मिडिया अवार्डका नाममा कमाउधन्दा ! पत्रकार महासंघ नै संलग्न – Nepal Press

मिडिया अवार्डका नाममा कमाउधन्दा ! पत्रकार महासंघ नै संलग्न

धमाधम बहिष्कार गर्दै पत्रकार

काठमाडौं । नेपालमा पहिलोपटक आयोजना गर्न लागिएको ‘मिडिया अवार्ड’ विवादित बनेको छ । अवार्डका लागि मनोनयनमा परेका पत्रकारहरुले नै विधि र प्रक्रियामाथि विभिन्न प्रश्न उठाउँदै धमाधम बहिष्कार घोषणा गरिरहेका छन् ।

‘ड्रिम हाइ नेपाल’ नामक इभेन्ट म्यानेजमेन्ट कम्पनीले भाेलि साेल्टी हाेटल अवार्ड कार्यक्रम गर्न लागेको हो । यस अवार्डमा नेपालका पत्रकारहरुको छाता संगठन पत्रकार महासंघले पनि हातेमालाे गरेकाे छ। आयोजकका अनुसार महासंघले तीन लाख रुपैयाँ पाउने गरी  आयाेजकसँग ‘सहकार्य’ गरेकाे हो ।

कम्पनीले गत मंसिर १ गते सोल्टी होटलमा पत्रकार सम्मेलन आयोजना गर्दै अवार्डको घोषणा गरेको थियो । ऋषि धमलाको ‘विशेष उपस्थिति’मा आयोजना गरिएको उक्त पत्रकार सम्मेलनमा पत्रकार महासंघको पनि सहभागिता थियो । त्यसबेला सबैजसो सञ्चारमाध्यमले समाचार प्रकाशित गरेका थिए । तर, दुई दिनअघि मनोनयन सूची सार्वजनिक भएपछि चाहिँ विवाद उत्पन्न भएको हो ।

पत्रकारिता क्षेत्रमा अनगिन्ती सम्मान तथा पुरस्कारहरु दिने गरिएको भए पनि ‘अवार्ड’ भनेर दिन लागिएको यो सम्भवत पहिलोपटक हो । तर पत्रकारहरूले नै विश्वास नगर्दा यो अवार्ड सन्देहमा परेको छ । आयोजकसँग पैसा लिएर अवार्डमा सहकार्य गरेको पत्रकार महासंघभित्र समेत असन्तुष्टि देखिएको छ ।

अवार्ड वितरण कार्यक्रमका प्रमुख अतिथिलाई लिएरसमेत प्रश्न उठेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाललाई कार्यक्रमको प्रमुख अतिथिको रुपमा निम्त्याइएको छ । पोष्टरमा पनि उनको फोटो प्रयोग गरिएको छ । कुनै सरकारी ओहाेदामा रहेका एउटा दलका प्रमुखको हातबाट अवार्ड लिन कतिपय पत्रकार हिच्किचाइरहेका छन् ।

बहिष्कारको होड

अवार्डका लागि १९ विधामा ५-५ जनाको मनोनयन सूची बुधबार सार्वजनिक गरिएको थियो । मनोनयनमा परेका केही पत्रकारहरुले तत्काल सामाजिक सञ्जालमा असन्तुष्टि जनाउन सुरु गरेका थिए । उनीहरुले यस अवार्डको पारदर्शीतामा प्रश्न उठाएका छन् । आयोजक संस्था नै ‘संदिघ्ध’ रहेको, मनोनयनको स्पष्ट मापदण्ड नदेखिएको तथा आफूहरुको जानकारीबिना नै सूचीमा राखिएको बहिष्कारवादीको आरोप छ ।

कान्तिपुर दैनिक र नयाँ पत्रिका दैनिकका पत्रकारहरुले संगठितरुपमै अवार्ड बहिष्कार गरेका छन् । मनोनयनमा परेका कान्तिपुरका नौजना पत्रकारले हस्ताक्षरसहित विज्ञप्ति जारी गर्दै कुन-कुन समाचार, कस्तो निर्णायक समिति र के मापदण्डका आधारमा नोमिनेसन गरिएको हो भन्ने स्पष्ट नभएकाले आफूहरुको नाम हटाउन आग्रह गरेका छन् ।

‘यस्तो अपारदर्शी इभेन्टमा हाम्रो नाम समावेश भए सहमति नरहने स्पष्ट पार्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति जारी गर्नेमा मणि दाहाल, जनकराज सापकोटा, कृष्ण आचार्य, अर्जुन पौडेल, अविन श्रेष्ठ, प्रकाशचन्द्र तिमल्सिना, अंगद ढकाल, रिना मुक्तान र सुरज राजथला छन् ।

नयाँ पत्रिकाका चारजनाले पनि सामूहिक बहिष्कार गरेका छन् । जनार्दन बराल, शिल्पा कर्ण, यम वम र रवि मिश्रले विज्ञप्ति जारी गर्दै पत्रकार महासंघको नाम समेत जोडिएको अवार्ड आयोजना गर्दा छनोट मापदण्डबारे अग्रिम जानकारी नगराइएको गुनासो गरिएको छ ।

फुटकररुपमा अरु पनि केही पत्रकारले सामाजिक सञ्जालमार्फत अवार्डमा भाग नलिने बताएका छन् । यसरी बहिष्कार गर्नेमा कृष्ण ज्ञवाली, सागर बुढाथोकी, शोभा शर्मा, श्वेच्छा राउतलगायत छन् । बहिष्कार घोषणा गरेका सागर बुढाथोकीले पुरस्कार दिने संस्था विवादित देखिएको र विश्वसनीय पनि नलागेको बताए ।

ड्रिम हाइको पृष्ठभूमि

ड्रिम हाइ नेपालले फेसबुक पेजमा आफूलाई एडभरटाइजिङ/मार्केटिङ कम्पनीका रुपमा चिनाएको छ । यो कम्पनीले खासगरी मनोरञ्जनका क्षेत्रमा काम गर्दै आएको थियो । हालसम्म दुई सयभन्दा बढी मनोरञ्जनात्मक कार्यक्रमको व्यवस्थापन गरिसकेको कम्पनीको दाबी छ ।

तीन वर्षअघि स्थापना भएको यो कम्पनीले नेपथ्यको लाइभ कन्सर्ट सफल बनाएर आफूलाई चिनाएको थियो । त्यसपछि सुपरस्टार अनमोल केसीको कन्सर्ट तथा पछिल्लो समय नेपाली चलचित्र क्षेत्रको नेफ्टा अवार्डको म्यानेजमेन्ट यसले गर्यो । गएको दसै‌मा नेहा कक्कडलाई नेपाल ल्याएर कन्सर्ट आयोजना गर्ने तयारी पनि यस कम्पनीले गरेको थियो । तर कोरोनाका कारण भनेर कार्यक्रम स्थगित गरियो ।

कक्करको कन्सर्टलगत्तै एक अमेरिकी डिजेलाई ल्याएर डीजेइङ कन्सर्ट आयोजना गर्ने कम्पनीले घोषणा गरेको थियो । त्यो पनि कम्पनीले गर्न सकेन । यस्तै, कम्पनीले घोषणा गरेको लोकदोहोरी अवार्ड पनि हुन सकेको छैन ।

ड्रिम हाइले केही समयअघि ‘वृन्दावन’ नामक चलचित्रसमेत निर्माण गरेकाे थियाे । सो चलचित्र फ्लप भयो । अब आउँदो तीन वर्षभित्र अर्को चलचित्र निर्माण गर्ने कम्पनीका प्रबन्ध निर्देशक जिसीले बताएका छन् ।

को–को छन् मनोनयनमा ?

फिल्म र संगीत क्षेत्रमा वितरण गरिने अवार्डको सिको गरेर मिडिया अवार्ड आयोजना गरिएको हो । आयोजकले अवार्ड वितरणका लागि १९ विधामा ५–५ जनाका मनोनयन सूची बनाएको छ ।

कतिपयले यो सूचीमा पर्नेहरुलाई नै पुरस्कृतका रुपमा बुझेका छन् । तर, उनीहरु पुरस्कारका दाबेदार मात्र हुन् । प्रत्येक विधामा परेका ५ जनामध्ये १ जनाले अवार्ड पाउने छन् । बाँकी ४ जना खाली हात फर्किनुपर्छ । बहिष्कारको एउटा कारण मनोनयनमा परे पनि पुरस्कार पाउने अनिश्चितता पनि हो ।

अवार्ड विजेताहरुले नगद पुरस्कार पाउँदैनन् । लाइफ टाइम अचिभमेन्ट विधामा भने ५१ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कार राखिएको छ । यो अवार्ड नीर शाह, किशोर नेपाल र भैरव रिसालले पाउँदैछन् ।

मनोनयनमा विशुद्ध पत्रकार मात्र छैनन् । केही कलाकार, समाचारवाचकदेखि युट्यूबरसम्म समेटिएका छन् । हाइ प्रोफाइलका व्यक्तिहरुले अहिलेसम्म अवार्डबारे केही बोलेका छैनन् ।

हेर्नुस् मनोनयनमा परेकाहरूको सूची : 

प्रायोजकको ताँती

नेपाली सञ्चार क्षेत्रको प्रवर्द्धनको उद्देश्य भनिए आयोजकको मुख्य उद्देश्य आर्थिक मुनाफा हो भन्नेमा दुईमत छैन । आयोजक संस्था ड्रिम हाइ नेपालले अवार्ड कार्यक्रमको व्यवसाय गर्दै आएको छ ।

कम्पनीले यसै वर्ष नेपाली चलचित्रको चर्चित नेफ्टा अवार्ड आयोजना गरेको थियो । उक्त अवार्डको खास आयोजक चलचित्र प्राविधिक संघ भए पनि संघले निश्चित रकम लिएर कम्पनीलाई अधिकार प्रत्यायोजन गरेको थियो । कम्पनीले स्पोन्सरहरु जुटाएर अवार्ड आयोजना गरेको हो । तर, नेफ्टामा ड्रिम हाई नेपाल घाटामा गयो ।

मिडिया अवार्डमा भने कम्पनीले टन्नै प्रायोजकहरु भेला पारेको छ । अवार्डको पोष्टरमा नै दुई दर्जनजति प्रायोजकहरुको लोगो देखिन्छ । अवार्ड प्रायोजकमा सरकारीदेखि निजी कम्पनी छन् । अवार्डको मुख्य प्रायोजकमा लाइफ इन्स्योरेन्स कर्पाेरेसन नेपाल लिमिटेड र सहप्रायोजकमा दुबइ बेस्ड ब्लु चिप इन्भेस्टमेन्ट कम्पनी रहेको छ । नेपाल टेलिकम, नेपाल वायूसेवा निगमजस्ता सरकारी कम्पनीहरु प्रायोजकको सूचीमा छन् ।

आयोजकले अवार्ड कार्यक्रमा ५० देखि ५५ लाख रूपैयाँ खर्च हुने अनुमान गरेको छ । अहिलेसम्म खर्च र आम्दानी बराबर रहेको तर विवादका कारण प्रायोजकहरू ब्याक हुनसक्ने चिन्ता रहेको ड्रिम हाई नेपालका प्रबन्ध निर्देशक कमल जीसीले बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले केही संस्थाहरुलाई अवार्डमा सहयोग गर्न फोन गरेर कन्भिन्स गर्ने प्रयास गरिरहेको बुझिएको छ ।

कसरी गरियो मनोनयन ?

आयोजक संस्थाले जनाएअनुसार नाम छनोटका लागि एउटा प्रि सेलेक्सन कमिटी र अर्को मुख्य जुरी बनाइएको थियो । पत्रकारितामा सक्रिय सञ्चारकर्मी आवद्ध ९ सदस्यीय प्रि सेलेक्सन कमिटीले झण्डै एक महिना लगाएर अनुसन्धान गरी तयार गरेको नोमिनेसनलाई मुख्य जुरीले अन्तिम रुप दिएको हाइ ड्रिम नेपालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

केही पत्रकारलाई मनोनयनबारे जानकारी गराउन नसक्नुमा आयोजकले कमजोरी स्वीकार गरिएको छ । विज्ञप्तिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई नै प्रमुख अतिथि बनाउन प्रयास गरिएको भए पनि भारत भ्रमणका कारण नभ्याउने जवाफ पाएपछि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथि बनाउने निर्णय गरिएको प्रष्ट पारिएको छ ।

महासंघ अध्यक्ष भन्छन्ः गलत केही छैन

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले मिडिया अवार्डमा कुनै समस्या नरहेको बताएका छन् । पोख्रेलले भने, ‘अवार्ड लिन्न भन्न पनि पाइन्छ । राष्ट्रपति र प्रधानमन्त्रीले दिएको अवार्ड त म लिन्न भन्न मिल्छ । यो व्यक्तिगत स्वतन्त्रता हो ।’

उत्कृष्ट काम गरेका पत्रकारहरुलाई अवार्ड दिनु नराम्रो कुरा नभएको उनले बताए । ‘राम्रो काम गर्ने पत्रकारलाई पनि सम्मान गरौं भनेर अवार्ड आयोजना गरिएको रहेछ । पत्रकारले आफ्नो सीमाभित्र बसेर अवार्ड लिन्छन् भनेर आयोजकलाई जानकारी गराएका छौं,’ उनले नेपाल प्रेससँग भने ।

महासंघका महाचिव रोशन पुरीले भने यस अवार्डका विषयमा व्यक्तिगत असहमति जनाएका छन् ।

नेपाल प्रेससँग उनले भने, ‘म एक महिनादेखि बिरामी भएर घरमै आराम गरिरहेको छु । तर, योबीचमा मेरो हस्ताक्षरको दुरुपयोग गरेर विज्ञप्ति जारी गरिएको रहेछ । त्यसमा मेरो सहमति छैन ।’

दुई–चार पैसा हुन्छ कि भनेको, विवादित बनाइयोः कमल जिसी

अवार्डको विवाद र पत्रकारहरुले लगाएका आरोपबारे आयोजक संस्थाका प्रमुख कमल जिसी नेपाल प्रेससँग यसो भन्छन्ः

हामीले खासमा सञ्चारक्षेत्रमा दुख गरिराख्नु भएका मिडियाकर्मीलको काम, कार्यक्षेत्र, नाम र पब्लिसिटीलाई हेरेर अवार्ड दिन खोजेको हो । तर उहाँहरुबाटै ‘कन्ट्रोभर्सी’ कुरा पनि आइराखेको छ ।

अवार्ड लिन्न भन्न पाउने उहाँहरुको अधिकारको कुरा हो । कस्ता–कस्ता अवार्डहरु त यहाँ अस्वीकार हुन्छन् । हामी त एउटा प्राइभेट कम्पनी हौं । धेरै कम्पनीहरुलाई हात जोडेर, मागेर अवार्ड गर्न लागेका छौं । दुई चार पैसा हामीलाई पनि कमाइ होला, पत्रकारिता क्षेत्रमा दुख गरेकोहरुले पनि केही राहत पाउलान् भनेर हो ।

त्यत्रो सोल्टी होटलमा भव्य तरिकाले कार्यक्रम आयोजना गर्दैछौं । पत्रकारिता क्षेत्रमा मित्रकारिता पनि बढाउँ भनेर गर्न खोजेको तर यसलाई फरक रुपमा ल्याइयो । जुरीका ३ जनाको मुख्य र ९ जनाको कोर टिमले एक महिना लगाएर सूची बनाउनुभएको थियो । तर त्यो सदर भएन, बदर भयो । सबैजनाले त बदर गर्नुभएको छैन, दुई–चार जनाले हो । त्यसमा हाम्रो खासै आपत्ति छैन ।

यो देशको संविधानमा अवार्ड–सम्मान गर्न पाइँदैन भनेर त लेखेको छैन । पहिलोचोटि सञ्चारजगतमा काम गर्न खोजेका छौं, तर धेरैले यसलाई कन्ट्रोभर्सी बनाउनुभएको छ । नोमिनेसनमा परेकाहरुले घरी के स्टाटस लेख्नुभएको छ, घरी के । मेरो नाम नसोधी किन हाल्नुभयो ? भनेर प्रश्न गर्नुभएको छ । ए बाबा, संसारको कुनै पनि अवार्डमा सोधेर मनोनयन गरिँदैन । यस्तो सामान्य कुरा हाम्रो सञ्चार जगतले बुझनुभएन वा हामीले बुझाउन सकिएन । जे होस् हाम्रो नि कमजोरी होलान् । आयोजकको नि कमजोरी हुन्छन् ।

हामीले मनोनयन गर्ने आधार भनेको त हाम्रो जुरी टिमलाई उहाँहरु बेस्ट लाग्यो । आधार त व्यक्तिको काम गराइ, लेखाइ, इत्यादिलाई बनाउनुभएको होला । धेरै कुरा त कार्यक्रममा जुरीको मान्छे बोल्नुहोला । जो–जोले नाम झिक्नुस् भन्नुभएको छ, उहाँहरुको झिक्छौं । टिमको निर्णयअनुसार अगाडि बढ्छौं । जोजोले स्वीकार गर्नुभएको छ उहाँहरुलाई बोलाउँदै अवार्ड दिन्छौं ।

मैले २ सयभन्दा बढी कार्यक्रम गरिसकेँ नेपालमा । मैले अवार्डका लागि फर्मसमेत खुलाइनँ । यहाँ फर्म नभरी अवार्ड दिइँदैन । मिडिया सेक्टरलाई दिने अवार्ड भनेको अलिक भिन्दै हो ।

अहिले त मेरो स्पोन्सरलाई फोन गरेर भड्काएका कुराहरु पनि आइराखेका छन् । मसँग प्रमाण छ । हामीले नेपाल पत्रकार महासंघ सहकार्य गरेका हौं । महासंघलाई तीन लाख दिने सम्झौता छ । १ लाख रुपैयाँ उहाँहरुको खातामा हालिसकेका छौं । दुई लाख कार्यक्रम सकेको एक हप्ताभित्र दिने सम्झौतापत्रमा हस्ताक्षर गरेको छु । म कानूनीरुपमा बलियो छु । भोलि अवार्ड हुन्छ, भव्य हुन्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर