भक्तपुरमा घाँटी रेटेर महिलाको हत्यामा दुई जना पक्राउ, मादक पदार्थ सेवन र यौन सम्बन्ध कारण – Nepal Press

भक्तपुरमा घाँटी रेटेर महिलाको हत्यामा दुई जना पक्राउ, मादक पदार्थ सेवन र यौन सम्बन्ध कारण

काठमाडौं । भक्तपुरको चाँगुनारायण नगरपालिका-७ स्थित तरकारी खेतको टहरोमा हत्या गरिएको अवस्थामा महिलाको शव भेटिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मादक पदार्थ सेवन र यौन सम्बन्धका कारण महिलाको हत्या भएको हुन सक्ने प्रारम्भिक निष्कर्श निकालिएको भक्तपुर प्रहरी प्रवक्ता राजु पाण्डेले जानकारी दिए।

पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका-२ भकुन्डेबेसी स्थायी घर भई भक्तपुरको भक्तपुर नगरपालिका-१० तलाछे बस्ने ४४ वर्षीय कुमार लामा र काभ्रेको भुम्लु गाउँपालिका-४ स्थायी घर भई भक्तपुर नगरपालिका-८ महेश्वरी बस्ने ३८ वर्षीय नवराज रिजाल रहेका छन्। उनिहरुको साथबाट हत्यामा प्रयोग भएका प्रमाणहरु समेत फेला परेको प्रहरीको दावी छ।

काभ्रेको नमोबुद्ध-९ स्थायी घर भई भक्तपुर नगरपालिकास्थित नागपोखरी क्षेत्रमा डेरा गरि बस्ने २८ वर्षीया जेनिसा नगरकोटीको शव फागुन २३ गते राती भेटिएको थियो।

तरकारी खेतमा काम गर्न जाने व्यक्तिले टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकको घाँटी अगाडि गहिरो चोट थियो।

अर्धनग्न अवस्थामा रहेको शवका विभिन्न भागमा पनि चोट रहेको थियो। मृतक युवती विवाहित हुन्। उनका श्रीमान घटनाका बेला काभ्रेमा थिए भने छोरा मामाघरमा बस्दै आएका छन्। घटनाबारे अदालतबाट ७ दिनको म्याद लिएर आरोपीमाथी अनुसन्धान भइरहेको डीएसपी पाण्डेले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर