१६ जना नेपाली कहिल्यै नछुट्ने गरी जेलमा, कस्तो अपराधमा हुन्छ आजीवन कारावास ? – Nepal Press

१६ जना नेपाली कहिल्यै नछुट्ने गरी जेलमा, कस्तो अपराधमा हुन्छ आजीवन कारावास ?

काठमाडौं । २०७७ साल साउनमा काठमाडौंको गोंगबुमा एउटा सुटकेश भेटियो, जहाँ टाउको र शरीरका विभिन्न अंग क्षतविक्षत भएको शव थियो । पछि अनुसन्धानका क्रममा उक्त शव कृष्णबहादुर बोहराको भन्ने खुल्यो । हत्याको शंकामा प्रहरीले शव भेटिएको स्थलनजिकै डेरा गरी बस्ने कल्पना मुडभरीलाई चितवनको टाँडीबाट पक्राउ गर्‍यो ।

घटनामाथि प्रहरीले थप अनुसन्धान अघि बढायो । अनुसन्धानबाट खुल्यो कि, डेरामा आइरहने कृष्णबहादुरको कल्पनाले नै हत्या गरी टाउको र खुट्टा अलग्याएर सुटकेशमा हाली सडक किनारमा फ्याँकेकी रहिछन् ।

काठमाडौं जिल्ला अदालतले उक्त अभियोगमा दोषी ठहर गर्दै कल्पनालाई आजीवन कैद सजाय सुनायो । उनी अहिले केन्द्रीय कारागारमा सजाय काटिरहेकी छिन् ।

उच्च र सर्वोच्च अदालतले पनि जिल्ला अदालतको फैसला नै सदर गरे कल्पनाको जीवन जेलमै बित्ने छ । श्रीमानसँग सम्बन्ध बिग्रिएपछि कल्पना २ सन्तानसहित गंगबुमा बस्दै आएकी थिइन् । उनकी ठूली छोरीको विवाह उक्त घटना हुनुभन्दा एक वर्षअघि मात्र भएको थियो ।

मुलुकी अपराध संहिता २०७४ ले हत्यारालाई आजीवन काराबासको सजाय व्यवस्था गरेको छ । विभिन्न ६ वटा कसुर गर्नेलाई आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था छ ।

मुलुकी अपराधस संहिताको दफा ४१ मा क्रुर यातना दिइ वा निर्ममतापूर्वक ज्यान मारेमा, अपहरण गरी वा शरीर बन्धक बनाइ ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विस्फोट गरी ज्यान मारेमा, सार्वजनिकरुपमा उपभोग हुने पेय वा खाद्य पदार्थमा विष हाली ज्यान मारेमा, जबर्जस्ती करणी गरी ज्यान लिएमा र कुनै जाति वा सम्प्रदायको अस्तित्व नै ‘विनाश गर्नेगरी जाति हत्या गरेको वा गर्ने उद्देश्यले कसुर गरेमा’ जन्मकैद हुने कानूनी व्यवस्था छ ।

अन्य कसुरमा जन्मकैद पाएकाले भने २५ वर्ष जेल बस्नुपर्ने भनिएको छ । यसअघि मुलुकी ऐनमा जन्मकैदबापत २० वर्ष कैद बस्नुपर्ने थियो । मुलुक ऐन कार्यान्वयनमा रहँदा जन्मकैद भएका कतिपय कसुरमा ६० प्रतिशतसम्म कैद छुटको व्यवस्था पनि थियो ।

मुलुकी अपराध संहिता २०७४ ले हत्यारालाई आजीवन काराबासको सजाय व्यवस्था गरेको छ । त्यस्तै विभिन्न ६ वटा कसुर गर्नेलाई आजीवन कारावाससम्मको सजाय हुने व्यवस्था छ ।

तर फौजदारी अपराध संहिता कार्यन्वयनमा आएयता भएका जुनसुकै घटनामा जन्मकैद पाएकाले पनि कैद छुट पाउने व्यवस्था छैन । अन्य केही कसुरमा भने ५० प्रतिशत कैद सजाय भुक्तान गरेपछि बाँकी अवधि छुट दिन सकिने व्यवस्था छ ।

कारागार व्यवस्थापन विभागका अनुसार हाल कारागारमा रहेका १६ जनाले आजीवन काराबास सजाय भोगिरहेका छन् । तीमध्ये एकजना महिला छन् ।

जन्मकैद भोगिरहकामध्ये नख्खु कारागारमा एकजना र केन्द्रीय कारागारमा ८ जना छन् । नख्खु कारागारमा रहेका कैदीले कर्तव्य ज्यान कसुरमा आजीवन काराबास सजाय पाएका हुन् ।

केन्द्रीय कारागारमा रहेका चारजनाले कर्तव्य ज्यान र तीनजनाले जबर्जस्ती करणीपछि हत्या गरेको अभियोगमा दोषी ठहर भइ जन्मकैदको सजाय पाएका हुन् ।

कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र सिवाकोटीले अन्य कैदी र आजीवन सजाय पाएका कैदीलाई प्रदान गरिने सुविधा भने फरक नहुने बताए ।

उनले कैदीको पहिचान भने खुलाएनन् । भने, ‘कैदीको पनि गोपनियताको हक हुन्छ । त्यसैले उनिहरुको नाम उल्लेख नगर्दै राम्रो हुन्छ ।’

जन्मकैद पाएका कैदी १६ सयभन्दा बढी, वर्षमा औसत ७५ कैदीको मृत्यु

कारागार व्यवस्थापन विभागका अनुसार हाल नेपालका कारागारमा करिब २५ हजारको संख्यामा कैदीबन्दी छन् । अघिल्लो महिनासम्मको तथ्यांकअनुसार देशभरका कारागारमा एक हजार ६ सय २० जना जन्मकैद पाएका कैदी थिए । तीमध्ये एक सय १० जना महिला छन् ।

त्यस्तै मुलुकी फौजदारी अपराध संहिता २०७४ को प्रावधानअनुसार जन्मकैद पाउनेको संख्या २ सय २० जना छन् । कतिपय मुद्दा पुनरावेदन, उच्च र सर्वोच्च अदालतमा विचाराधीन छन् ।

विभागका अनुसार देशभरका कारागारमा वार्षिक औसत ७५ जनाको मृत्यु हुने गरेको छ । उमेर, रोगलगायत कारणले उनिहरुको मृत्यु हुने गरेको कारागार व्यवस्थापन विभागका अधिकारी बताउँछन् ।

गत आर्थिक वर्षमा देशभर ७८ जना कैदीबन्दीको मृत्यु भएको थियो । तीमध्ये ८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।

मुलुकी फौजदारी कसुर र सजाय निर्धारण ऐन २०७४ को दफा ३७ को व्यवस्था ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर