योमरी पुन्हीको अवसरमा सांस्कृतिक र्‍याली (तस्बिरहरू) – Nepal Press

योमरी पुन्हीको अवसरमा सांस्कृतिक र्‍याली (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ योमरी पुन्ही पर्व मनाइरहेका छन् ।

धार्मिक विश्वासअनुसार आजबाट दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा लिइन्छ । धान्य पूर्णिमा अर्थात् योमरी पुन्हीको अवसरमा दान गरे फलिफाप हुने विश्वासअनुसार दान दिने प्रचलन छ ।

मल्लकालदेखि यो पर्वमा आजका दिन कुनै पनि चीज दान गर्दा पूण्य प्राप्त हुने विश्वासले योमरी लिने र दिने गरिएको संस्कृतिविद् श्रीकुमार श्रेष्ठले जानकारी दिनुभयो । आज बिहानैदेखि विभिन्न शिवालयमा दर्शन गर्ने परम्परा रहेको छ । शिवालयमा योमरी चढाएर पूजा गर्नेको भीड लागेको छ ।

तिहारमा द्यौसी/भैलो खेलेझैं धान्य पूर्णिमाका दिन साँझ टोलटोलका घरमा गएर युवायुवतीले गीत गाउँदै योमरी तथा धान, चामल, दामलगायत माग्ने त्यःछिं त्यः बकछिं त्यः खेल्ने मल्लकालीन प्रचलन लोपोन्मुख अवस्थामा पुगेको छ ।

अर्थात् पैसा हुनेले पैसा दिनू, धान हुनेले धान दिनू, चामल हुनेले चामल दिनू, योमरी हुनेले योमरी दिनू, केही नहुनेले संस्कृति संरक्षणका लागि मन दिनू भन्ने भावनाका साथ लोकलयमा खेल्ने परम्परागत योमरी माग्ने प्रचलनस्वरूप उपत्यकाका विभिन्न ठाउँमा परम्परागत भेषभुषामा सजिएका नेवार समुदायका तस्बिरहरू कैद गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर