बेचबिखन प्रभावितलाई राष्ट्रपतिको ढाडस- महिला थाङ्ग्रो हुन्, पुरुष लहरा (तस्बिरहरु) – Nepal Press

बेचबिखन प्रभावितलाई राष्ट्रपतिको ढाडस- महिला थाङ्ग्रो हुन्, पुरुष लहरा (तस्बिरहरु)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजमा अहिले पनि पुरुष बलिया र महिला निर्धो भन्ने पितृसत्तात्मक सोच हाबी रहेको भन्दै यो सोचमा परिवर्तन ल्याउन निरन्तर लाग्नुपर्ने बताएकी छन् ।

शक्ति समूहको आयोजनामा देशभरीका मानव बेचबिखन प्रभावित महिलाहरुको राष्ट्रिय भेलामा सहभागी हुन आएकाहरुलाई सोमवार शीतल निवासमा बोलाएर राष्ट्रपतिले बेचबिखनमा पर्नु महिलाको अपराध नभएको भन्दै समाजको सोच परिवर्तनमा दह्रिलोसँग लाग्न ढाडस् समेत दिइन् ।

सो अवसरमा राष्ट्रपतिको भनाई थियो– हाम्रो समाजको चिन्तन अझै पनि पुरुष भनेका बलिया र महिला कमजोर भन्ने छ । मानव बेचबिखनदेखि महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेदको जड त्यो सोच पनि हो । अझ कतिपयले महिला भनेका लहरा हुन्,लहरा बढ्न बलियो थाङ्ग्रो चाहिन्छ त्यसैले पुरुष थाङ्ग्रो हुन् भन्छन् । तर ठिक उल्टो महिला थाङ्ग्रो हुन् । महिलाबिना एउटा पुरुषले भान्सा चलाउँदैन,बलियो हो भने एउटा कसौंडी र पुन्यु उठाउन नसक्ने हो र ? त्यसैले सोच बदल्न हामीले अझै संघर्ष गर्नुपर्छ ।

राष्ट्रपति भण्डारीले बेचबिखन प्रभावितहरुको उद्दार,स्वदेश फिर्ती र देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न नीतिगत व्यवस्था भए पनि व्यवहारिक कार्यन्वयन नभएकोमा आफू चिन्तित भएको बताइन् । आफ्नोतर्फबाट हुने पहल गर्न तयार रहेको समेत राष्ट्रपतिको भनाइ थियो ।

सो अवसरमा शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले बेचबिखन प्रभावितहरुको पाँचौ राष्ट्रिय भेलाको निष्कर्ष र घोषणापत्रबारे राष्ट्रपतिलाई जानकारी गराउँदै देशभरका मानव बेचबिखन पीडितहरुको अभिभावक राष्ट्रपति भएकाले पीडा सुनाउन आएकी बताइन् ।

उनले बेचबिखनको शैली फेरिँदै गए पनि समस्या अझ विकराल बन्दै गएकाले आफूहरुको मात्र पहलले सम्भव नहुने बताइन् । राष्ट्रपतिले बेचबिखन प्रभावितहरुले नै संचालन गरेको विश्वको पहिलो संस्था शक्ति समूहले गरेको कामको प्रशंसा समेत गरिन् ।

आइतवार सुरु भएको राष्ट्रिय भेला सोमवार सम्पन्न भएको छ ।

 तस्बिरहरु : उमेश कार्की


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर