पछिल्लो एक वर्षमा आगलागीबाट सयभन्दा बढीको मृत्यु – Nepal Press

पछिल्लो एक वर्षमा आगलागीबाट सयभन्दा बढीको मृत्यु

काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा शुक्रबार बिहान लागेको आगलागीमा परेर एक वृद्धा महिलाको मृत्यु भएको छ। ग्याँस लिक भएका कारण आगलागी भएको प्रहरीले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो एक वर्षमा आगलागीमा परेर देशभर एक सय एक जनाको मृत्यु भएको छ। पछिल्लो एक सातामा मात्र ५ जनाले ज्यान गुमाएका छन् भने पछिल्लो एक महिनामा १८ जनाको ज्यान गएको छ।

आगलागीका घटना ह्वात्तै बढे

फागुन र चैत आगलागीको सम्भावना बढी भएको महिना हो। हावाहुरी बढी चल्ने भएकाले यो समयमा आगलागीका घटना धेरै हुने गरेको पाइएको छ।

पछिल्लो एक सातामा मात्र देशभर आगलागी ७८ घटनाहरु भएका छन्। बिहीबार मात्र देशभर आगलागीका १५ वटा घटना भएका थिए। यीमध्ये पाल्पाको माथागढी गाउँपालिकामा एक जनाको ज्यान गएको थियो।

म्याग्दी र लमजुङमा गत मंगलबार एक जनाको ज्यान गएको थियो। फागुन २१ गते काठमाडौंको गोकर्णेश्वरमा पनि एक जनाको ज्यान गएको थियो।

पछिल्ला वर्षहरुमा विधुत् सर्ट, ग्याँस लिक लगायतले पनि धैरैले ज्यान गुमाइरहेको पाइएको छ। ललितपुरमा गत तिहारको समयमा ग्याँस लिक भएर एउटै कोठामा बसिरहेका ४ जनाको मृत्यु भएको थियो।

विपदमा सयौँले ज्यान गुमाउँछन्

सरकारले विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा छुट्टै संरचना नै बनाएर काम गरिरहेपनि मानिसको अकालमा ज्यान गुमाउने क्रम रोकिएको छैन।

पछिल्लो एक वर्षमा पहिरोमा सबैभन्दा बढीले ज्यान गुमाएका छन्। एक सय ८२ जनाले पहिरोमा परेर ज्यान गुमाएको प्राधिकरणले जनाएको छ। यस्तै बाढीका कारण ६३ जनाको मृत्यु भएको छ। चट्टान परेर ५६ जना र जनावरको आक्रमणबाट ५३ जनाको ज्यान गएको प्राधिकरणको तथ्यांक छ।पछिल्लो एक वर्षमा बाढीमा परेर ३४ जना र पहिरोमा परेर ३३ जना बेपत्ता भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर