मनिष डाँगीलाई सीपीआर गर्ने डाक्टरको १७ लाखको घडी हरायो ! – Nepal Press

मनिष डाँगीलाई सीपीआर गर्ने डाक्टरको १७ लाखको घडी हरायो !

काठमाडौं । हिजो सहिद स्मारक ए डिभजिनअन्तरगत शनिबारको खेलका क्रममा मच्छिन्द्र क्लवका खेलाडी मनिष डाँगी मैदानमै लडेर बेहोश भए । त्यसपछि एक व्यक्ति दर्शक दीर्घाबाट दौडिँदै गएर उनलाई सीपीआर (छातीमा थिचेर श्वासप्रश्वास सहज तुल्याउने प्रक्रिया) गरिरहेको देखियो ।

करिब सात मिनेटको सीपीआरपछि उनलाई ब्लु क्रस अस्पताल दौडाइएको थियो । हाल मनिषको अवस्था सुधारोन्मुख छ । तर, सीपीआर दिने व्यक्ति भने आज आफ्नो महंगो घडी हराएको भन्दै महानगरीय प्रहरी परीसर पुगेका छन् ।

डाँगीलाई सीपीआर गराउने व्यक्ति हुन्– मेडिकल डाक्टर डा. प्रतीक गुरुङ । उनी मच्छिन्द्र क्लवका सल्लाहकार भएको बुझिएको छ । उनी पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरासँगै खेल हेर्न दशरथ रंगशाला पुगेका थिए ।

खेलको ६६ औं मिनेटमा डाँगी विपक्षी खेलाडीसँग ठोक्किएर लडे । उनी अचेत देखिएपछि आत्तिएका खेलाडीहरुमा रुवावासी नै भएको थियो । त्यसपछि डा. गुरुङ तत्काल मैदानतर्फ दौडिएर डाँगीको प्राथमिक उपचारमा जुटेका थिए ।

डाँगीसँगै उनी पनि ब्लु क्रस अस्पतालतर्फ गए । फर्केर आएपछि गाडी स्टार्ट गर्न लाग्दा हातमा बाँधेको रोलेक्स घडी हराएको उनको भनाइ छ । आफू प्याराफिटबाट मैदानतर्फ जाने र अस्पतालबाट फर्किनेबीचमा घडी हराएको उनले प्रहरीलाई बताएका छन् ।

केही वर्षअघि छत्रमान पुत्रको रोलेक्स घडी काण्ड निकै चर्चामा आएको थियो । जिम खानामा हराएको उनको घडी कांग्रेस नेता रामहरी खतिवडाको गोजीमा भेटिएको थियो । छत्रमानपुत्रसँगै म्याच हेर्न जाँदा डा. गुरुङको घडी हराएको छ ।


प्रतिक्रिया

One thought on “मनिष डाँगीलाई सीपीआर गर्ने डाक्टरको १७ लाखको घडी हरायो !

  1. हैन अस्ती प्राधन सेनापति को छोराको Rolex घडी हराउने अहीले उ संगै गयको साथीको यो Rolex घडीको Lock 100 रूपैयाँ पर्ने आलु घडीको जती पनि वलीयो हुदो रहेनछ!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *