आम्दा अस्पतालमा आमा सुरक्षा कार्यक्रम संचालन – Nepal Press

आम्दा अस्पतालमा आमा सुरक्षा कार्यक्रम संचालन

रुपन्देही । सिद्धार्थ बाल तथा महिला अस्पतालमा बुटवल उपमहानगरले आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न थालेको छ । सिटी अस्पतालका रुपमा विकास गर्ने लक्ष्यसहित उपमहानगरले नगर गुरुयोजनामा समावेश गरेको यो अस्पतालको सेवा प्रवाह स्तरीय र प्रभावकारी बनाउने साथै भौतिक पूर्वाधार विकासका कामलाई पनि संगसंगै अगाडि बढाइएको हो ।

अस्पतालमा आमा सुरक्षा कार्यक्रम संचालन तथा सेवा प्रवाहका बारेमा आइतबार नगर प्रमुख शिवराज सुवेदीले जानकारी लिनुका साथै सरोकारवालासंग छलफल तथा अस्पतालमा संचालित कोभिड वार्डको निरीक्षण गरेका छन् ।

कोभिड महामारीको संक्रमण फेरि बढ्दै गएको र बालबालिकाका लागि खोपको पुरा प्रबन्ध नभइसकेको अवस्थामा अस्पतालको सेवाप्रवाह र कोभिड उपचार वार्डको अवस्थाका बारेमा प्रमुख सुवेदीले जानकारी लिएका हुन् ।

उक्त अस्पतालमा संक्रमित हुने शिशु र तिनका आमालाई लक्षित गरेर अलग्गै कोभिड उपचार वार्डको व्यवस्था गरिएको छ । सोही वार्डको अवस्था र सेवा प्रवाहका बारेमा प्रमुखले जानकारी लिनुका साथै सेवाप्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

उपमहानगरको ५० लाख आर्थिक सहयोगमा आम्दा अस्पतालमा निर्माण भएको नयाँ भवन, १० लाख बराबरको सहयोगमा बनेको अक्सिजन पाइपलाइन कक्षको निरीक्षण गर्दै निरन्तर निगरानी गरेर सेवाप्रवाह सञ्चालन गर्न आग्रह गरेका थिए । हाल अस्पताल परिसरमा उपमहानगरको करिब १२ लाखको आर्थिक सहयोगमा अस्पताल परिसरमा लकटायलसहितको सडक स्तरोन्नित भइरहेको छ ।

अस्पतालमा सञ्चालित कोभिड वार्डका लागि आवश्यक उपकरण खरिद गर्न उपमहानगरले थप १० लाख विनियोजन गरिसकेको प्रमुख सुवेदीले जानकारी दिए । उपमहानगरपालिकाको बजेट सहयोगमा आम्दामा भौतिक पूर्वाधार र उपकरण थप गर्ने काम समेत चलिरहेको छ ।
करिब १० हजार जापानी नागरिकहरुको सहयोगबाट १९९८ देखि यो अस्पताल सुरु भएको हो ।

बुटवल उपहानगरको करिब १० विगाहा क्षेत्रफलमा सञ्चालित र एक सय बेडको स्वीकृती पाएको अस्पतालमा बाल रोग बहिरंग तथा अन्तरंग सेवा, बाल शल्यक्रिया सेवा प्रवाह भइरहेको छ ।

यस्तै स्त्रीरोग शल्यक्रिया, प्रसुति सेवा, आकस्मिक सेवा, नवजात शिशुको लागि सघन उपचार सेवा, खोप सेवा, एम्बुलेन्स सेवा, कम्प्युटराइज एक्सरे तथा अल्ट्रासाउण्ड सेजा, प्रयोगशाला सेवा, सीएसी सर्भिस र आइसीयूलगायतको सेवा प्रवाह भइरहेको निमित्त मेसु हिम श्रेष्ठले जानकारी दिए ।

सो अवसरमा अस्पतालका निमित्त मेसु हिमकुमार श्रेष्ठ, कोभिड वार्डका संयोजक डा.अरुण पोखरेल, डा.सुन्दर न्यौपानेले सेवाप्रवाह र कतिपय समस्याका बारेमा पनि प्रमुख सुवेदीलाई जानकारी गराएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *