सुरक्षा गार्डमाथि जातीय विभेद गरेको आरोपमा सुर्खेत अस्पतालका व्यवस्थापक शाही पक्राउ – Nepal Press

सुरक्षा गार्डमाथि जातीय विभेद गरेको आरोपमा सुर्खेत अस्पतालका व्यवस्थापक शाही पक्राउ

काठमाडौं । कार्यरत सुरक्षा गार्डमाथि जातीय छुवाछूत तथा भेदभाव गरेको आरोपमा सुर्खेत अस्पतालका व्यवस्थापक भक्तबहादुर शाही पक्राउ परेका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत अस्पतालमा सुरक्षा गार्डका रूपमा कार्यरत टीकाराम विश्वकर्मामाथि जातीय छुवाछुत तथा भेदभाव गरेको आरोपमा अस्पतालका व्यवस्थापक शाही पक्राउ परेका हुन् ।

आफूमाथि अस्पतालका प्रबन्धकबाट जातीय भेदभाव तथा छुवाछुत गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा टीकारामले जाहेरी दिएका थिए ।

जाहेरीपछि थप अनुसन्धानका लागि शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) वीरेन्द्र विश्वकर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

गत बिहीबार उनलाई पक्राउपछि स्वास्थ्य परीक्षण गर्ने क्रममा बेहोस भएर ढलेपछि अहिले प्रदेश अस्पतालमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

उनीमाथि विभेदजन्य गाली गलौच गरेको आरोप छ ।

जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ मा नै कसुरको प्रकृतिको आधारमा न्यूनतम एक महिनादेखि एक वर्षसम्म कैद र पाँच सयदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ ।
अधिकतम ३ महिनादेखि ३ वर्षसम्म कैद वा ५० हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
कसुर गर्न मद्दत गर्ने दुरुत्साहन गर्ने, उक्साउने वा त्यस्तो कार्य गर्न उद्योग गर्ने व्यक्तिलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने व्यवस्था ऐनमा छ ।
पटके कसुरदारलाई पटकैपिच्छे निर्धारित सजायको दोब्बर सजाय हुने र सार्वजनिक पद धारण गरेको व्यक्तिले गरेमा ५० प्रतिशत थप सजाय हुने गरी थप आपराधिक दायित्वको प्रावधान रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर