यान जानु¥यो ।’

माओवादी नेतृत्वको सुदूरपश्चिम प्रदेशमा अहिले नेकपा एस र माओवादी मात्रै सरकारमा छन् । केन्द्रमा कांग्रेस र राजपासहितको गठवन्धन हुँदा प्रदेशमा ती दुवै दललाई वेवास्ता गरिएको नेपाली कांग्रेसको गुनासो छ ।

यसरी पेलियो कांग्रेस

जेठ २५ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदै थिए । एमाले विभाजन हुनुभन्दा अघि नै तत्कालीन माधव नेपाल पक्षले संसदीय दलको बैठकबाट मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरिसकेको थियो ।

एमाले केन्द्रीय नेतृत्वले भने विपक्षमा मतदान गर्ने ह्विप जारी गर्यो । जसपाले पनि निर्णय नै गरेर विपक्षमा मतदान गर्‍यो । तर, नेपाली कांग्रेस भने अलमलमा थियो । उ सरकार जोगाउन चाहन्थ्यो, तर आफूले विश्वासको मत दिन चाहन्थेन ।

विश्वास प्रस्तावको मतदानमा सरकारको पक्षमा ३० र विपक्षमा ९ भोट मात्रै पर्‍यो । एमालेको ओली पक्षका ७ जना र तत्कालीन जनता समाजवादी पार्टीका दुई जनाले सरकारको विपक्षमा भोट हालेका थिए । कांग्रेसले अन्तमा मतदानमै भाग लिएन ।

‘विश्वासको मत नपुगे हामी दिन्छौँ, नत्र हामी पक्ष र विपक्ष दुवैमा मत दिँदैनौँ,’ कांग्रेस नेताहरूले त्यो बेला भनेका थिए ।

मुख्यमन्त्रीको पक्ष र विपक्ष दुवैमा मत नदिएको कांग्रेस त्यसपछिको १० महिनामा सुदूरपश्चिममा निकै कमजोर अवस्थामा पुगेको छ । अहिले न केन्द्रीय गठबन्धन अनुसार कांग्रेस सरकारमा छ, न त बलियो प्रतिपक्षको भूमिकामा ।

कांग्रेस अहिलेसम्म सुदूरपश्चिमको तेस्रो ठूलो दल र प्रमुख प्रतिपक्ष हो । तर, त्यो अनुसारको भूमिका पार्टीले निर्वाह गर्न नसकेको स्वयं कांग्र्रेसकै सांसदहरू बताउँछन् । पहिलो स्थानमा रहेको नेकपा एकीकृत समाजवादीका १४ सांसद छन् ।

यस्तै, दोस्रोमा माओवादी केन्द्रका १३ सांसद र कांग्रेसका १२ सांसद छन् । सरकार सञ्चालन गर्न माओवादी र नेकपा एसकै सांसद पर्याप्त भएपछि अहिले कांग्रेसले खासै भाउ पाएको छैन । त्यसैले कांग्रेसभित्रै विरोध सुरु हुन थालेको छ ।

देउवाको प्राथमिकतामा पनि सुदूरपश्चिमभन्दा पहिले कर्णाली परेपछि यहाँ कांग्रेस थप कमजोर भएको बताइन्छ । विगतमा सरकारका काम कारबाहीको खरो विरोध गर्ने कांग्रेस अहिले मौन रहँदा पनि उनीहरूको भूमिकामाथि प्रश्न उठेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले २०७६/०७७ का लागि ल्याएको बजेट अपारदर्शी र भ्रष्टाचार बढाउने भएको भन्दै प्रदेशसभा भवनको गेटमा कांग्रेसले रातो किताब जलाएको थियो । कांग्रेसले पत्रकार सम्मेलन नै गरेर बजेट उपलब्ध गराउनुपर्ने प्रदेशस्थित गौरवका आयोजनाहरू सार्वजनिकसमेत गरेको थियो । त्यो बेलासम्म कांग्रेस प्रदेशमा दह्रो प्रतिपक्षको रूपमा स्थापित भएको थियो । विगतमा बजेटकै विषयमा विरोध गर्दै झण्डै एक महिना संसद् सुचारु हुन नदिएको कांग्रेस यस वर्ष भने बजेट पारित गर्दा मौन बस्यो ।

केन्द्रीय नेतृत्व र गठवन्धनकै कारण सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस कमजोर भएको संसदीय दलका नेता डा. रणबहादुर रावल बताउँछन् । उनले अहिले सरकारबाट कांग्रेस पेलिएको भन्दै यहाँ गठबन्धन नरहेको समेत उल्लेख गरे । सरकारले गरेको कामबाट जनता उत्साहित हुन नसकेको समेत उनको गुनासो छ ।

‘सुदूरपश्चिममा गठबन्धन नै छैन । यहाँ दुई दलको मात्रै सरकारको हो,’ उनले भने, ‘जनता खुसी छैनन्, यस्तो सरकारमा सामेल भएर हामी पनि यसको भागिदारी बन्न चाहन्नौँ ।’

सरकारको नेतृत्व पाए मात्रै गठवन्धमा सहभागी हुने रणनीति रहेको उनले बताए ।

कांग्रेस आउने प्रचण्डको विश्वास

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेस पनि सहभागी हुने विश्वास व्यक्त गरेका छन् ।

सोमबार कैलालीको धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाले भाग मागेपछि कांग्रेसलाई पनि सरकारमा सहभागी गराउन लागिएको बताएका थिए । कांग्रेसलाई सरकारमा सहभागी गराउने कुरा टुंगिसकेको र कसलाई कति मन्त्री दिने भन्ने टुंगिन बाँकी रहेको उनको दावी थियो ।

प्रचण्डले भनेका थिए, ‘सुदूरपश्चिम प्रदेशमा मन्त्री हेरफेरको तयारी भइरहेको छ । नेपाली कांग्रेसले निर्वाचन नजिक आउँदै गर्दा सुदूरपश्चिममा आफ्नो प्रतिनिधित्व नरहेको भनेर कुरा उठाइरहेको थियो ।’

मन्त्रीको संख्या बढाउने ठाउँ नभएकाले नेकपा एसका अध्यक्ष माधव नेपाललाई त्याग गर्न आग्रह गरेको उनले बताए ।

प्रचण्डले भने, ‘अस्ति प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बिचको भएको छलफलमा नेपाली कांग्रेसलाई सहभागी गराउने कुरा उठ्यो । कांग्रेस सरकारमा सहभागी हुन्छु भनेको कुरालाई हामीले राम्रै मान्छौँ । तर त्यसो गर्नका लागि हामीले यहाँ संख्या बढाउने ठाउँ नै छैन । भएकै संख्यामा कसै न कसैले त्याग गर्नुपर्ने हुन्छ । अहिले समाजवादीको मन्त्रीहरू धेरै हुनुहुन्छ । माधव नेपालजीले नै पार्टीभित्र छलफल गरेर कति सकिन्छ, अलिकति त्याग गर्ने पालो तपाईँको आयो भन्ने कुरा पनि चर्चा भयो ।’

यता नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायरले सुदूरपश्चिममा गठबन्धनबाट कांग्रेसमाथि छलछाम भएको आरोप लगाए । आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग चुनावी गठबन्धन नहुने उनले बताएएका छन् ।

डोटीको जोरायलमा सोमवार आयोजित ‘घर घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियानको सुरुआत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवानिकट प्रभावशाली नेता बलायरले सुदूरपश्चिममा अहिले पनि प्रचण्ड–माधव समूहसँग गठबन्धन नभएकाले चुनावमा पनि नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर