छिमेकीलाई रुष्ट बनाएर टाढाका मित्रलाई इष्ट बनाउँदा देशको भलो हुँदैन: नेता खनाल (भिडिओ) – Nepal Press

छिमेकीलाई रुष्ट बनाएर टाढाका मित्रलाई इष्ट बनाउँदा देशको भलो हुँदैन: नेता खनाल (भिडिओ)

एमसीसीलाई ल्याउन चिठी लेखेको प्रमाण ल्याएर आउन ओलीलाई चुनौती

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नेता झलनाथ खनालले छिमेका मित्रहरुलाई चिढाएर देशको भलो नहुने बताएका छन् । शुक्रबार एकीकृत समाजवादीले एमसीसीविरुद्ध आयोजना गरेको खबरदारी कार्यक्रममा खनालले भने, ‘हामीले छिमेकका मित्रलाई रुष्ट बनाएर टाढाका मित्रलाई इष्ट बनायौं भने हामी भलाइ हुँदैन ।’

खनालले छिमेकी रुसको संवेदनशिलता ख्याल नगर्दा युक्रेन अहिलेको हालतमा पुगेको भन्दै खनालले नेपाल पनि तटस्थ नबस्दा त्यस्तै हुने खतरा रहेको टिप्पणी गरे। ‘रुसको अत्यन्तै संवेदनशिल छिमेकी युक्रेनले पश्चिमा देशको पछि लागेर रुसको संवेदनशितलामा हेलचेक्र्याइँ गर्‍यो,’ खनालले भने, ‘त्यहाँको राष्ट्रिय सुरक्षामा चुनौती दिने काम गर्‍यो । र, अहिले यो दुरदशा खेप्नुपर्‍यो । हामी तटस्थ रहन्छौं भनेको भए अहिले यस्तो हुँदैनथ्यो ।’

खनालले एमसीसी ल्याउन आफूले चिठी लेखेको भनेर प्रचार गरिएको भन्दै आपत्ति प्रकट गरे। ‘झलनाथ खनालले चिठी लेखेर एमसीसी बोलाएको हो भनेर केही मुर्ख र पूर्वाग्रहीले प्रचार गरिरहेका छन्,’ खनालले भने, ‘त्यो सतप्रतिशत झुट हो । म सरकार हुँदा एमसीसीबारे त्यस्तो केही कुरा भएको छैन । हामीले एसमीसीलाई अगाडि बढाउने एउटा कदम पनि चालिएको होइन ।’

शुक्रबार पोखरामा आयोजित पार्टी कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमसीसी नेपालमा ल्याउन झलनाथ खनालले चिठी लेखेर निवदेन हालेको दाबी गरेका थिए। खनालले आफ्नो सरकार त्यस्तो हैसियतमै नरहेको बताए। ‘हाम्रो सरकार त्यो हेसियतमै थिएन,’ उनले भने, ‘म मेरो सरकारलाई दुई कार्यभार पूरा गर्नुपर्ने छ भन्थे । एउटा संविधान निर्माण, अर्को शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने । म जति सरकारमा बसेँ, त्यही गरेँ ।’

खनालले आफूले एमसीसी ल्याउन चिठी लेखेको दस्तावेज ल्याएर आउनसमेत चुनौती दिए । उनले भने, ‘डा. बाबुराम भट्टराईको पालाबाट चिठी लेखेर सुरू भएको कुरा घामजत्तिकै छर्लङ्ग छ । मेरो पालाबाट सुरू भएको भए त्यस्तो दस्तावेज ल्याएर आउन चुनौती दिन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर